काठमाडौं- दक्षिणपश्चिम चीनमा एउटा भूमिगत चर्चका नेताहरु पक्राउ परेका छन् । अर्ली रेन कभोनेन्ट चर्चले विज्ञप्ति जारी गर्दै आफ्ना नेताहरु पक्राउ परेको जानकारी दिएको हो ।
यस चर्चका नेता ली यिङचियाङलाई सुरक्षाकर्मीले पक्राउ गरेको जनाइएको छ । सिचुवान प्रान्तको डेयाङ शहरस्थित आफ्नै घरबाट उनी पक्राउ परेको बेलायती अखबार द गार्जियनले जनाएको छ ।
उनीसँगै श्रीमती झाङ सिन्युए र अन्य दुई जना चर्चका सदस्यहरु पनि पक्राउ परेका छन् । त्यसबाहेक अरु चार जनालाई पनि पक्राउ गरी पछि छाडिएको छ ।
यसअघि गत अक्टोबर महिनामा पनि चीनमा जायोन चर्चका १८ जना वरिष्ठ नेताहरु पक्राउ परेका थिए । त्यसैगरी, डिसेम्बर महिनामा पनि एउटा चर्चमा आबद्ध झण्डै १ सय जनालाई झेजियाङ प्रान्तबाट पक्राउ गरिएको थियो ।
चीनमा आफ्नै घरमा चर्च सञ्चालन गर्नेलाई लक्षित गरी पछिल्लो समय दमन गर्ने क्रम बढिरहेको जनाइएको छ । राजनीतिक सिद्धान्तमा बलियो पकड जमाउनका लागि चीनले यसरी इसाई धर्मावलम्बीलाई निशाना बनाएको विज्ञहरु बताउँछन् ।













प्रतिक्रिया