थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार ! « Khabarhub

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व माघी आज धूमधामका साथ मनाइरहेका छन् । 

नयाँ वर्षको सुरुवातका रूपमा लिइने माघी पर्व थारु समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो ।

पहिले पहिले थारु बाहुल्यता रहेका क्षेत्रमा मात्रै मनाइँदै आएको माघी पर्व विभिन्न जातजातिका मौलिक चाडपर्वको जगेर्ना गर्ने उद्देश्यले  पछिल्लो समय काठमाडौंको टुँडिखेलमा पनि मनाइँदै आएको छ । 

जहाँ पूर्वदेखि पश्चिमसम्मका थारु समुदायका मौलिक खानाका परिकार र भेषभूषा देख्न पाइन्छ । मेलामा स्टल स्थापना गरेकी कैलालीको धनगढी गाउँकी केशरी चौधरी भन्छिन् पहिले पहिले धूमधामका साथ मनाइने माघी पर्व बीचमा लोप हुने अवस्थामा पुगिसकेको थियो । 

तर पछिल्लो पुस्ताले फेरि जगाएको छ । अहिले माघी थारु समुदायमा मात्र सीमित नरही देशभर नै प्रचलित छ, जसका कारण हाम्रा परिकारहरू देश विदेशमा चिनिन थालेका छन् ।
 
केशरीका अनुसार माघी पर्वमा थारु समुदायले बिहान सबेरै उठी सम्भव भएसम्म खोला किनारमा नुहाउन जाने नभए घरमै नुहाएर अन्नबालीहरू छुने, मिठा मिठा परिकारहरू बनाउने र त्यो छोएको अन्नसँगै बनाइएका परिकार ढिक्री, गंगटो, माछा, बंगुरको मासु, अनदीको रोटी, बयरको अचार, विभिन्न सागसब्जी तथा मासको दालबाट बनाइएका पकौडा चेलीबेटीहरूलाई दिने चलन रहेको छ । 

मुसा खाने चलन हराउँदै 

पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने थारु समुदायमा धानबाली भित्र्याइसकेपछि खेतमा खनेर मुसा खोज्ने र त्यसका विभिन्न परिकार अचार, तरकारी बनाएर खाने चलन रहेको थियो । तर पछिल्लो समय त्यो चलन हराउँदै गएको थारु अगुवाहरू बताउँछन् । 

धनगढीकी केशरीले भन्छिन् पहिले पहिले धेरै खाएको हो । अन्य मासुको भन्दा यसको स्वाद एकदमै फरक हुन्छ । अहिले त धानखेती त्यति गरिँदैन अन्य मुसा गनाउँछ, त्यसलाई खाने गरेको छैन । 

पहिले पहिले पोषिलो हुन्छ भनेर ससाना बालबालिका र विशेष गरी सुत्केरी महिलालाई दिने गरिएको उनले बताइन् । मुसाको तरकारी या अचार बनाएर सुत्केरी आमाहरूलाई खुवाउँदा प्रशस्त मात्रामा दूध आउँछ भन्ने भनाइ थियो, उनले भनिन् । 

भेगअनुसार फरक शैली र परिकार 

त्यस्तै माघी पर्व केवल खानपानमा सीमित नभई समुदायमा नयाँ कामदार छान्ने, ऋण–सोधखोज गर्ने, पारिवारिक जमघट र सांस्कृतिक नाचगान गर्ने अवसरका रूपमा समेत मनाइने गरिएको थारु मेलाका आर्थिक विभाग संयोजक धर्मलाल चौधरी बताउँछन् । 

कम्लहरी प्रथा हटेसंगै कामदार छान्ने परम्परा हटे पनि अन्य महत्त्वपूर्ण कामहरू भने अहिले पनि माघीकै शुभ अवसरमा गर्ने परम्परा रहेको चौधरीले बताए ।

पछिल्लो समय सहरीकरण र आधुनिक जीवनशैलीको प्रभाव परे पनि थारु समुदायले आफ्नो मौलिक परम्परा जोगाउँदै माघी पर्व मनाउने प्रयास जारी राखेकाले यसको महत्त्व अझ बढ्दै गएको चौधरीको भनाइ छ । 

उनका अनुसार माघी पर्वको संस्कृति एउटै भए पनि खानाका परिकारमा भने भेग अनुसार भिन्नता रहेको छ । पश्चिमका थारुहरुले बंगुरको मासु र मुसाको अचार खाएजस्तै मध्य तराईमा भने खसी, हाँस तथा परेवाको मासु अनिवार्य मानिन्छ । 

त्यस्तै ढिक्रीको ठाउँमा भक्का, भुजाको लड्डुको ठाउँमा कसार भातसँगै तरकारी, माछा, घोँगी र स्थानीय अचार बढी प्रयोग गरिने चौधरी बताउँछन् । 

माघीका परिकार र तिनको महत्त्व 

माघीमा खाइने अन्य परिकारहरू पनि चिसो मौसममा खाँदा पचाउन सहज हुने र स्वास्थ्यलाई पनि फाइदा गर्ने खालका रहेको चौधरीको भनाइ छ । 

परेवाको मासु 

परेवाको मासु एकदमै गरम हुने भएकाले यसले चिसो मौसममा शरीर तताउन र रुघाखोकी लाग्नबाट जोगाउँछ । 

ढिक्री

ढिक्री थारू समुदायको परिकारमध्ये विशेष मानिन्छ । चामलको पिठो मुछेर थरीथरीका आकार दिएर तयार पारिन्छ । मम जस्तै स्टिम गरेर ढिक्री बनाइन्छ । थारू समुदायका विशेष समारोहमा मौलिक परिकारका रूपमा ढिक्री अनिवार्य राखिन्छ । 

थारू समुदायले मान्ने पर्वहरू विवाह, ब्रतबन्धलगायत शुभकार्य तथा उत्सवहरूमा ढिक्रीको पूजा गरिन्छ । विशुद्ध चामलको पिठोबाट मात्रै तयार पारिएको हुनाले एकदमै स्वास्थवर्द्धक मानिन्छ  ।

बैरिक चट्नी

जंगली बयरबाट तयार पारिएको एक प्रकारको अचार नै बैरिक चटनी हो । थारू समुदायको परिकारमा बैरिक चटनी अनिवार्य जस्तै हुन्छ । 

नुनिलो, अमिलो, गुलियो र पिरोको मात्रा अलिक बढी हुने भएकाले बैरिक चटनी निकै स्वादिलो मानिन्छ । यसलाई ढिक्रीसँग खाइन्छ । बयरबाट बनाइएको चटनी भएका कारण यो चिप्लो र गुलियो हुन्छ । जंगली बयरलाई उमालेर विभिन्न मरमसला राखी बैरिक चटनी तयार गरिने भएकाले यो भिटामिन सीको राम्रो स्रोत मानिन्छ । 

घोँगी

थारू समुदायको निकै लोकप्रिय खानाको परिकार हो– घोँगी । घोँगी विशेषगरी खेत, पोखरी, तलाउलगायत पानी जम्ने ठाउँमा पाइन्छ । थारू समुदायमा घोँगी परिकारको छुट्टै महत्त्व छ । 

घोँगीमा पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियमहरु पाइने भएकाले हाडजोर्नीहरुलाई बलियो बनाउन मद्दत गर्छ । घोँगीको सुप र मासुबाट शरीरलाई आवश्यक भिटामिन पाइन्छ । घोँगी विशेष गरेर पानी जम्ने ठाउँमा पाइने भएकाले उसले फोहोर लेदोहरु खाएको हुन्छ । 

त्यसैले घोँगी ल्याउने बित्तिकै पकाएर खाने होइन । एक रातभर गहुँको पिठोमा राखिन्छ ताकी उसले त्यो पिठो खाओस् फोहोर बाहिर निस्कियोस् ।

त्यसपछि त्यसको पछाडिको भाग काटेर फाल्ने र पानीमा उमालिन्छ । आलस तेजपात लगायत विभिन्न मसलाहरुको प्रयोग गरी त्यसको सुप बनाएर वा मासुको रुपमा यसको प्रयोग गर्न सकिन्छ । 

गेटा (गंगटो) 

थारू भाषामा गंगटोलाई गेटा भनिन्छ । गेटाको परिकार थारू समुदायमा निकै प्रसिद्ध छ । थरिथरि थारू मरमसला राखेर बनाइएको गेटा निकै आकर्षक देखिन्छ । फ्राई र सुप दुवै तरिकाले पकाएर गेटा अचार, चटनीसँग खाने चलन छ । 

मछ्छी (माछा) 

थारू समुदायमा माछाका परिकारहरू निकै रूचाइन्छ । ठूला माछादेखि साना सिद्रा माछाका परिकारहरू प्रसिद्ध छन् । हिले माछा अनईदेखि सुकेको साना सिद्राको खालखालका परिकार बनाइन्छ ।

बंगुरको मासु

थारू समुदायमा बंगुरको सेकुवा निकै लोकप्रिय छ । बंगुरबाट तयार पारिने अन्य परिकारभन्दा सेकुवालाई विशेष मानिन्छ । सेकुवालाई विशेष सितनका रूपमा खाने गरिन्छ । बंगुरको मासु उमालेर खुर्सानी र मसला राखी तयार गरिएको सेकुवा निकै रुचाएको पाइन्छ ।

सुतही

सुतही एक प्रकारको पानीमा पाइने जीव हो । सुतहीको भित्री भाग खाइन्छ । यसको बनावट अन्य जलचरभन्दा फरक हुन्छ । बाहिरी भाग भने निकै कडा हुन्छ । भित्री भागलाई खानाको परिकारका रूपमा खाइने सुतही स्वास्थ्यका लागि निकै फाइदा हुने बताइन्छ । सुतहीलाई उसिनेर तयार गरिन्छ । चिसो मौसममा सुतही खाँदा शरीरलाई न्यानो हुने मान्यता छ ।

घरैया दारु

घरैया दारु अर्थात लोकल रक्सी, जुन विना उनीहरूको हरेक चाडपर्व अधुरो मानिन्छ । माघीको समयमा मदिराले निकै महत्त्व राख्ने व्यापारीहरू बताउँछन्  । छबुवा (छ्याङ), लोकल रक्सी भोजभतेरमा अनिवार्य प्रयोग गरिन्छ । अनधी तथा लोकल चामलबाट तयार पारिने हुँदा चिसो मौसममा शरीरका लागि फाइदा हुने उनीहरूको तर्क छ । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ४६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा