पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू)  « Khabarhub

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङमा निर्माण गरिएको थारु सांस्कृतिक संग्रहालय अहिले लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ।

दंगीशरण गाउँपालिका–३ चखौरमा रहेको संग्रहालयले थारु समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, कला, संस्कृति तथा जीवनशैलीलाई मूर्तिमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ। संग्रहालय अवलोकनका लागि दैनिक सयौँदेखि एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

दाङ थारु समुदायको प्रमुख आधारभूमिका रूपमा परिचित छ। थारुका प्रथम राजा दंगीशरणले शासन गरेको जनविश्वासका आधारमा गाउँपालिकाको नाम दंगीशरण राखिएको मानिन्छ। संग्रहालय परिसरमा राजा दंगीशरणको प्रतिमा, ऐतिहासिक मूर्ति तथा नक्सासमेत राखिएको छ।

संग्रहालयभित्र थारु बस्तीको झल्को दिने परम्परागत घर, कोठा, धन्सार, देवस्थल, पूजा–पाठ गर्ने स्थान तथा जन्म र मृत्यु संस्कारसँग सम्बन्धित सामग्री सजाएर राखिएका छन्। थारु पुरुष तथा महिलाले प्रयोग गर्ने पोशाक, गहना, सांस्कृतिक नाचगानका भेषभूषा र श्रृंगारका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ।

यहाँ दाङ, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र मोरङलगायत क्षेत्रमा बसोबास गर्ने थारु समुदायको जीवनशैली, परम्परा र संस्कृतिसँग सम्बन्धित सामग्री संरक्षण गरिएको छ। संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने कृषि औजार, माटाका भाँडा, ढकिया, गुन्द्री, काठका चप्पल, चाँदीका गहना तथा खेतबारीमा प्रयोग हुने उपकरणसमेत राखिएका छन्।

करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको संग्रहालयमा दुई सयभन्दा बढी मूर्ति निर्माण गरिएको छ। यहाँ पुरानो तथा नयाँ संग्रहालय भवन, विश्राम गृह, थियटर हल, पुस्तकालय, रेकर्डिङ स्टुडियो, कोशेली घर, पाहुना घर, रेष्टुरेन्ट तथा सभाहल सञ्चालनमा छन्। रेष्टुरेन्टमा थारु समुदायका परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ भने पर्यटकका लागि आवास सुविधासमेत उपलब्ध छ।

संग्रहालयमा थारु समुदायको माछा मार्ने परम्परागत सामग्री, कुलो, झरना तथा सांस्कृतिक प्रतिमाले थप आकर्षण थपेका छन्। पर्यटकलाई संग्रहालयबारे जानकारी दिन गाइडको व्यवस्था गरिएको छ।

संग्रहालयका कारण स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै तरकारी, माछा, घुँघी तथा स्थानीय परिकार उत्पादन र बिक्रीमार्फत सयौँ स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुगेको छ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १२ : ५३ बजे

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार तेस्रो दिनमा

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको