पाँचथर– तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर-इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।
मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक हुन् । तर धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरबाट ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि बजारमा ग्राहक घटेका हुन् ।
स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षदेखि राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । उनले विगतको तुलनामा व्यापार करिब ६० प्रतिशतले घटेको बताए ।
अर्की व्यवसायी निशा श्रेष्ठले पनि कोरोना महामारीपछि व्यापारले पुरानै गति लिन नसकेको बताइन् । राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्टले सडकको पहुँच विस्तारसँगै महँगी र यस वर्ष दसैँमा पाथीभरा दर्शनार्थीको सङ्ख्या घट्नुले पनि व्यापार प्रभावित भएको बताए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामका देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि तथा स्थानीय सामग्री राँके बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।
अकबरे खुर्सानी र यसको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा जडीबुटी यहाँका प्रमुख स्थानीय उत्पादन हुन् ।
राजमार्गमा आधारित व्यापार घटे पनि यहाँका स्थानीय उत्पादन तराई, काठमाडौँ र भारतका बजारसम्म पुग्ने गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताए ।














प्रतिक्रिया