जेन–जी आन्दोलन : भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण « Khabarhub

जेन–जी आन्दोलन : भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते नेपालमा भएको ऐतिहासिक ‘जेन–जी’ आन्दोलनको मुख्य कारण भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण रहेको एक सरकारी प्रतिवेदनले देखाएको छ । 

त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले अर्थ मन्त्रालयका लागि तयार पारेको ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकको अध्ययन प्रतिवेदनले सो देखाएको हो ।

प्रतिवेदनका अनुसार दुई दिनसम्म चलेको सो आन्दोलनमा ७७ जनाले ज्यान गुमाएका छन् । आन्दोलनको रापले देशका ७ प्रदेशका ५४ जिल्लाका २६२ स्थानीय तहलाई प्रत्यक्ष प्रभावित पारेको थियो । 

कुल भौतिक क्षतिमध्ये सरकारी क्षेत्रमा ५३ प्रतिशत (४४ अर्ब ९३ करोड), निजी क्षेत्रमा ४० प्रतिशत (३३ अर्ब ५४ करोड) र सामुदायिक क्षेत्रमा ७ प्रतिशत (५ अर्ब ९७ करोड) नोक्सानी भएको छ । आन्दोलनमा २,६७१ वटा भवन र १२,६५९ वटा सवारी साधनमा क्षति पुगेको छ, जसमध्ये बीमा भएका भवन ५ प्रतिशत र सवारी साधन २२ प्रतिशत मात्रै थिए ।

अध्ययनले आन्दोलनका पछाडि गहिरो सामाजिक, आर्थिक र सुशासनजन्य कारणहरू रहेको पुष्टि गरेको छ । सर्वेक्षणमा सहभागी ५५ प्रतिशत युवाले व्यापक भ्रष्टाचार र जबाफदेहिताको अभावलाई आन्दोलनको प्रमुख कारण मानेका छन् । त्यसैगरी २६ प्रतिशतले कमजोर सुशासन र राजनीतिक नेतृत्वप्रति घट्दो विश्वास तथा १२ प्रतिशतले बेरोजगारी र सीमित आर्थिक अवसरलाई कारण बताएका छन् ।

प्रतिवेदनअनुसार ९६ प्रतिशत उत्तरदाताले नेपालमा भ्रष्टाचारको स्तर ‘उच्च’ वा ‘अत्यन्त उच्च’ रहेको बताएका छन् । ८९ प्रतिशत उत्तरदाताले राजनीतिक नेतृत्वप्रति विश्वास घटेको स्वीकारेको र ६५ प्रतिशतले बढ्दो बेरोजगारीलाई आन्दोलनको कारक मानेका छन् ।

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशले युवालाई थप आक्रोशित बनाएको प्रतिवेदनको निष्कर्ष छ ।

आन्दोलनमा सहभागी युवाहरूको प्रोफाइलले रोचक तथ्य उजागर गरेको छ । सर्वेक्षणमा सहभागीमध्ये ९८ प्रतिशत युवा माध्यमिक वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेका शिक्षित युवा थिए । 

उमेरका हिसाबले ४५ प्रतिशत युवा १६ देखि २० वर्षका र ४३ प्रतिशत २१ देखि २५ वर्षका रहेका थिए । पेसागत रूपमा सहभागीमध्ये ६६ प्रतिशत विद्यार्थी र १७ प्रतिशत बेरोजगार युवा थिए । शिक्षित युवाहरूले आफ्नो योग्यता अनुसारको रोजगारी नपाउँदा उत्पन्न कुण्ठा नै आन्दोलनको रूपमा विस्फोट भएको प्रतिवेदनको विश्लेषण छ ।

आन्दोलनले तत्कालीन प्रधानमन्त्रीको राजीनामा र अन्तरिम सरकार गठनसम्मको राजनीतिक परिवर्तन ल्याए पनि निजी क्षेत्रको लगानीको वातावरणमा भने नकारात्मक असर पारेको छ ।

३६ प्रतिशतले लगानीको वातावरण बिग्रिएको बताएका छन् । यद्यपि, आन्दोलनपछि भ्रष्टाचार नियन्त्रणका प्रयासमा केही सकारात्मक दबाब सिर्जना भएको र सरकारी निर्णय प्रक्रियामा जबाफदेहिताको भावनामा केही सुधार देखिएको छ ।

अध्ययनले भविष्यमा यस्ता संकट दोहोरिन नदिन केही ठोस सुझावहरू समेत दिएको छ । राजनीतिक नियुक्तिहरू पारिवारिक आधारमा नभई खुला प्रतिस्पर्धा र योग्यताका आधारमा गरिनुपर्ने, शिक्षालाई सीपमूलक र रोजगारीमा आधारित बनाउँदै माध्यमिक तहमा अनिवार्य व्यावसायिक विषय र नैतिक शिक्षा राख्नुपर्ने, सेवा प्रवाहका लागि एकद्वार प्रणाली लागू गर्ने र अख्तियार जस्ता निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने र डिजिटल क्षेत्रको नियमन नियन्त्रणमुखी नभई अधिकारमैत्री र पारदर्शी हुनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।

जेन-जी आन्दोलन केवल क्षणिक आक्रोश नभई भ्रष्टाचार, कुशासन र अवसरको अभाव विरुद्धको सामूहिक प्रतिक्रिया भएको निष्कर्ष निकाल्दै प्रतिवेदनले युवालाई नीति निर्माणको मूल प्रवाहमा समेट्न सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : ४० बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका