महाशिवरात्रिको सन्देश- क्रोध, मोह र लोभको विसर्जन « Khabarhub

महाशिवरात्रिको सन्देश- क्रोध, मोह र लोभको विसर्जन



महाशिवरात्रि हिन्दु धर्मावलम्बीका लागि केवल एउटा पर्व मात्र होइन, आत्मचिन्तन, साधना र शिवतत्वसँगको आत्मीय सम्बन्ध स्थापित गर्ने अत्यन्तै पवित्र अवसर हो। हिन्दु पात्रोअनुसार फागुन कृष्ण चतुर्दशीको दिन मनाइने यो पर्वलाई भगवान शिवको महापर्वका रूपमा लिइन्छ।

यस दिन श्रद्धालु रातभर जाग्राम बसेर भगवान शिवको आराधना गर्छन्, भजन–कीर्तनमा लीन हुन्छन् र कतिपयले कठोर उपवाससमेत बस्ने परम्परा छ। शिवलिङ्गमा जल, दूध, धतुरो र विशेष गरी बेलपत्र अर्पण गरेर मात्र उपवास खोल्ने चलन रहेको छ, जसले आत्मसंयम र भक्ति दुवैको सन्देश दिन्छ।

महाशिवरात्रि विशेषगरी महिलाका लागि अत्यन्तै महत्वपूर्ण पर्व मानिन्छ। अविवाहित युवतीले भगवान शिवजस्तै गुणवान्, धर्मपरायण र असल जीवनसाथीको प्रार्थना गर्छन् भने विवाहित महिला आफ्ना पति, सन्तान र परिवारको दीर्घायु, स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना गर्छन्।

धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भकालमै यही दिन मध्यरात्रिमा भगवान शिव निराकार ब्रह्मबाट रुद्ररूपमा अवतरित भएका थिए। प्रलयको समयमा शिवले ताण्डव नृत्य गर्दै आफ्नो तेस्रो नेत्रबाट निस्केको ज्वालाले ब्रह्माण्डलाई संहार गरेको कथन पनि शास्त्रमा पाइन्छ। यही कारण यो दिन ‘महाशिवरात्रि’ मात्र नभई ‘कालरात्रि’ पनि भनिन्छ।

महाशिवरात्रिसँग भगवान शिवको विवाहको कथा पनि जोडिएको छ। भनिन्छ, यही पवित्र दिन भगवान शिवले हिमवानकी पुत्री, अपार सुन्दरी तथा शीलवती देवी पार्वतीलाई अर्धाङ्गिनीका रूपमा स्वीकार गरेका थिए। बाह्य रूपमा शिवको रूप अत्यन्तै विचित्र देखिन्थ्यो-शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कण्ठमा विष, जटामा गङ्गा र मस्तकमा प्रलयंकारी ज्वाला। यति भयानक स्वरूप हुँदाहुँदै पनि शिवको अन्तरात्मा करुणा, वैराग्य र सत्यले भरिएको थियो। यही कारण उनी देवताका देव ‘महादेव’ का रुपमा पुजिन छ ।

समुद्र मन्थनको पौराणिक कथामा महाशिवरात्रिको महत्त्व अझ स्पष्ट हुन्छ। देवता र असुरबीच अमृत प्राप्तिका लागि समुद्र मन्थन भइरहँदा पहिलो पटक कालकूट नामक भयानक विष उत्पन्न भयो। यो विष सम्पूर्ण ब्रह्माण्डका लागि विनाशकारी थियो। सृष्टिको रक्षाका लागि भगवान शिवले त्यो विष स्वयं पान गरे र आफ्नो कण्ठमै रोके। विषको प्रभावले शिवको कण्ठ नीलो भयो, जसका कारण उनी ‘नीलकण्ठ’ नामले प्रसिद्ध भए।

शिवपुराणको ईशान संहिताअनुसार, फागुन कृष्ण चतुर्दशीको रात भगवान शिव करोडौं सूर्य समान तेजस्वी शिवलिङ्गका रूपमा प्रकट भएका थिए। यही रातलाई भगवान शिवको अत्यन्त प्रिय रात्रि मानिन्छ। धार्मिक विश्वासअनुसार मध्यरात्रि ईश्वर र मानवबीचको दूरी सबैभन्दा कम हुन्छ। यही कारण श्रद्धालुले महाशिवरात्रिको रातभर जाग्राम बसेर ध्यान, जप र साधनामा लीन हुने परम्परा विकसित गरेको पाइन्छ। रातभरि जाग्राम बस्दा मानसिक शुद्धता, संयम र आध्यात्मिक उन्नतिको अनुभूति हुन्छ।

