काठमाडौँ– टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गतका विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वर्णिम वाग्ले आइतबार स्वदेश फर्किएका छन् ।
सम्मेलनका क्रममा मन्त्री वाग्लेले करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाएका थिए । उनले ४४ वटा अतिकम विकसित राष्ट्र (एलडीसी) का तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।
त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औँ सदस्यका रूपमा आबद्ध गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ (फिस्कल स्पेस फर रेजिलियन्स) विषयक नीतिगत अवधारणा छलफलका लागि पेस गरे ।
भ्रमणका क्रममा विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाइरहेकी बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
कोप–३१ मा नेपालले उठाएका एजेन्डामा समर्थन जुटाउन मन्त्री वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग छलफल गरेका थिए । जसमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्विडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए ।
उनले हरित जलवायु कोष (जीसीएफ) को उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गर्नुका साथै जेनेभास्थित विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) को ‘जलवायु मापन कोष’ सम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधन गरे ।
टर्की बसाइका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु र अर्थशास्त्रका विज्ञ प्राध्यापक योहान रक्स्त्रम र निकलस स्टर्नसँग भेटवार्ता गरेका थिए ।
यस्तै, अमेरिकी पत्रिका न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका वाग्ले सन् २०२६ का लागि टाइम म्यागजिनले छनोट गरेका जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा समेत सहभागी भएका थिए ।














प्रतिक्रिया