गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए ।
समितिले १४ भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सो माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्डअन्तर्गत सहिद लखन गाउँपालिका–३ कान्टार नजिक भिरबाट खसेर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा मनकामनाको पूजाआजा गरी फर्केका तमिलनाडु राज्य, चेन्नईका सात जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
मृतकहरुको प्रदेश अस्पताल गोरखामा शवपरीक्षण गरी शव भारतीय दूतावासलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अन्य सात गम्भीर घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।













प्रतिक्रिया