राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग « Khabarhub

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा पर्छन् । अझ उथलपुथलको अवस्थामा त फिल्मी गतिविधिहरू शून्यप्रायः नै हुन्छन् ।

महामारी र प्राकृतिक विपत्तिपछि नेपाली फिल्मलाई प्रमुखरुपमा प्रभावित पार्ने अर्को विषय राजनीति बनेको देखिन्छ । ‘राजनीति सहज र सामान्य भएको अवस्थामा मात्रै दर्शकहरू हलमा आउँछन्’ भन्ने मेकरहरूको भोगाइ र बुझाइ छ ।

राजनीतिक घटना तातेको बेला हलमा दर्शकको उपस्थित कमजोर नै देखिन्छ । यस्तो बेला फिल्मी गतिविधिले सामान्य अवस्थाको जस्तो चर्चा पाउँदैनन् । अकस्मात हुने राजनीतिक घटनाक्रमले फिल्म प्रदर्शन संघारमा रहेका मेकरहरू सधैँ मारमा पर्छन् ।

यो वर्षमा तीन राजनीतिक घटनाले रिलिज क्यालेन्डर भद्रगोल भयो । केही मेकरहरू नराम्रोसँग मारमा परे ।

जेन–जी आन्दोलन

गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले हिंसाको रुप लिँदा रिलिज क्यालेन्डर मात्रै भद्रगोल भएन, केही प्रदर्शनरत फिल्महरू नराम्ररी प्रभावित भए ।

यो आन्दोलको मुख्य मारमा परेको फिल्म ‘रिमै’ हो । भदौ २० बाट प्रदर्शनमा आएको यो फिल्मले २२ गतेसम्म एक करोड २७ लाख ग्रस कलेक्सन गरेको थियो ।

तर, चौथो दिन भदौ २३ गते आन्दोलन भयो । त्यसपछि मेकरले यो फिल्मको प्रदर्शन रोके ।

औसतमा दैनिक ४० लाखमाथि व्यापार गर्नुलाई उच्च अकुपेन्सी मान्न सकिन्छ । तर, यो फिल्मले व्यापारिक प्रगति रोक्ने कारण नै आन्दोलन बन्यो ।

व्यापार गरिरहेको फिल्म हलबाट निकाल्नु पर्दा मेकर मारमा परे । यो फिल्म अझै प्रदर्शनमा आएन ।

त्यस्तै, फिल्महरू ‘माग्ने राजा’, ‘कोशेढुंगा’ र ‘गुन्यू चोलो’ पनि यही आन्दोलनका कारण व्यापारिक मारमा परे ।

आन्दोलनले एक साता हल बन्द भयो । भदौ २७ को रिलिज डेट प्रभावित भयो ।

आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बन्यो । हिंसात्मक आन्दोलनपछिको राजनीतिक उथलपुथलले दर्शक हलमा जाने अवस्था बनेन ।

फिल्म रिलिजको सबैभन्दा प्राइम डेट मानिदै आएको दशैंमा प्रदर्शनमा आएका फिल्मले समेत दर्शक पाएनन् । जेन–जी आन्दोनले फिल्महरूको प्रदर्शन मिति सर्दा कात्तिकसम्म फिल्महरूले हलमा फिल्म जुध्ने क्रम चलिरह्यो ।

कांग्रेस विशेष महाधिवेशन

तत्कालीन समयको प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस गत पुस अन्तिममा विशेष महाधिवेशनमा होमियो ।

जेन–जीहरुले वृद्ध नेताको राजनीतिक विश्राम खोजेको बुझाइका साथ कांग्रेसका युवा नेताहरूको समूहले विशेष महाधिवेशन बोलायो । विशेष महाधिवेशन पनि जेन–जी आन्दोलनकै बाछिटा हो ।

माघ १ गते प्रदर्शनमा आएका तीन फिल्महरू ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’का प्रचारका गतिविधि यही विशेष महाधिवेशनको छायाँमा परे । फलतः फिल्महरूको व्यापार एकदमै कमजोर बन्यो । भदौको आन्दोलनले हल र दर्शकको दूरी बढाएसँगै मेकरहरू फिल्म प्रदर्शनमा ल्याउन हच्किएका थिए ।

माघ १ को घटनाले उनीहरूमा झन् व्यवसायिक असुरक्षा बढायो । कात्तिकदेखि यता माघ ९ सम्म प्रदर्शनमा आएका १६ वटा फिल्म लगातार फ्लप भए ।

केही फिल्महरूको प्रदर्शन मिति स्थगित भयो ।

चुनावको प्रभाव

अहिले मेकरहरू भन्छन्, ‘दर्शकलाई फिल्मप्रति चासो नै छैन । उनीहरूको ध्यान पूरा राजनीतिमा छ ।’

यही कारण फागुन १ प्रदर्शन मिति तोकिएका फिल्महरू ‘लालीबजार’ र ‘कल्ली’ हलमा लागेनन् । तर, सोही मितिमा ‘श्री बुकुरो’, ‘शिवांश’ र ‘बिगुल’ प्रदर्शनमा आए । ६ गते मेकरहरूले नै तीनै फिल्म हलबाट उतारे ।

फागुन २१ को चुनावको माहोलले दर्शकहरू हलमा नआएका बुझाइका साथ उनीहरूले फिल्म उतारेका थिए । फागुन पहिलो सातादेखि चुनावपछिको एक सातासम्म फिल्मी गतिविधि नै शून्य देखियो ।

गीत–ट्रेलर रिलिज, छायाङ्कन र निर्माण घोषणासम्म प्रमुख फिल्मी गतिविधि उक्त अवधिमा भएन ।

चुनावका कारण केही फिल्महरू हलबाट उतारिए । केहीको प्रदर्शन मितिपछि सर्‍यो । चुनावले रिलिज क्यालेन्डर भद्रगोल बनाउँदा फिल्म जुध्ने सम्भावना झन् बढेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : ४८ बजे

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका