काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात र खानपानसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत बसमा क्षमताभन्दा बढी यात्रु राख्ने र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपर्ने अवस्थाप्रति प्रश्न उठाएकी हुन् ।
‘यस्ता समस्याको सुधारका लागि ३०–३५ वर्ष पक्कै लाग्दैनथ्यो होला । सायद ६ महिनामै पनि केही न केही गर्न सकिने काम थियो यो । तर भएन,’ उनले लेखेकी छन् ।
नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्ने अपेक्षासहित जनताले मत दिएको उल्लेख गर्दै बमले सरकारको कार्यक्षमतामाथि पनि प्रश्न उठाएकी छन् ।
‘नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर मत दिएका हुन् जनताले । अब तपाईंहरूको सुधार गर्न सक्ने ल्याकत पनि नापिरहेका छन् है,’ उनले लेखेकी छन् ।
सरकारले नागरिकका आधारभूत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले नेपाली जनता फेसबुक र टिकटकमा मात्र सीमित नभई विषयवस्तुबारे सोच्ने र मूल्याङ्कन गर्ने पनि रहेको टिप्पणी गरेकी छन् ।
‘यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्,’ बमले लेखेकी छन् ।

















प्रतिक्रिया