काठमाडौँ– एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका र पार्टीले औपचारिक कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्।
आयोगले सोधपुछका क्रममा माग गरेबमोजिम सुनारले आफ्नो लिखित प्रतिक्रिया पेस गरेको आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए। यद्यपि, सुनारले पेस गरेको जवाफमा के-कस्ता विषय उल्लेख छन् भन्नेबारे आयोगले खुलाउन चाहेको छैन।
आयोगले सोही विषयमा थप अध्ययन तथा छानबिन गर्न उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ। समितिले रायसहितको प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको छ।
सुनारले पठाएको जवाफबाट चित्त नबुझे वा थप प्रमाण आवश्यक देखिए अनुसन्धानको अर्को चरण सुरु हुने भट्टराईले सुनाए ।
छानबिन समितिको पहिलो बैठकले सार्वजनिक भएका अडियो तथा भिडियो सामग्री संकलन गरिसकेको छ। समितिले अडियो सम्पादन हुनुअघिको प्रति उपलब्ध गराइदिन सम्बन्धित सञ्चारमाध्यमहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ।
प्राविधिक विषयहरूमा विशेषज्ञको सहयोग लिने र राज्यका निकायले गर्ने अनुसन्धानलाई कुनै बाधा नपुग्ने गरी काम अघि बढाइने समितिले जनाएको छ।

















प्रतिक्रिया