काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् ।
प्रवक्ता खरेलले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गर्दै सभापति, महामन्त्रीसहित पार्टीको नेतृत्व र सम्पूर्ण टोली सरकार सञ्चालनमा कुनै अवरोध वा हस्तक्षेपको महसुस नहोस् भन्नेमा सचेत रहेको बताए ।
उनले सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए ।
त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारे ।
उनले आईजीपीलाई हटाऊ वा राख भनेर पार्टीले निर्देशन नदिएको भन्दै यो सरकारको विवेक र निर्णयको विषय भएको बताए । उक्त विषय अदालत सम्म पुगेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने उनले उल्लेख गरे ।














प्रतिक्रिया