काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर नेता हुन्। यही एजेण्डाका कारण अध्यक्ष ओलीबाट अप्ठ्यारोमा परेका उनले पछिल्लो केन्द्रीय कमिटी बैठकमा पनि ओलीले विकल्प दिनुपर्ने माग उठाएका थिए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको दोस्रो वरियतामा आएसँगै केही शान्त देखिएका उनी स्थानीय तहको निर्वाचनसम्म यी एजेण्डा केही खुकुलो हुने बताउँछन्।
केन्द्रमा नेतृत्वप्रति वितृष्णा रहे पनि स्थानीय जनप्रतिनिधिले राम्रो काम गरेका कारण एमालेले सम्मानजनक नतिजा ल्याउने उनको दाबी छ। भण्डारीको पार्टी प्रवेश र वरियताप्रति खुसी व्यक्त गर्दै उनी आगामी महाधिवेशनमा ओलीको विकल्प बन्ने सम्भावना सबै ढङ्गबाट खुला रहेको बताउँछन् भने कम्युनिस्ट एकताका लागि एमालेले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिन्छन् । यसै सन्दर्भमा खबरहबले नेकपा एमालेका नेता ठाकुर गैरेसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-
नेकपा एमाले अब कसरी अगाडि बढ्नुपर्छ ?
स्थानीय सरकारको निर्वाचन आउँदैछ । यो जनतासँग सबैभन्दा नजिकको सरकार हो । स्थानीय सरकार र जनताको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । सुखमा दुःखमा जनताको नजिक बसेर काम गर्ने सरकार स्थानीय भएको हुनाले त्यहाँ चाहिँ ठिक विचार ठिक सिद्धान्त र जनताको सेवामा समर्पित भएको पार्टीले जित्यो भने मात्रै त्यसको कार्यक्रम नीति राम्रो हुन्छ । अहिलेसम्म एमालेले स्थानीय सरकारमा रहेर जति पनि काम गरेको छ, ती प्रशंसानीय छन् । विकास निर्माणदेखि जनतासँग जोडिने कुराहरुमा एमाले धेरै नजिक छ । अहिले म गाउँमा डुलेर संवाद गर्दा र भेटघाट गर्दा धेरै गतिविधिहरुसँग एमाले नजिक भएको देख्छु । साँच्चै भन्दा एमालेमा स्थानीय सरकारमा समस्या छैन ।
तर माथिल्लो नेतृत्वका कारण तल्लो तहमा एमालेको संगठन बिग्रिएको छ भन्ने पनि कुरा छ नि हैन ?
अवश्य पनि, फागुन २१ को निर्वाचनले एउटा एमालेप्रतिको वितृष्णा भने देखाएको छ । तर स्थानीय तहको निर्वाचनमा त्यो अवस्था हुँदैन । फागुन २१ को निर्वाचनमा सोच्दै नसोचेको नतिजा आएकाले एमालेलाई ठूलो धक्का महसुस भएको छ । एमाले पङ्क्तिले त्यो अनुभूति गरेको यथार्थ हो । तर, अर्को कुरा के हो भने एउटा चुनावको जित हार समग्र मूल्याङ्कन पनि होइन । पार्टीले विगतको समीक्षा गरेर र निस्केका निष्कर्षलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छ । आगामी दिनमा देश र जनताको पक्षमा अझ दृढताका साथ उभिनेछौं भनेर कमिन्टमेन्ट गर्नुपर्छ । अब जनताले भोगेका समस्याहरूको लिड एमालेले गर्नुपर्छ । एमालेले देशको जनजीविकाको र जनताको एजेन्डा बोकेर अगाडि जान सक्नुपर्छ ।
दोस्रो कुरा चाहिँ दुई तिहाईको सरकार बनेपछि अराजकता बढेको छ । एक प्रकारले सुशासन र सेवामाथि नै प्रश्न उठेको छ । भोलि गएर राष्ट्रियता र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था देखिन्छ । यी अवस्थाका कारणले पनि फेरि चाहिँ एमालेले विश्वास पाउँछ । लोकतन्त्र र संविधानमाथि देखापरेका चुनौतीलाई बोकेर हिँड्ने पार्टी नेकपा एमाले नै हो भन्ने कुरा स्थानीय तहमा गहिरो रुपमा छ । यी एजेन्डा सहित हामी प्रस्तुत हुँदा जनता उत्साहित हुने अवस्था छ ।
यहाँले भनेका सबै कुराहरू तल्लो तहसम्म पुर्याउनका लागि अध्यक्ष केपी शर्मा ओलीले के गर्नुपर्छ ?
केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठकमा जे कुराहरू व्यक्त गर्नुभयो त्यही हो । देशव्यापी समीक्षाको क्रममा तल जनताको चुलो चौको र जनताको खेत खल्यानमा जनतासँग सँगै बसेर काम गरिरहेका कार्यकर्ता पंक्तिहरूले एउटा कमी महसुस गर्नुभएको छ । त्यो कमी कमजोरीलाई हामी पूरा गर्छौं भन्नुपर्छ । ती प्रश्नहरूको सही समाधान केन्द्रीय कमिटीबाट र केन्द्रीय नेतृत्वबाट दिएर जान सक्नुपर्छ । आउने दिनहरूमा त्यो व्यवहार र निर्णयहरूमा प्रकट हुनुपर्छ।
अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा अध्यक्षपछिको दोस्रो वरियता दिइएको छ, उहाँको आगमनलाई कसरी हेर्ने ?
एउटा कुरा उहाँको सदस्यताको प्रश्नमा र उहाँ सक्रिय राजनीति आउने विषयमा जुन दुई वर्षसम्म झुल्याउने काम भयो, त्यसप्रति धेरै जनाको असन्तुष्टि थियो । विगतमा अध्यक्षका तर्फबाट जे भयो, त्यो गल्तीको रियलाइज उहाँले पनि गर्नुभएको छ । त्यसले अध्यक्षलाई पनि राम्रो गरेन र पार्टीलाई पनि राम्रो गरेन । अहिले चाहिँ केन्द्रीय कमिटीले जे निर्णय गरेको छ त्यो निर्णयलाई हामी सबैले सम्मान गर्नुपर्छ ।

नेपाली जनताले उहाँको पार्टीमा आगमनलाई कुन हिसाबले बुझ्ने ?
कसरी बुझ्ने भन्ने विषय त एउटा सन्दर्भ भयो । उहाँले आउने दिनमा देश र जनताको पक्षमा र पार्टीको निर्माण तहमा खेल्ने भूमिका ,नेतृत्व क्रियाशीलताले नै यो कुरा पुष्टि गर्छ । उहाँ आफैँले म केका लागि फर्किएको भन्ने विषय चाहिँ पुष्टि गर्नु जरुरी छ । उहाँले पार्टीको आन्तरिक जीवनलाई अरु बढी एकताबद्ध गर्न तल्लो तहका भावनाहरू समेटेर नेतृत्वलाई त्यही अनुसार मार्ग निर्देशन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ । नेतृत्वले गरेका गल्तीहरुलाई सच्याउनका लागि आग्रह गर्दै सही बाटो देखाउनुपर्छ । देशका कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गरेर अगाडि बढ्न समाजिक न्याय र सुशासनको पक्षमा वकालत गर्नु नै उहाँको मुख्य काम हो । यद्यपि एउटा व्यक्तिले गर्ने छुट्टै कुरा केही छैन, सिंगो केन्द्रीय कमिटीले त्यस उचाइबाट अगाडि बढ्नुपर्छ । र त्यो अगाडि बढ्ने कुरामा उहाँले सकारात्मक भूमिका खेल्नुहुन्छ भन्ने लाग्छ ।
आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प विद्या भण्डारी बन्न सक्नुहोला ?
अहिले चाहिँ महाधिवेशनको सन्दर्भ हामीसँग नभएकाले यसै भन्न सकिएन । तर उहाँ बन्नसक्नु हुन्न भन्ने अवस्था पनि छैन । पक्कै पनि महाधिवेशन प्रतिनिधिहरूले विश्वास गरेको खण्डमा र उहाँले पनि इच्छा देखाएको अवस्थामा त्यो नहुँदैन भन्न सकिँदैन । पूर्वराष्ट्रपतिको भूमिका र पार्टीप्रतिको लगावले नै उहाँको भविष्य निर्धारण गर्छ ।
तपाईंहरु एमालेमा पुस्तान्तरण रूपान्तरण पुनर्गठनको मुद्दा उठाइरहनु भएको थियो । अहिले फेरि चुपचाप हुनुहुन्छ नि ?
एमालेमा शुद्धीकरण, सुदृढीकरण, पुस्तान्तरण र रूपान्तरणको बहस सेलाएको छैन । यो निरन्तर चलिरहने प्रक्रिया हो । अहिले हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौँ । त्यसकारण पार्टी एकताबद्ध बनाउँदै सम्पूर्ण तागत त्यही निर्वाचन तर्फ केन्द्रित गरेका हौँ ।
एमालेमा विशेष र अर्ली महाधिवेशनको सम्भावना चाहिँ टर्यो होइन ?
अहिले हामी केन्द्रीय कमिटीको बैठकबाट स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने भनेका छौँ । त्यसको लागि तत्काल पालिका वडा अधिवेशनहरू गर्ने र राष्ट्रिय भेला गर्ने तयारी छ । राष्ट्रिय भेलामा पनि यी मुद्दाहरू उठ्न सक्छ्न । राष्ट्रिय भेलामा आगामी दिनमा पार्टी थप सशक्त हुनका लागि के गर्नुपर्छ भन्ने विषय बिल्कुल उठ्छ । त्यो राष्ट्रिय भेलापछि आगामी दिनमा एमालेलाई अझ बलियो बनाउनका लागि के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्छौँ ।

त्यसपछाडि स्थानीय तहको निर्वाचन लगायतका कुराहरु भइसकेपछि जनताले यो नेतृत्वप्रति कस्तो धारणा देलान् अथवा मत देलान् भन्ने विषय पनि छर्लङ्ग हुन्छ । एमाले बलियो बनाउन यसका कार्यशैली व्यवहार आन्तरिक जीवनको व्यवस्था नेपालमा कम्युनिस्ट पार्टीका नाममा भएका सबै बुकुराहरू बन्द गरेर एउटै कम्युनिस्ट पार्टी बनाउने कुरामा पनि अगाडि बढ्छौँ ।
स्थानीय तहको निर्वाचनमा एमालेको पोजिसन कस्तो आउला ?
धेरै राम्रो पोजिसन आउने अवस्था देखिन्छ । किनभने हामी पार्टीलाई रूपान्तरण गरेर अगाडि बढिरहेका छौँ, हामी आफ्ना एजेन्डाहरु जनता सामु पुर्याइरहेका छौँ । स्थानीय तहमा गरेका प्रगति विवरणहरू उहाँहरुलाई थाहा छ । त्यस रूपमा जनताको विश्वास प्राप्त हुन्छ भन्ने मलाई विश्वास छ । तर हाम्रा सामु थुप्रै चुनौतीहरू छन् । हामीले इमान्दार भएर मेहनत गरेर खट्नुपर्नेछ ।
आधार चाहिँ के हो?
आजको दिनमा नेकपा एमालेले अङ्गिकार गरेका नीति कार्यक्रम सिद्धान्त । हाम्रो लक्ष्य र उद्देश्यहरू नै सही छन् । हामीले जनताको बहुदलीय जनवादलाई आर्थिक सामाजिक रूपान्तरणसँग जोडेका छौँ । समाजवादका आर्थिक आधार तयार गर्न सकिन्छ र त्यसको माध्यमबाट हामी समाजवाद हासिल गर्ने बाटोमा अगाडि जान सक्छौँ भन्ने हाम्रो विचार हो । जहाँ सामाजिक न्यायको सुनिश्चितता हुन्छ, आर्थिक सामाजिक रूपमा देश समृद्ध हुन्छ, जनताको आर्थिक स्तर वृद्धि हुन्छ र सम्पूर्ण रूपले समृद्ध राष्ट्र सुनिश्चितता हुन्छ, देशमा रोजगारी सिर्जना हुन्छ ।
खाद्यवस्तु लगायतमा एमालेले थुप्रै कामहरू गरेको छ, रोजगारी सिर्जना गर्न र युवालाई स्वदेशमै राख्नका निम्ति पहलहरू भएको छ । त्यसकारण पनि ढुक्क हुने अवस्था छ । हामी सामु धेरै चुनौती छन्, यो हाम्रो परीक्षणको अवस्था पनि हो । रूपान्तरित, पुस्तान्तरित र पुनर्गठित भएको नेकपा एमाले बनाउनु हाम्रो मुख्य चुनौती हो । त्यसको निमित्त निरन्तर रुपमा दबाब पनि आइरहेको छ, यसलाई पनि हामीले इन्कार गर्नु हुँदैन । आम जनताहरूलाई यो कुरामा विश्वास गर्ने परिस्थिति बनाउनु पनि एउटा महत्वपूर्ण उपलब्धि हुन जान्छ ।

















प्रतिक्रिया