काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय रहेको संकेत गरेका छन् ।
बिहीबार जारी गरेको वक्तव्यमा डा. कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने ‘भागिरथ प्रयास’ सफल हुन नसकेको स्वीकार गरेका छन् ।
उनले राजधानी केन्द्रित षड्यन्त्रका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तानाबाना बुन्ने काम भएको दाबी गरेका छन् ।
उनले यस्ता गतिविधिले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिने प्रयास असफल भएको उल्लेख गरेका छन् ।
पार्टीभित्र देखिएका दृश्य र अदृश्य अन्तरविरोध, बाह्य हस्तक्षेप र आन्तरिक कमजोरीका कारण कांग्रेस कठिन परिस्थितिबाट गुज्रिन पुगेको उनले बताएका छन्। यद्यपि, उनले दोषी–निर्दोष छुट्याएर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन आफू इच्छुक नरहेको स्पष्ट पारेका छन् ।
डा. कोइरालाले पछिल्ला घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासले नै गर्ने बताएका छन् ।
यस कठिन घडीमा उनले महामानव नेता बीपी कोइरालाको स्मरण गर्दै, पार्टीभित्र विभाजन र साथ छोड्ने प्रवृत्तिलाई विपीले ‘नियतिको खेल’ का रूपमा बुझ्ने गरेको उल्लेख गरेका छन् ।
कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भए पनि अब आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने जिम्मेवारी सबैको काँधमा आएको उनको भनाइ छ । उनले संगठनात्मक उर्जा प्रस्फुटन बिना यो दायित्व पूरा हुन नसक्ने बताएका छन् ।
आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै डा. कोइरालाले पार्टी आम कार्यकर्ताले निर्माण गरेको साझा संस्था भएको उल्लेख गर्दै, अग्रज नेताहरूको मार्गदर्शन र शहिदहरूको बलिदानबाट प्रेरणा लिएर जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।
पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने उल्लेख गर्दै उनले सबै धारका नेता तथा कार्यकर्तालाई ‘घर फर्कौं, कांग्रेसमा फर्कौं’ भनेर आह्वान गरेका छन् ।
वक्तव्यका मुख्य ७ बुँदा:
- कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास असफल भएको स्वीकार, दोषारोपणमा नजाने स्पष्ट सन्देश।
- पार्टी कमजोर पार्न राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र सक्रिय रहेको आरोप।
- आन्तरिक र बाह्य अन्तरविरोधका कारण कांग्रेस एकढिक्का भएर निर्वाचनमा जान नसकेको निष्कर्ष।
- पछिल्ला घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिका मूल्यांकन इतिहासमा सुम्पने भनाइ।
- कठिन घडीमा बीपी कोइरालाको विचार, संघर्ष र ‘नियति’ को दर्शन स्मरण गर्नुपर्ने जोड।
- आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउन आसन्न निर्वाचनमा एकता अपरिहार्य रहेको आह्वान।
- ‘घर फर्कौं, कांग्रेसमा फर्कौं’ भन्दै सबै धार र कार्यकर्तालाई पुनः एकतामा आउन आग्रह।













प्रतिक्रिया