शेरबहादुरले आफ्नै इतिहासमा झोसेको आगो « Khabarhub

शेरबहादुरले आफ्नै इतिहासमा झोसेको आगो



घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध वनबास गएछन् । वनबास जाँदा उनीसँग दुईवटा लगौंटीबाहेक अरू कुनै चिज थिएन । बिहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे । दिन यसैगरी चलिरहेको थियो । एकदिन सुकाएको लगौंटी मुसाले काटेर ध्वस्त बनाएछ । मुसादेखि झ्वाँक चलेपछि ती वृद्धले मुसा मार्न नजिकैको गाउँबाट एउटा बिरालोको बच्चा ल्याएछन् ।

बिरालोलाई दूध खुवाउनु पर्‍यो, अब के गर्ने ? बिरालो ल्याएकै गाउँमा गएर दूध मागेर बिरालोको प्राण धानिरहेका थिए । रातदिन अरूका घरमा दूध मागेर ल्याउँदा उनलाई ग्लानि भयो । वृद्धले विचार गरे– ‘बरु एउटा गाई किन नपालौं ?’ वृद्धको आश्रममा गाईपालन सुरु भयो ।

वृद्धले गाई पालेपछि गाउँलेलाई अर्कै चिन्ताले सतायो- ‘भोलि वृद्ध तपस्वी बिरामी भएको खण्डमा गौमाताको स्याहार कसले गर्छ ? त्यसैले गौमाताको पापको भागी गाउँले हुनु उचित हुँदैन ।’ गाउँलेहरूको एकमतले ती वृद्धको गाउँकै एक एकल महिलासँग लगनगाँठो कसिदिए । अनि त के थियो र ?

केही वर्षपछि वृद्ध सन्यासी आश्रममै लालाबालाका पिता बने । समयक्रममा उनी मरणासन्न अवस्थामा पुगे । गाउँलेहरूले बिदा हुने बेलामा आफूहरूलाई केही दिव्योपदेश दिन आग्रह गर्दा उनले भने- ‘सबैथोक गर्नु बाबु, तर बुढेसकालमा झुक्किएर पनि बिरालो नपाल्नू । त्यही बिरालो पाल्ने रहरले वनबास आएको म पारिवारिक जालझेलमा फँसे ।’ यति भनेर वृद्ध यो लोकबाट बिदा भए ।

दलको सत्ता खोसिएपछि शेरबहादुर देउवाका लागि गगन थापाको अनुहार वृद्धको बिरालोजस्तै हुन थालेको छ । जेनजी आन्दोलनमा ज्यानकै तलमाथि हुनेसम्मको विभत्स आक्रमण हुँदासम्म ‘ऐय्या’ नभनी झेलेका देउवा आजकल भ्रामक सूचनामै विचलित देखिन थालेका छन् ।

दलको सत्ता खोसिएपछि शेरबहादुर देउवाका लागि गगन थापाको अनुहार वृद्धको बिरालोजस्तै हुन थालेको छ । जेनजी आन्दोलनमा ज्यानकै तलमाथि हुनेसम्मको विभत्स आक्रमण हुँदासम्म ‘ऐय्या’ नभनी झेलेका देउवा आजकल भ्रामक सूचनामै विचलित देखिन थालेका छन् । आपत्को आकाश खस्दासम्म गुहार नभन्ने देउवा पुत्रसमान वयका गगनको छाया देखेरै बर्बराउनुको मनोविज्ञान विचित्रको छ ।

राजा ज्ञानेन्द्रदेखि केपी ओली, प्रचण्ड, माधव नेपाल सत्ता शक्तिको किचलो, घात, अन्तर्घातमा ‘चुँ’ नबोल्ने देउवाको मनोविज्ञानमा अनपेक्षित यूटर्न आएको छ । यसले उनको थिग्रिएको राजनीतिक पूँजीमा क्षयीकरणको खतरा बढाएको छ । त्यसो त देउवा राजनीतिक जीवनमा थोरै उतारचढाव भोगेका पात्र हुन् । बीपीले विश्वास गर्नु उनको पहिलो कडी थियो । दोस्रो उनी सुदूरपश्चिमबाट उदाएका एकमात्र नेता थिए । ०१५ सालमा बीपी सरकारमा सुदूरपश्चिमकी द्वारिकादेवी ठकुरानीले पाएको महत्वपछि ०४६ सालको सफल आन्दोलनले देउवालाई सत्तारोहण गरायो । आन्दोलनताका बेलायतमा रहेका देउवा सत्तायात्रामा टप्किएका हुन् ।

समकालीन राजनीतिमा सहिष्णु चरित्रको उदाहरण दिनुपर्दा कांग्रेस नेताले त्यो जस पाउने गरेका छन् । कांग्रेसमा आन्तरिक लोकतन्त्र मजबुत मानिन्छ । आफ्नो नेतालाई मनपरी गाली गरेर उहीसँग कुम जोडेर भात खान सक्ने संस्कृति कांग्रेसीसँग मात्र छ ।

कांग्रेसविरुद्ध विषवमनमा उत्रिने कांग्रेस कार्यकर्ता मतपत्र बोकेपछि निचोडमा पुग्छ- ‘जस्तै भए पनि आमा फेर्न सकिन्न ।’ कांग्रेसमा विरासतको राजनीति हावी हुनुको पृष्ठभूमि पनि यही हो । त्यही भएर राजनीतिक विश्लेषकहरूले कांग्रेसलाई ‘दुबो’को उपमा दिँदै आएका छन् । अरू पार्टीमा कार्यकर्ता जन्माउन मेहनत गर्नुपर्छ, तर कांग्रेस आफैं उम्रन्छ ।

देउवा आफैं पार्टी फुटाएका व्यक्ति हुन् । गिरिजाप्रसाद कोइरालासँगको शक्ति संघर्षपछि उनले कलश चुनाव चिह्न रहेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए । इतिहासमा राजनीतिक जीवनको उत्तरार्द्धमा दुईपटक पार्टी फुटाएको कलंक उनले पाएको अक्षय नहुने सञ्चयको हो ।

देउवा आफैं पार्टी फुटाएका व्यक्ति हुन् । गिरिजाप्रसाद कोइरालासँगको शक्ति संघर्षपछि उनले कलश चुनाव चिह्न रहेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए । इतिहासमा राजनीतिक जीवनको उत्तरार्द्धमा दुईपटक पार्टी फुटाएको कलंक उनले पाएको अक्षय नहुने सञ्चयको हो । कार्यकर्ताबीच स्वार्थको रोटी सेक्न जस्तोसुकै भावनात्मक कुरा गरे पनि उनी सारथी हुँदा नै विशेष महाधिवेशन भएर पार्टीको मूलधार फाटेको हो ।

देउवा कुनै बौद्धिक नेता होइनन् । उनीसँग पढाइ अनुसारको बौद्धिकता छ, न बोलेको प्रष्ट बुझाउने क्षमता, न देशलाई हाँक्ने विशिष्ट ज्ञान । पाँचपटक प्रधानमन्त्री भए, फगत त्यो जागिर मात्र बन्यो । बीपीले प्रचुर राजनीतिक सम्भावना देखेका शेरबहादुर राजनीतिको उत्तरार्द्धमा शक्ति र सत्ताका लागि जस्तोसुकै विवेकहीन निर्णय लिन तयार हुने अवसरवादी खेलाडीमा खुम्चिए ।

कांग्रेसको विरासत गगन थापाले लिएपछि देउवाले स्थापित चरित्र गुमाउँदै गएका छन् । सहनशील देउवा अधीर, सामाजिक सञ्जालका हावा सूचनाका भरमा गालीगलौजमा उत्रिन थालेका छन् । देउवा कांग्रेसका अधिकांश नेताहरूको दैनिकी विचार नमिल्दा खेदो खन्ने कम्युनिस्टका नेताहरूभन्दा अझ बढी हुन थालेको छ । हुँदाहुँदा गगनलाई आफूलाई आक्रमण गर्ने मतियारसम्म भन्न पछि परेइनन् । गगनविरुद्धको भद्दा आक्रमणले देउवाको उत्तराद्र्ध मातृकाप्रसाद कोइरालाको बाटोमा बढेको अनुभव हुन्छ ।

कांग्रेसको उपत्यका भेलामा त उनले १८ करोड दिएर पार्टी किनेको आरोपसमेत गगनमाथि लगाउन भ्याए । अघिल्लो कार्यक्रममा ‘हिन्दु’को तुरुप मिल्काएर राजनीतिमा जाल मिल्काएका देउवा सानाभन्दा साना कुरामा झन्किने, फन्किने, आक्रोश देखाउने गर्न थालेका छन् । ठूलो मन बनाएर पार्टीमा ‘सुपरग्लु’ बन्नुपर्ने देउवा गाली शिरोमणि बन्दै गएका छन् ।

देउवा कुनै बौद्धिक नेता होइनन् । उनीसँग पढाइ अनुसारको बौद्धिकता छ, न बोलेको प्रष्ट बुझाउने क्षमता, न देशलाई हाँक्ने विशिष्ट ज्ञान । पाँचपटक प्रधानमन्त्री भए, फगत त्यो जागिर मात्र बन्यो ।

विनापूर्वाग्रह भन्दा छोरो पुस्तासँगको पौंठेजोरी उनको हाइटलाई सुहाउने विषय होइन । सुरा लगाएर बेसुरको बनेपछि देउवा साथीभाइहरूसँग भन्थे रे– ‘किसुनजीसँग रक्सी खान सिकें । गिरिजाबाबुको सिको गरेर चुरोट पिउन थालें । गणेशमानजीको बोली अन्टसन्ट बोल्न सिकें ।’

उनले सिक्नुपर्ने चाहिँ बीपीबाट प्रज्ञा, चैतन्य र सिर्जना थियो । देउवाको दुर्बल पक्षसँग जोडिएको अर्को पाटो के हो भने बदनाम नेताहरूको भजनमण्डली । देउवा जति बदनाम छन्, उनका अनुचर अझ बढी अलोकप्रिय छन् । पटकपटक मन्त्री भएका यिनीहरू कोही पनि कीर्तिमानी छैनन् । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, विजयकुमार गच्छदार, मोहनबहादुर बस्नेतहरू विधिमाथि प्रहार गर्ने बदनाम चरित्रका रूपमा स्थापित छन् ।

शेरबहादुर देउवा अत्यन्त भाग्यमानी नेता हुन् । सम्भवतः थोरै नेताको व्यक्तित्व निर्माण यति सहजसँग हुन्छ । २०४० सालमा रूपन्देही देवदह सूर्यपुरामा पार्टीको कार्यक्रम गर्न जाँदा पञ्चायत समर्थकहरूको आक्रमणमा परेर उनको ओठ काटियो । त्यो कार्यक्रममा गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शैलजा आचार्य र स्वयं देउवा सहभागी थिए । कांग्रेस कार्यकर्ता यादवनाथ आलोक र रामप्रसाद चौधरी घटनास्थलमै मारिए ।

कांग्रेस कार्यकर्ताले उनको नबुझिने बोलीलाई पञ्चायतले करेन्ट लगाएको भने पनि त्यो सत्य होइन । देउवा, ओली, प्रचण्ड लगायतका नेताहरूमा आफूहरूले जे बोले पनि कानुनभन्दा माथि हो भन्ने अहम्ले घर गर्दा जिब्रो नियन्त्रणमा आउन नसकेको हो ।

०४६ सालको राजनीतिक परिवर्तन भएर शेरबहादुर देउवा गृहमन्त्री हुँदा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह दुई वर्षका नाबालक थिए । त्यसयता उनी सधैं राज्यसत्ताबाटै पालिँदै पोसिँदै आएका छन् । उनका घरमा राज्यले फौजीको तैनाथी राखेको छ । उनलाई दिएको सुविधा देशका लागि नभएर सत्ता र शक्तिको दाउपेचमै उपयोग भएको वर्षौं भयो । देउवा सत्तासीन हुँदा भारतीय प्रधानमन्त्री कतै भिक्षु भेषमा थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीको गाउँले एकाइमा रहेर नर्सरीका बिरुवा गोड्दै थिए । भ्लादिमिर पुटिन कराँते खेल्दै थिए । युरोप, अमेरिकाका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको राजनीतिक आवरणमा जन्म नै भएको थिएन । यत्रो राजनीतिक विरासत बोकेका देउवाले आफ्नो वजनलाई बुझ्न सकेनन् । उनले गगनलाई भन्दा अधिक मुख छाड्नुपर्ने त गिरिजाप्रसादलाई थियो । त्यसो गरेनन् ।

राजा ज्ञानेन्द्रले ‘असक्षम’ भनेर गलहत्याएपछि राजाविरुद्ध उत्रिएका देउवा सत्ताको ललिपप देखाउनासाथ तिनै राजाप्रति कृतकृत्य हुँदै सत्तायात्रामा सामेल भए । एसियामै लामो संघर्षपूर्ण लोकतान्त्रिक नेताको परिचय बनाएका देउवाको उत्तरार्द्ध सुखद नहुने लक्षण देखियो । आठ दशकको उमेरमा आउँदा सपरिवार आफ्नो देशमा, आफ्नो घरमा बस्न नपाउने दुर्भाग्यपूर्ण अवस्था उनका लागि अभिषाप हो ।

राजा ज्ञानेन्द्रले ‘असक्षम’ भनेर गलहत्याएपछि राजाविरुद्ध उत्रिएका देउवा सत्ताको ललिपप देखाउनासाथ तिनै राजाप्रति कृतकृत्य हुँदै सत्तायात्रामा सामेल भए । एसियामै लामो संघर्षपूर्ण लोकतान्त्रिक नेताको परिचय बनाएका देउवाको उत्तरार्द्ध सुखद नहुने लक्षण देखियो । आठ दशकको उमेरमा आउँदा सपरिवार आफ्नो देशमा, आफ्नो घरमा बस्न नपाउने दुर्भाग्यपूर्ण अवस्था उनका लागि अभिषाप हो । पञ्चायतमा पार्टी प्रतिबन्धित हुँदा पनि कांग्रेसका कुनै शीर्ष नेताले यस्तो दुर्भाग्य भोग्नुपरेको थिएन । गगनमाथि भुतुभुतु खन्याएर देउवाको न विगत फिर्ता आउँछ, न वर्तमान आशलाग्दो बन्छ, न भविष्य नै सुरक्षित हुन्छ ।

यतिबेला सबैसँग गुनासाका थाक छन् । कसैलाई नपाएको झोंक, कसैलाई कम प्राप्तिको गुनासो, कसैलाई आफूले नपाएको भन्दा अरूले पाएको आक्रोश छ । सार्वजनिक खपतका लागि जनताको रगत–पसिनाका चर्का भाषण गरे पनि सबैको अन्तिम अभीष्ट सत्ता, शक्ति र द्रव्य नै हो । सारमा नेपाली राजनीतिको गन्तव्य ठाँटबाँट र व्यक्तिगत इच्छालाई राज्यमार्फत पूरा गर्नु नै हो । दाँती मिलेको घर, घरमा गाडीघोडा, विदेशमा सन्तान, दैनिक दुईचार दर्जन मानिसको ओहोरदोहोर सम्भवतः यो संयोग नै सफलताको अन्तिम कसी हो ।

सबैको अस्तित्व झल्किने सलादजस्तै समाज बनोस् । राजनीति राजनीतिज्ञ मात्र गर्ने साधन बनिदेओस् भन्ने आममानिसको प्रार्थना छ । अविश्वासको अन्त्य नै सुशासनको प्राप्ति हो । जहाँ राज्यसँग जनताको थोरैभन्दा थोरै गुनासा हुन्छन् । एउटा सपना भाँचिएसँगै अरू अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुट्ने अरू नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनेसर भइसकेको हुनेथियो । सुखद भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डोर्याउने रहेछ ।

महाभारतमा भनिएको छ– ‘सत्य बोल प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल । प्रिय छ भनेर असत्य पनि नबोल ।’ सत्य भनेको इच्छा हो । आग्रह भए ठाउँमा सत्य आउँदैन । आगोले सुनको शुद्धता जाँच्ने क्षमता राखेजस्तै मानिसको कर्मबाट सत्य निस्सृत हुन्छ । सत्य भनेको इच्छा हो ।

जिब्रोभरि नून लिएर तिहुन चाख्न तम्सिनेहरूको साम्राज्यले सर्वत्र गिजोलिएको अवस्थामा सत्यको आराधना सजिलो नभए पनि असम्भव पक्कै छैन । सत्य मान्छेपिच्छे फरक हुँदैन । पटमूर्ख अनुहारमा पोतिएको कालो देख्दैनन्, तर रातदिन ऐना पुछिरहन्छन् । तिनै ऐना पुछ्नेहरूको खबरदारी अहिलेको आवश्यकता हो । संसारमा सत्य मात्र त्यो शक्ति हो, जो सधैं संग्रहयोग्य हुन्छ ।

नीतिहरूको राजा मानिने राजनीतिमा कुखुराचोर, काँक्राचोर, बारमासे जुवाडे, गाउँका जाली फटाहाहरूको राजनीतिमा बिगबिगी बढ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी खहरेले त्यो संकट चारगुना थपियो । उमेर कलिला, उच्छृंखलतामा पारंगतहरूको संख्या संसद्मा बाक्लो संख्यामा थपियो । बुढाको सास्तीबाट त्राण खोजेको राजनीति उरन्ठेउलाको भाँडमा गएर टुंगिने जोखिम बढ्दो छ ।

मानवीय कर्म नभएर गाली, गाली अनि फेरि गालीलाई राजनीतिको संस्कृति बनाइँदैछ । अरुचिको चीज खान्न भन्न पाइएला तर उमेरको पूर्णविराम लगाउने हैसियत कोही कसैमा छैन । हिमालमा बसोबास गर्नेले तराईमा जन्मिएका गौतम बुद्ध र तराईमा रहेकाहरूले हिमालमा रहने महादेवको पूजाअर्चना गर्ने प्राकृतिक सन्तुलन नै नेपालको सामथ्र्य हो । कार्पेटमाथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयासले अहिले पनि निरन्तरता पाएकै छ ।

जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिँगान आएपछि ऊ भन्दो रहेछ, योभन्दा त सिर्कनो बेस । अनि सिर्कनोले तिघ्रामा छरछरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, योभन्दा त खुर्सानी जाति । चुनावबाट नेपाली जनताले फरक स्वाद खोज्लान भन्ने आशा एवं विश्वास पनि म्युजिकल चियर्स खेलको अध्यायभन्दा न तल गयो, न माथि उक्लियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ९ : ०९ बजे

शेरबहादुरले आफ्नै इतिहासमा झोसेको आगो

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध वनबास गएछन् ।

बङ्गुरपालनबाट मनग्य आम्दानी

नवलपुर – वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई रजतसहित चार पदक

काठमाडौँ – रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली

छठ महापर्व नेपाली समाजको सांस्कृतिक अनुष्ठान हो : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता,

सुशासन र समृद्धि प्राप्तिमा छठी माताको कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय,