नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ ।
लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रुपमा काम अघि बढाउन लागिएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं ३ की सांसद सोविता गौतमको पहलमा उक्त काम अघि बढेको हो ।सरोकारवालासँगको छलफलमा नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाउने र आवश्यक निर्माण सामग्रीको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइएको छ ।
सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलले छलफलमा सो कुरा प्रकाश पार्नुभएको हो । मन्त्री गौतमको उपस्थितिमा छलफलको आयोजना गरिएको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी, सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका कर्मचारी, सरोकारवाला, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिसहित दलका नेता तथा कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति थियो ।
नारायणी नदीको कटान नियन्त्रण, तटबन्ध संरक्षण तथा दीर्घकालीन समाधानका विषयमा छलफल भएको थियो ।
छलफलमा भरतपुर महानगरपालिकाका विभिन्न तटीय क्षेत्रमा नारायणी नदीले गर्दै आएको कटान नियन्त्रणका लागि अल्पकालीन रूपमा काम गर्ने नपर्ने गरी दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी नियन्त्रणका लागि बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउनुपर्ने बताए ।
दीर्घकालीन समाधानका लागि वार्षिक भन्दा बहुवर्षीय योजना बनाएर आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका प्रमुख डा नारायण सुवेदीले नदी नियन्त्रणका लागि कङ्क्रिटको प्रयोगभन्दा बोल्डर (ठूला ढुङ्गा) को प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।
तटबन्ध निर्माणका लागि बजेट छुट्याइए पनि आवश्यक ठूला ढुङ्गाको उपलब्धता र स्रोत सुनिश्चितता मुख्य समस्याका रूपमा रहेको छ । रासस

















प्रतिक्रिया