नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’ « Khabarhub

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म नल्याएका दीपकराज गिरी यो पटक ‘छ माया छपक्कै २’ लिएर आउँदैछन् ।

हुन त दशैँ आउन अझै सात महिना बाँकी छ । तर, के गर्नु ? दशैँको लामो सार्वजनिक बिदाको फाइदा दिन मेकरहरू अहिलदेखि नै कसरतमा होमिइसके ।

हलवालाले दशैँमा तीनभन्दा बढी फिल्म लगाउन नसक्ने बताउँदै आएका छन् । तर, मेकरहरू बिदाकै लोभले त्यही मितिमा आँखा लगाउँछन् ।

अहिले नै दशैँमा प्रदर्शन मिति तोक्ने फिल्मको संख्या आधा दर्जन पुगिसक्यो । ‘१२ गाउँ २’, ‘डबल ट्रिपल’, ‘महाराजधिराज’, ‘बाटुलो जुन’, ‘झिँगेदाउ २’ र ‘आबाट आमा २’ ले यो दशैँलाई प्रदर्शन मिति तय गरेका छन् ।

तीन फिल्म प्रदर्शनमा आउँदा शो संख्या कम दिएको भन्दै मेकरहरूले असन्तुष्टि पोख्दै आएको अवस्थामा यति धेरै एक साथ हलमा लागे के होला ?

पहिला साना ब्यानारका फिल्महरू दशैँ प्रतिस्पर्धाबाट हट्दै आएका थिए । यो पटक ठूला ब्यानर, स्टार कलाकार र स्थापित मेकरहरू नै तम्सिएका छन् । तीन वटा त हिट फिल्मको सिक्वेल नै छन् ।

अनमोल केसी र पल शाह जस्ता स्टार पनि यो बक्स अफिसमा प्रतिस्पर्धामा होमिने देखिन्छ । पलको ‘आबाट आमा’ र अनमोल ‘बाटुलो जुन’मा शीर्ष भूमिकामा छन् ।

अब कसको कन्फिडेण्ट र इगो हाबी हुन्छ त्यो समय आएपछि थाहा भइहाल्छ ।

दीपकमाथि दशैँ कब्जा गरेको आरोप निरन्तर लाग्यो । चौथर्फी आक्रमणकै शिकारबाट आजित भएरै उनले गत दशैँबाट विश्राम लिए ।

तर, तुलाना गर्दा तीन फिल्म भन्दा उनको एकको ग्रस कलेक्सन बढी देखियो । दशैँ कब्जा गर्‍यो भनेर भयो त ?

गत दशैँका सबै फिल्म फ्लप भएपछि त्यसबेला दर्शकले दीपकको टिम नै खोजे । यसले उनको कन्फिडेन्ट बढेको पनि छ ।

यो पटक दशैँमा फिल्म ल्याउने भन्दै दीपकले सार्वजनिक अन्तर्वार्तामा बोलिसके । यहाँ रोचक प्रसंग के छ भने- गत दशैँमा फिल्म ‘१२ गाउँ’सँग दीपकको ‘छक्का पञ्जा ५’ जुधेको थियो ।

यही फिल्मको तर्फबाट नियोजित साइबार आक्रमण भएको दीपकको बुझाइ छ । अहिले दीपकको फिल्म ‘छ माया छपक्कै २’सँग ‘१२ गाउँ’को सिक्वेल जुध्ने भएको छ ।

अहिलेदेखि नै ‘१२ गाउँ’का निर्देशक तथा नायक विराज भट्ट र दीपकबीच छेड्खानी सुरु भइसक्यो ।

दीपकले केही दिन अघिको अन्तर्वार्तामा ‘छ माया छपक्कै २’भन्दा पहिला ‘१२ गाउँ २’ हेर्नु भनेर व्यङ्ग्य गर्न भ्याइसके । उनले भनेका थिए, ‘मेरो फिल्म दशैँमा नै आउँछ । ‘१२ गाउँ’को सिक्वेल पनि दशैँमा आयो भने पहिला त्यो हेर्नु अनि मात्रै मेरो हेर्नु ।’

हाँस्यकलाकार न परे दीपक । व्यङ्ग्य जानु त स्वभाविक भइहाल्यो नि ।

विराज भने दशैँमा बिदाको फाइदा लिन पल्किएकै छन्, त्यही ‘१२ गाउँ’बाट । यो पटक किन छाड्थे ? त्यहीमाथि दशैँमै आएर हिट भएको फिल्मको सिक्वेल हो । समय मिलाउन पनि त्यही उपयुक्त देखिन्छ ।

विराजले पनि दीपकलाई काउन्टर दिन भ्याइसके । उनले भनेका छन्, ‘दशैँ मेरो होइन न अरु मेकरहरूको हो । जो आए पनि हुन्छ ।’

अर्थात्, विराज दीपकको टिमबाट हच्किएका छैनन् । उनी भिड्न तयार छन् । अझ अरू फिल्म थपिए पनि केही फरक पर्दैन जसरी उनी प्रस्तुत भएका छन् ।

नयाँ वर्ष अगावै दशैँको बिदाका लागि यसरी छेड्खानी सुरु भइसक्यो । अझै ४-५ फिल्मका मेकरहरू मैदानमा आउन बाँकी नै छ । त्यसपछि के होला ? खैर, दर्शक भड्कने जोखिम नहोस् !

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ०८ बजे

रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौँ – रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। दोलखाबाट

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

बागमती– आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन

सरकारका प्रवक्ता पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित

आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित