आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’ « Khabarhub

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको विषयमा प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले आईसीयू जटिल अवस्थाका बिरामीको उपचारका लागि छुट्याइएको अत्यन्तै संवेदनशील ठाउँ भएकाले त्यहाँ क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकार पुग्नु गम्भीर विषय भएको बताइन्।

भोटेकोशी बाढीपछि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका फोरम्यान सन्तोष साह र सुपरभाइजर कवीर महर्जनलाई गत भदौ १९ गते उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको थियो।

उनीहरू अस्पतालको आईसीयूमा उपचाररत रहेकै अवस्थामा युट्युबर सुरजसिंह ठकुरीले अन्तर्वार्ता लिएको भिडियो दुई दिनअघि युट्युबमा सार्वजनिक भएको थियो। उक्त अन्तर्वार्ता जंगी अड्डा भद्रकालीको अनुमतिमा लिइएको बताइएको छ।

यही विषयलाई लिएर सांसद बास्कोटाले आईसीयूभित्र अन्तर्वार्ता लिनु कति जायज हो भन्ने प्रश्न उठाइन्।

‘देशमा बाढी आएको अवस्थामा आममानिसको स्वास्थ्य स्थिति के छ भन्ने कुरामा हामीले चासो राख्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘कुनै पनि अस्पतालको आईसीयू जटिल अवस्थाका बिरामीका लागि उपचार गर्न छुट्याइएको संवेदनशील थलो हो।’

उनले आईसीयूमा बिरामीका आफन्तलाई समेत निश्चित समय र प्रोटोकलअनुसार मात्रै प्रवेश दिइने उल्लेख गरिन्। चिकित्सकको अनुमतिबिना आईसीयूमा बिरामीका आफन्तसमेत सहजै प्रवेश गर्न नसक्ने अवस्थामा अन्तर्वार्ताका लागि क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकार पुगेको विषय गम्भीर रहेको उनको भनाइ थियो।

‘आईसीयूमा बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ। आफन्तलाई निश्चित प्रोटोकल छुट्याएर मात्रै चिकित्सकको अनुमतिमा भेट्न दिइन्छ,’ बास्कोटाले भनिन्।

उनले सैनिक अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिइएको घटनाले मानवीय संवेदनशीलताको प्रश्न उठाएको बताइन्।

‘तर सेनाको अस्पतालमा आईसीयूभित्रको अन्तर्वार्ताले हाम्रो मानवीय संवेदनशीलतालाई छताछुल्ल बनाइदिएको छ,’ उनले भनिन्।

बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिनु कति उचित हो भन्ने प्रश्न गर्दै त्यस क्रममा अन्य बिरामीसमेत प्रभावित भएको हुनसक्ने बताइन्।

‘आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिनु कति जायज हो ? आईसीयूमा अन्तर्वार्ता लिँदा अरू बिरामी मान्छे त्यहाँ थिए कि थिएनन् ? त्यसले उनीहरूको स्वास्थ्यमा कति जोखिम पार्‍यो ?’ उनले प्रश्न गरिन्।

उनले अन्तर्वार्ताका क्रममा आईसीयूमा क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकारसमेत पुगेको विषयलाई विशेष रूपमा उठाइन्। उनका अनुसार कुनै पनि सामग्री तयार गर्ने, अन्तर्वार्ता लिने वा भ्युज बढाउने उद्देश्यभन्दा बिरामीको स्वास्थ्य र जीवन महत्वपूर्ण हुनुपर्छ।

‘हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट, अन्तर्वार्ता र भ्युज हुँदैन,’ बास्कोटाले भनिन्।

उनले मानव जीवनलाई टीआरपी वा भ्युजसँग तुलना गर्न नहुने बताउँदै आईसीयूमा अन्तर्वार्ता लिनु गलत भएको निष्कर्ष सुनाइन्।

‘मानवको जीवनलाई कुनै पनि अवस्थामा टीआरपीमा तुलना गर्न मिल्दैन,’ उनले भनिन्, ‘आईसीयूमा अन्तर्वार्ता बिलकुल गलत हो। यसलाई नियमन गर्न हामीले कानुन ल्याउनै पर्छ।’

भोटेकोशी बाढीपछि त्रिशूली थ्री ‘ए’को सुरुङमा १० दिनसम्म थुनिएर उद्धार गरिएका साह र महर्जनको उद्धारपछि भएको आईसीयू अन्तर्वार्ता सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत यसको औचित्य र संवेदनशीलताबारे प्रश्न उठ्दै आएको छ। सांसद बास्कोटाले भने यो विषयलाई कानुनी नियमनको आवश्यकतासँग जोडेर संसद्मा उठाएकी हुन्।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १ : ४४ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर