काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना खुवाउने र अत्यधिक मूल्य असुल्ने गरिएको जनगुनासो बढेपछि गरिएको संयुक्त अनुगमनका क्रममा चितवन र मुग्लिन क्षेत्रका १७ वटा होटेल तथा रेस्टुरेन्टहरूको स्तरीकरण गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त टोलीले रामनगर, जुगेडी, दासढुङ्गा र मुग्लिन क्षेत्रका होटेलहरूमा स्थलगत निरीक्षण गरी स्वच्छता र गुणस्तरको आधारमा प्रतीक चिह्न (लोगो) र स्टिकर वितरण गरेको हो ।
सार्वजनिक सवारी साधनका यात्रुहरूलाई लक्षित गरी सञ्चालित राजमार्गका होटेलहरूमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र उच्च मूल्य लिने गरिएको विषयमा तीव्र असन्तोष व्यक्त भएपछि पूर्वाधार विकास मन्त्रालयमा भएको बैठक र यातायात व्यवस्था विभागको असोज २७ गतेको सूचनाबमोजिम यो कदम चालिएको हो ।
सोही निर्णय कार्यान्वयन गर्दै अनुगमन टोलीले असोज २३ र २८ गते विभिन्न होटेल तथा रेस्टुरेन्टहरूको स्वच्छता र गुणस्तर मूल्यांकन गरेको थियो ।
निरीक्षण गरिएका कुल १७ वटा होटेल तथा रेस्टुरेन्टमध्ये इच्छाकामना-५ मुग्लिनमा रहेको ‘दाल भात पावर’ ले मात्र सबैभन्दा उच्च गुणस्तर कायम गर्दै अति ‘उत्तम’ अर्थात् तीन तारासहितको हरियो स्टिकर (ए श्रेणी) प्राप्त गरेको छ । त्यसैगरी, भरतपुर-१ रामनगरमा रहेको होटेल राइस प्यालेस थकाली भान्सा घर तथा लजु ले दुई तारासहितको हरियो स्टिकर पाएर ‘उत्तम’ (बी श्रेणी) स्थान हासिल गरेको छ ।
अनुगमनका क्रममा पाँचवटा होटेल तथा रेस्टुरेन्टहरूले सन्तोषजनक अर्थात् एक तारासहितको हरियो स्टिकर (सी श्रेणी) प्राप्त गरेका छन् । जसमा रामनगरस्थित थकाली किचन एण्ड तन्दुरी खाजा घर र थकाली भान्सा तथा खाजा घर, जुगेडीस्थित श्रीनगर होटल तथा रेस्टुरेन्ट र पोखरेली थकाली भान्सा घर एण्ड मनकामना लज तथा दासढुङ्गास्थित द फुड स्टेशन रहेका छन् ।
यसैगरी, अनुगमन गरिएकामध्ये बाँकी १० वटा होटेल तथा रेस्टुरेन्टहरू सामान्य अर्थात् पहेंलो स्टिकर (डी श्रेणी) मा वर्गीकरण भएका छन् । पहेंलो स्टिकर पाउनेहरूमा रामनगर क्षेत्रका थकाली खाना तथा खाजा घर, सिद्धबाबा होटल, होटेल सोल्टी, न्यू शिवशक्ति होटल, न्यू सुष्मा होटल र न्यू पूजा होटल तथा रेस्टुरेन्ट रहेका छन् ।
यसैगरी जुगेडीको योज्न थकाली होटल, दासढुङ्गाका मिलन रेस्टुरेन्ट एण्ड बार र इन्द्रधणी चुलो तथा मुग्लिनको होटल वैष्णव पनि सामान्य श्रेणीमा परेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई होटेलमा प्रवेश गर्नुअघि टाँसिएका यस्ता स्टिकर र लोगो हेरेर मात्र गुणस्तरीय सेवा लिन अनुरोध गरेको छ ।

















प्रतिक्रिया