महाशिवरात्रिमा शिवआराधनाको विशेष महत्त्व छ। शिवजीको पूजा अभिषेक बिना अपूर्ण मानिन्छ भने महामृत्युंजय मन्त्र जपलाई शिवसाधनाको आत्मा मानिन्छ। ‘ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात ।। मन्त्र जीवन, स्वास्थ्य र मोक्षको प्रतीक हो भन्ने विश्वास छ। यही कारण महाशिवरात्रिमा भक्तजनले विशेष जप र साधना गर्छन्। शिवलिङ्गको विधिपूर्वक पूजा र अभिषेकले भक्तको जीवनमा सकारात्मक ऊर्जा र आध्यात्मिक उन्नति ल्याउने विश्वास छ।

पौराणिक मान्यताअनुसार यही दिन भगवान शिव शिवलिङ्ग स्वरूपमा प्रकट भएका थिए। ब्रह्मा र विष्णुले सबैभन्दा पहिले शिवलिङ्गको विधिपूर्वक पूजा गरेका थिए। यही कारण महाशिवरात्रिमा विशेष विधि अनुसार शिवलिङ्गको पूजा–अर्चना गर्ने परम्परा विकसित भएको हो।

चित्रभानुको कथा : दया, करुणा र मोक्षको सन्देश

महाशिवरात्रिसँग जोडिएको सबैभन्दा मार्मिक र शिक्षाप्रद कथा शिकारी चित्रभानुको कथा हो। प्राचीन कालमा चित्रभानु नामक शिकारी जनावरको सिकार गरेर परिवार पाल्थे। ऋण तिर्न नसक्दा साहूले उनलाई शिवमठमा बन्दी बनाएर राखेको दिन ठ्याक्कै महाशिवरात्रि पर्‍यो। बन्दी अवस्थामा उनले शिवसम्बन्धी कथा सुने र अन्जानमै ब्रतको प्रभावमा परे।

रिहा भएपछि भोकले व्याकुल चित्रभानु सिकारको खोजीमा जंगल पुगे तर दिनभरि सिकार पाएनन्। रात परेपछि उनी बेलको रुखमा चढेर बसे। त्यो रुखमुनि बेलपत्रले ढाकिएको शिवलिङ्ग थियो भन्ने कुरा उनलाई थाहा थिएन। रातभरि भएका घटनाक्रममा उनले अन्जानमै बेलपत्र झार्दै शिवपूजा गरिरहेका थिए।

एक पहर रात्रि भएपछि एउटा गर्भवती मृग उक्त पोखरीमा पानी पिउन आइन् । शिकारीले धनुषमा तीर हालेर जसै प्रहार गर्न खोजे, मृगले भनिन्– म गर्भवती छु । चाँडै बच्चा पाउने छु । तिमी एकै साथ दुई जीवनको हत्या गर्दैछौं, यो ठीक होइन । म बच्चा पाउनेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु । त्यसपछि तिमीले मलाई मार ।

त्यो पोथी मृगको कुराले शिकारी अलमलमा पर्‍यो। उनले त्यो मृगलाई जान दियो । त्यो क्रममा उनको धनुषले लागेर केही बेलपत्र खसेर तल शिवलिंगमा पर्‍यो । नजानिँदो ढंगले शिकारीको पहिलो प्रहरको पूजा सम्पन्न भएको थियो ।

केहीबेरपछि अर्को मृग त्यहाँ देखपर्‍यो। शिकारी खुसीले गदगद बन्यो । जसै त्यो मृग रुख नजिक आइपुग्यो, शिकारीले धनुवाण ताक्यो । त्यो देखेर मृगले भन्यो, हे शिकारी, म आफ्नी प्रियको खोजमा भौंतारिइरहेकी छु । म आफ्ना पतिलाई भेट्नेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु ।

मृगको कुरा सुनेर शिकारी पुनः अलमलमा पयो। त्यतिखेर रात्रिको आखिरी प्रहर थियो । शिकारीले त्यो मृगलाई पनि जान दियो । अघिल्लो पटकमा जस्तै यस पटक पनि धनुष तान्दा र राख्दा केही बेलपत्र खसेर शिवलिंगमा पर्‍यो। उसको दोस्रो प्रहरको शिवपूजन पनि नजानिकनै सम्पन्न भयो ।

केहीबेरमा अर्को एउटा मृग आफ्ना बच्चाहरुलाई लिएर त्यहाँ देखापर्‍यो । यो शिकारीको लागि स्वर्णिम अवसर थियो । उनले धनुषमा वाण चढाएर जसै हान्न खोज्यो, मृगले भन्यो, हे शिकारी म यी बच्चालाई यिनको पितालाई जिम्मा लगाएर आउँछु । मलाई नमार ।

त्यो सुनेर शिकारी हाँस्यो र भन्यो, बल्लबल्ल फेला परेको शिकार कसरी छोडूँ ? म त्यस्तो मुर्ख छुइनँ । यसअघि पनि दुई पटक शिकार गुमाइसकें । मेरा बच्चाहरु भोकले तड्पिइरहेका होलान् । म तिमीलाई मार्छु ।

त्यो सुने मृगले भन्यो, हे शिकारी, जसरी तिमीलाई तिम्रा बच्चाको ममताले सताइरहेको छ, त्यसरी नै मलाई पनि सताइहेको छ । त्यसैले मलाई विश्वास गर, म यी बच्चाहरुलाई यिनका पितालाई जिम्मा लगाएर तुरुन्तै फर्कने प्रतिज्ञा गर्छु ।

मृगको कुरा सुनेर शिकारीमा दया जाग्यो । उसले त्यो मृगलाई पनि जान दियो । भोकको सुरमा व्याकुल शिकारीले बेलको पात टिप्दै तल फ्याँक्दै गयो । बिहान हुनै लाग्दा एउटा मोटोघाटो मृग त्यही बाटो भएर आयो । यस पटक पनि उनले घनुषमा बाण चढाएर हान्नै आटेका थिए, त्यो मृगले भन्यो, हे शिकारी, तिमीले यसअघि यताबाट गएका मृग र तिनका ससाना बच्चाहरुलाई मारेका हौ भने मलाई पनि तुरुन्तै मार ताकि मैले उनीहरुको वियोग सहनु नपरोस् ।

म ती तीन मृगका पति र ती बच्चा मृगहरुको पिता हुँ । तिमीले उनीहरुलाई मारेका छैनौं, जीवनदान दिएका छौ भने मलाई पनि केही बेरको लागि जीवनदान देऊ, म उनीहरुलाई भेटेर आफैं तिमीसमक्ष उपस्थित हुनेछु ।

त्यो सुनेर शिकारीको दिमागमा अघिल्ला घटनाक्रम चलचित्रका भाँती देखापर्यो। उनले सबै कथा मृगलाई सुनाए । त्यो सुनेर मृगले भन्यो, मेरा तीनवटै पत्नीहरु जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युबाट उनीहरुले आफ्नो धर्मको पालना गर्न सक्ने छैनन् । अतः जसरी तिमीले उनीहरुलाई विश्वास गरेर छाडिदिएका छौ, मलाई पनि छाडिदेऊ । म उनीहरुलाई सबैलाई लिएर तिमीसमक्ष चाँडै उपस्थित हुनेछु ।

मृगको त्यो टीठलाग्दो कुरा सुनेर शिकारीलाई दया लाग्यो । उनले त्यो मृगलाई पनि जान दियो ।बिहान भयो । उपबास, रात्रि जागरण तथा शिवलिंगमा बेलपत्र चढाएका कारण नजानिकनै शिकारीले शिवरात्रिको पूजा गरे । उनले अनजानमा गरेको त्यो पूजाको फल पनि तत्कालै प्राप्त भयो । उनको हिंस्रक मन निर्मल भयो । उनमा भगवानको शक्तिको वास भयो ।

केहीबेरमै त्यो भाले मृग सपरिवार शिकारी समक्ष उपस्थित भयो र आफूहरुलाई मार्न अनुरोध गर्‍यो । जंगली पशुहरुमा त्यस्तो सत्यता, सात्विकता र सामुहिक प्रेम भावना देखेर शिकारीलाई अति ग्लानि भयो । उसले त्यो मृगको परिवारलाई जीवनदान दियो ।

अनजानमै शिवरात्रिको ब्रतको पालना गरेका कारण शिकारीलाई मोक्ष प्राप्त भयो । उनको मृत्युकालमा यमराजका दूतहरु उनको आत्मालाई लिन आए । त्यसैबेला शिवका दूतहरु पनि आएर यमदूतहरुलाई रोके । उनीहरुले त्यो शिकारीलाई सशरीर शिवलोक गरे । यसरी महाशिवरात्रि धार्मिक कर्मकाण्डमा सीमित नभई आत्मसंयम, करुणा, सत्य, त्याग र आध्यात्मिक उन्नतिको प्रतीक बनेको छ।

साधुसन्त, योगी र तपस्वीहरूका लागि यो आत्मसाधनाको चरम दिन हो भने गृहस्थ जीवनमा रहेका मानिसका लागि आत्मसमीक्षा र नैतिक जीवनतर्फ उन्मुख हुने अवसर हो। यस पर्वले जीवनका भौतिक मोह, क्रोध र लालचलाई पन्छाएर मानव चेतनालाई उच्चतम आध्यात्मिक स्तरमा पुर्‍याउने सन्देश दिन्छ।

आज पनि महाशिवरात्रि युगौँदेखि मानव चेतनामा जीवित छ। यस पर्वले न केवल धार्मिक आस्था बलियो बनाउँछ, जसले जीवन मूल्य, करुणा र सामाजिक सद्भाव कायम राख्ने प्रेरणा पनि प्रदान गर्छ। भविष्यमा पनि महाशिवरात्रिको सांस्कृतिक र आध्यात्मिक महत्त्व यथावत रहनेछ, जसले मानिसलाई भगवान शिवको उपदेश-त्याग, धर्म, सत्य र सेवा-अनुसार जीवन यापन गर्न प्रेरित गर्नेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : २८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग