थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार ! « Khabarhub

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व माघी आज धूमधामका साथ मनाइरहेका छन् । 

नयाँ वर्षको सुरुवातका रूपमा लिइने माघी पर्व थारु समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो ।

पहिले पहिले थारु बाहुल्यता रहेका क्षेत्रमा मात्रै मनाइँदै आएको माघी पर्व विभिन्न जातजातिका मौलिक चाडपर्वको जगेर्ना गर्ने उद्देश्यले  पछिल्लो समय काठमाडौंको टुँडिखेलमा पनि मनाइँदै आएको छ । 

जहाँ पूर्वदेखि पश्चिमसम्मका थारु समुदायका मौलिक खानाका परिकार र भेषभूषा देख्न पाइन्छ । मेलामा स्टल स्थापना गरेकी कैलालीको धनगढी गाउँकी केशरी चौधरी भन्छिन् पहिले पहिले धूमधामका साथ मनाइने माघी पर्व बीचमा लोप हुने अवस्थामा पुगिसकेको थियो । 

तर पछिल्लो पुस्ताले फेरि जगाएको छ । अहिले माघी थारु समुदायमा मात्र सीमित नरही देशभर नै प्रचलित छ, जसका कारण हाम्रा परिकारहरू देश विदेशमा चिनिन थालेका छन् ।
 
केशरीका अनुसार माघी पर्वमा थारु समुदायले बिहान सबेरै उठी सम्भव भएसम्म खोला किनारमा नुहाउन जाने नभए घरमै नुहाएर अन्नबालीहरू छुने, मिठा मिठा परिकारहरू बनाउने र त्यो छोएको अन्नसँगै बनाइएका परिकार ढिक्री, गंगटो, माछा, बंगुरको मासु, अनदीको रोटी, बयरको अचार, विभिन्न सागसब्जी तथा मासको दालबाट बनाइएका पकौडा चेलीबेटीहरूलाई दिने चलन रहेको छ । 

मुसा खाने चलन हराउँदै 

पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने थारु समुदायमा धानबाली भित्र्याइसकेपछि खेतमा खनेर मुसा खोज्ने र त्यसका विभिन्न परिकार अचार, तरकारी बनाएर खाने चलन रहेको थियो । तर पछिल्लो समय त्यो चलन हराउँदै गएको थारु अगुवाहरू बताउँछन् । 

धनगढीकी केशरीले भन्छिन् पहिले पहिले धेरै खाएको हो । अन्य मासुको भन्दा यसको स्वाद एकदमै फरक हुन्छ । अहिले त धानखेती त्यति गरिँदैन अन्य मुसा गनाउँछ, त्यसलाई खाने गरेको छैन । 

पहिले पहिले पोषिलो हुन्छ भनेर ससाना बालबालिका र विशेष गरी सुत्केरी महिलालाई दिने गरिएको उनले बताइन् । मुसाको तरकारी या अचार बनाएर सुत्केरी आमाहरूलाई खुवाउँदा प्रशस्त मात्रामा दूध आउँछ भन्ने भनाइ थियो, उनले भनिन् । 

भेगअनुसार फरक शैली र परिकार 

त्यस्तै माघी पर्व केवल खानपानमा सीमित नभई समुदायमा नयाँ कामदार छान्ने, ऋण–सोधखोज गर्ने, पारिवारिक जमघट र सांस्कृतिक नाचगान गर्ने अवसरका रूपमा समेत मनाइने गरिएको थारु मेलाका आर्थिक विभाग संयोजक धर्मलाल चौधरी बताउँछन् । 

कम्लहरी प्रथा हटेसंगै कामदार छान्ने परम्परा हटे पनि अन्य महत्त्वपूर्ण कामहरू भने अहिले पनि माघीकै शुभ अवसरमा गर्ने परम्परा रहेको चौधरीले बताए ।

पछिल्लो समय सहरीकरण र आधुनिक जीवनशैलीको प्रभाव परे पनि थारु समुदायले आफ्नो मौलिक परम्परा जोगाउँदै माघी पर्व मनाउने प्रयास जारी राखेकाले यसको महत्त्व अझ बढ्दै गएको चौधरीको भनाइ छ । 

उनका अनुसार माघी पर्वको संस्कृति एउटै भए पनि खानाका परिकारमा भने भेग अनुसार भिन्नता रहेको छ । पश्चिमका थारुहरुले बंगुरको मासु र मुसाको अचार खाएजस्तै मध्य तराईमा भने खसी, हाँस तथा परेवाको मासु अनिवार्य मानिन्छ । 

त्यस्तै ढिक्रीको ठाउँमा भक्का, भुजाको लड्डुको ठाउँमा कसार भातसँगै तरकारी, माछा, घोँगी र स्थानीय अचार बढी प्रयोग गरिने चौधरी बताउँछन् । 

माघीका परिकार र तिनको महत्त्व 

माघीमा खाइने अन्य परिकारहरू पनि चिसो मौसममा खाँदा पचाउन सहज हुने र स्वास्थ्यलाई पनि फाइदा गर्ने खालका रहेको चौधरीको भनाइ छ । 

परेवाको मासु 

परेवाको मासु एकदमै गरम हुने भएकाले यसले चिसो मौसममा शरीर तताउन र रुघाखोकी लाग्नबाट जोगाउँछ । 

ढिक्री

ढिक्री थारू समुदायको परिकारमध्ये विशेष मानिन्छ । चामलको पिठो मुछेर थरीथरीका आकार दिएर तयार पारिन्छ । मम जस्तै स्टिम गरेर ढिक्री बनाइन्छ । थारू समुदायका विशेष समारोहमा मौलिक परिकारका रूपमा ढिक्री अनिवार्य राखिन्छ । 

थारू समुदायले मान्ने पर्वहरू विवाह, ब्रतबन्धलगायत शुभकार्य तथा उत्सवहरूमा ढिक्रीको पूजा गरिन्छ । विशुद्ध चामलको पिठोबाट मात्रै तयार पारिएको हुनाले एकदमै स्वास्थवर्द्धक मानिन्छ  ।

बैरिक चट्नी

जंगली बयरबाट तयार पारिएको एक प्रकारको अचार नै बैरिक चटनी हो । थारू समुदायको परिकारमा बैरिक चटनी अनिवार्य जस्तै हुन्छ । 

नुनिलो, अमिलो, गुलियो र पिरोको मात्रा अलिक बढी हुने भएकाले बैरिक चटनी निकै स्वादिलो मानिन्छ । यसलाई ढिक्रीसँग खाइन्छ । बयरबाट बनाइएको चटनी भएका कारण यो चिप्लो र गुलियो हुन्छ । जंगली बयरलाई उमालेर विभिन्न मरमसला राखी बैरिक चटनी तयार गरिने भएकाले यो भिटामिन सीको राम्रो स्रोत मानिन्छ । 

घोँगी

थारू समुदायको निकै लोकप्रिय खानाको परिकार हो– घोँगी । घोँगी विशेषगरी खेत, पोखरी, तलाउलगायत पानी जम्ने ठाउँमा पाइन्छ । थारू समुदायमा घोँगी परिकारको छुट्टै महत्त्व छ । 

घोँगीमा पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियमहरु पाइने भएकाले हाडजोर्नीहरुलाई बलियो बनाउन मद्दत गर्छ । घोँगीको सुप र मासुबाट शरीरलाई आवश्यक भिटामिन पाइन्छ । घोँगी विशेष गरेर पानी जम्ने ठाउँमा पाइने भएकाले उसले फोहोर लेदोहरु खाएको हुन्छ । 

त्यसैले घोँगी ल्याउने बित्तिकै पकाएर खाने होइन । एक रातभर गहुँको पिठोमा राखिन्छ ताकी उसले त्यो पिठो खाओस् फोहोर बाहिर निस्कियोस् ।

त्यसपछि त्यसको पछाडिको भाग काटेर फाल्ने र पानीमा उमालिन्छ । आलस तेजपात लगायत विभिन्न मसलाहरुको प्रयोग गरी त्यसको सुप बनाएर वा मासुको रुपमा यसको प्रयोग गर्न सकिन्छ । 

गेटा (गंगटो) 

थारू भाषामा गंगटोलाई गेटा भनिन्छ । गेटाको परिकार थारू समुदायमा निकै प्रसिद्ध छ । थरिथरि थारू मरमसला राखेर बनाइएको गेटा निकै आकर्षक देखिन्छ । फ्राई र सुप दुवै तरिकाले पकाएर गेटा अचार, चटनीसँग खाने चलन छ । 

मछ्छी (माछा) 

थारू समुदायमा माछाका परिकारहरू निकै रूचाइन्छ । ठूला माछादेखि साना सिद्रा माछाका परिकारहरू प्रसिद्ध छन् । हिले माछा अनईदेखि सुकेको साना सिद्राको खालखालका परिकार बनाइन्छ ।

बंगुरको मासु

थारू समुदायमा बंगुरको सेकुवा निकै लोकप्रिय छ । बंगुरबाट तयार पारिने अन्य परिकारभन्दा सेकुवालाई विशेष मानिन्छ । सेकुवालाई विशेष सितनका रूपमा खाने गरिन्छ । बंगुरको मासु उमालेर खुर्सानी र मसला राखी तयार गरिएको सेकुवा निकै रुचाएको पाइन्छ ।

सुतही

सुतही एक प्रकारको पानीमा पाइने जीव हो । सुतहीको भित्री भाग खाइन्छ । यसको बनावट अन्य जलचरभन्दा फरक हुन्छ । बाहिरी भाग भने निकै कडा हुन्छ । भित्री भागलाई खानाको परिकारका रूपमा खाइने सुतही स्वास्थ्यका लागि निकै फाइदा हुने बताइन्छ । सुतहीलाई उसिनेर तयार गरिन्छ । चिसो मौसममा सुतही खाँदा शरीरलाई न्यानो हुने मान्यता छ ।

घरैया दारु

घरैया दारु अर्थात लोकल रक्सी, जुन विना उनीहरूको हरेक चाडपर्व अधुरो मानिन्छ । माघीको समयमा मदिराले निकै महत्त्व राख्ने व्यापारीहरू बताउँछन्  । छबुवा (छ्याङ), लोकल रक्सी भोजभतेरमा अनिवार्य प्रयोग गरिन्छ । अनधी तथा लोकल चामलबाट तयार पारिने हुँदा चिसो मौसममा शरीरका लागि फाइदा हुने उनीहरूको तर्क छ । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ४६ बजे

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन