काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।
अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नरहेको बताइएको छ । आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।
नेपाल नेत्रज्योति सङ्घको ३० औँ केन्द्रीय सभाको अधिवेशनमा सङ्घका सस्थापक प्रा डा रामप्रसाद पोखरेल, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीलाई प्रदान गरे ।
सो अवसरमा नगरप्रमुख पन्थीले आफूले कार्यपालिकाको पहिलो बैठकबाट आँखा उपचार सेवा सबै नागरिकको पहुँचमा पुर्याउने निर्णय गरेको जानकारी दिँदै अहिले नगर क्षेत्रमा आर्थिक अभावका कारण नगरवासी आँखा उपचार सेवाबाट वञ्चित हुन नपरेको बताए ।
उनले भने, ‘आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।’
उनका अनुसार नगरपालिकाले गुल्मी अस्पतालमा मिर्गौलाका बिरामीको लागि डायलासिस सेवा सञ्चालन गर्न सहयोग गरेको छ । यसबाट हाल ४० जना बिरामी लाभान्वित भइराखेका छन् । साथै दम तथा निमोनियाका बिरामीका लागि नगरपालिकाले घर घरमा नै अक्सिजन कन्सट्रेटर उपलब्ध गराइरहेको छ ।
यसबाट करिब २०० बिरामी लाभान्वित भएका जनाइको छ । सङ्घले सो सम्मान गोरखा नगरपालिकालाई पनि प्रदान गरेको थियो ।
समाजसेवी सापकोटा सम्मानित
सोही अवसरमा गुल्मीका समाजसेवी कृष्णहरि सापकोटालाई पनि नेत्रज्योति विशिष्ट सम्मान अर्पण गरिएको थियो ।
उनले मुसिकोट नगरपालिका वडा ७ स्थित एकरोपनी जमिन सहित जमिनमा साढेदुई तल्ला भवन बनाइ नेपाल नेत्रज्योती सङ्घ गुल्मीशाखालाई हस्तान्तरण गरेका थिए ।
यसको मूल्य करिब दुई करोड ५० लाख रुपैयाँ बराबर रहेको जनाइएको छ । हाल सो भवनमा सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्र सञ्चालित रहेको छ ।
सो अवसरमा कोशी प्रदेशसभाका उपसभामुख दनुवार, सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा पन्त, महासचिव भरतबहादुर चन्द र रेसुङ्गा नगरप्रमुख पन्थीले समाजसेवी सापकोटाको सहयोगलाई सबैलाई अनुकरणीय रहेको चर्चा गरे ।












प्रतिक्रिया