नेपालगञ्ज– साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गरेका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बनेका छन् ।
उनले अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा पालेका छन् । बाख्रापालनबाट हालसम्म तीन लाख आम्दानी गरेका उनले पुरानो ऋण चुक्ता गर्नाका साथै दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकता पूरा गर्दै आएका छन् ।
वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्दै आएका उनले यस वर्ष रु पाँच लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । माउ बाख्रा बिक्री नगरी सङ्ख्या बढाउने योजनामा रहेका उनका अनुसार खसी बिक्री गर्न बजारको समस्या छैन । सहकारीले खसी खरिद गर्ने र आवश्यक पर्दा अग्रिम रकम उपलब्ध गराउने भएकाले कारोबार सहज भएको छ ।
वैदेशिक रोजगारीमा जाने योजना सफल नभएपछि बाख्रापालनमा लागेका बुढाक्षेत्रीले पारिवारिक समस्याका कारण बीचमा यो व्यवसाय छाडेर तीन वर्ष भारतमा बिताउनुपरेको थियो ।
बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न भारत गएका उनी फर्किएपछि पुनः पशुपालनमा सक्रिय थिए । पहिले आठवटा भैँसी पनि पालेका उनले पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिए । पशुपालनबाटै ऋण चुक्ता गर्न सफल भएको उनले बताए ।
‘म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,’ उनले भने ।
आफ्नो क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्नुपर्ने सुझाव दिँदै उनले अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्न नहुने बताए । बाख्रापालनलाई नै आफ्नो भविष्यको आधार बनाएका उनले स्थानीय जातका बाख्राको सङ्ख्या बढाउने योजना बनाएका छन् ।














प्रतिक्रिया