अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै « Khabarhub

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै



काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा मंगलबार बिहान अफ्रिकन जायन्ट इजिप्ट र युरोपियन पावरहाउस बेल्जियमबीच प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको वाशिङ्टन राज्यस्थित सियाटल स्टेडियममा हुने खेल दुबै टोलीका लागि उत्तिकै महत्वपूर्ण मानिएको छ । बेल्जियम एकातिर अपराजित लयमा रहेको छ भने अर्कोतिर इजिप्टलाई स्टार फरवार्ड मोहम्मद सलाहको बलियो साथ छ ।

रुडी गार्सियाको प्रशिक्षणमा बेल्जियम पछिल्ला १३ खेलदेखि अपराजित छ। विश्वकपअघि खेलेको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियमले ट्युनिसियालाई ५–० ले पराजित गरेको थियो । यो खेलमा पाँच फरक खेलाडीले गोल गरेका थिए ।

सन् २०२५ को जनवरीमा डोमेनिको टेडेस्कोको स्थानमा नियुक्त भएका गार्सियाले सुरुआती खेलमा हार ब्यहोरेपनि त्यसपछि टोलीलाई एकपछि अर्को जित दिलाउँदै आएका छन् । उनले बेल्जियमलाई यूएफा नेसन्स लिगको ‘लिग ए’ बाट रेलिगेसन हुनबाट जोगाए भने त्यसपछि विश्वकप छनोटमा टोलीलाई पनि अपराजित राखे ।

बेल्जियम विश्वकप छनोटमा आफ्नो समूहको शीर्ष स्थानमा रहँदै प्रतियोगिताका लागि छनोट भएको थियो । छनोट चरणमा टोलीले २९ गोल गरेको थियो । यो युरोपेली टोलीको सबैभन्दा उत्कृष्ट प्रदर्शनमध्ये एक हो । बेल्जियमभन्दा अघि नर्वेले मात्र ३७ गोल गर्दै बेल्जियमभन्दा बढी गोल गरेको थियो ।

डोकुमाथि हुनेछ विशेष जिम्मेवारी

बेल्जियमका सबैभन्दा प्रभावशाली खेलाडी म्यानचेस्टर सिटीका विङ्गर जेरेमी डोकु हुन् । उनले छनोट चरणमा ५ गोल गर्नुका साथै २ गोलमा असिस्ट दिएका थिए । समग्रमा बेल्जियमले गरेका करिब एक चौथाइ गोलमा उनको प्रत्यक्ष योगदान थियो । ट्युनिसियाविरुद्धको पछिल्लो खेलमा पनि उनले २ असिस्ट दिएका थिए ।

यता बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकु फिटनेस समस्याबाट पूर्ण रूपमा मुक्त भइसकेका छैनन् । प्रशिक्षक गार्सियाले उनको शारीरिक अवस्था अझै शतप्रतिशत फिट नभएको संकेत दिएका छन् ।

२०२५–२६ सिजनमा पटक–पटक मांसपेशीको चोटका कारण मैदान बाहिर रहेका लुकाकुले आफ्नो पुरानो लय गुमाएका छन् । यद्यपि उनी बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी भएकाले विश्वकपमा प्रभाव छोड्न आतुर छन् ।

यस विश्वकपलाई बेल्जियमको ‘स्वर्णिम पुस्ता’ का बाँकी खेलाडीहरूका लागि सम्भावित अन्तिम विश्वकपका रूपमा पनि हेरिएको छ ।

जन्मदिनमै देशलाई जित दिलाउने लक्ष्यमा सलाह

इजिप्टका कप्तान मोहम्मद सलाहका लागि यो खेल अझ विशेष हुनेछ। खेलकै दिन उनले आफ्नो ३४औँ जन्मदिन मनाउँदैछन् । त्यसैले विश्वकपको पहिलो खेलमै देशलाई ऐतिहासिक जित दिलाएर जन्मदिन सम्झनलायक बनाउने उनको लक्ष्य हुनेछ ।

लिभरपुलसँग बितेको सिजन सलाहका लागि अपेक्षाअनुसार सफल रहेन । उनले लिगमा १४ गोल तथा असिस्ट मात्र गरेका थिए । यसलाई सन् २०१४–१५ यताकै उनको कमजोर प्रदर्शन मानिएको छ । त्यसैले विश्वकपलाई आफूलाई पुनः प्रमाणित गर्ने अवसरका रूपमा पनि उनले लिएका छन् ।

यद्यपि राष्ट्रिय टोलीका लागि उनको योगदान अत्यन्त प्रभावशाली छ । विश्वकप छनोट चरणमा इजिप्टले गरेकामध्ये ६० प्रतिशत गोलमा सलाहको प्रत्यक्ष भूमिका थियो । उनले ९ गोल गरेका थिए भने ३ गोलमा असिस्ट दिएका थिए ।

तयारी खेलमा मिश्रित नतिजा

विश्वकपअघि खेलेका दुई महत्वपूर्ण तयारी खेलमध्ये एकमा इजिप्टले रुसलाई १–० ले हराएको थियो भने अर्को खेलमा ब्राजिलसँग २–१ ले पराजित भएको थियो । ब्राजिलविरुद्धको खेलको दोस्रो हाफमा सलाह मैदानमा थिए ।

यद्यपि इजिप्टका लागि सकारात्मक पक्ष के छ भने टोली कुनै चोटपटकको समस्याबिना प्रतियोगितामा प्रवेश गरेको छ । प्रशिक्षक होसाम हसनले रक्षात्मक रणनीति अपनाउने सम्भावना छ । यसले सलाह र ओमार मारमुशलाई काउन्टर आक्रमणमा स्वतन्त्रता दिने अपेक्षा गरिएको छ ।

हेड-टु-हेडमा इजिप्टको दबदबा

बेल्जियम र इजिप्ट विश्वकपमा पहिलोपटक एक अर्काविरुद्ध खेल्न लागेका हुन् । तर मैत्रीपूर्ण खेलहरूमा भने बेल्जियमविरुद्ध इजिप्टको प्रदर्शन राम्रो रहेको छ । हालसम्म दुवै टोलीबीच चार खेल भएका छन् । यसमा इजिप्टले तीन खेल जितेको छ भने बेल्जियमले एक खेल मात्र जितेको छ । नोभेम्बर २०२२ मा कुवेत सिटीमा भएको पछिल्लो भेटमा इजिप्ट २–१ ले विजयी भएको थियो ।

यद्यपि विश्वकपको इतिहास हेर्दा बेल्जियम अफ्रिकी टोलीविरुद्ध सफल देखिन्छ । अफ्रिकी राष्ट्रहरूसँग खेलेका पाँच विश्वकप खेलमध्ये बेल्जियमले तीनमा जित, एक बराबरी र एक खेलमा हार व्यहोरेको छ । त्यो हार सन् २०२२ को विश्वकपमा मोरक्कोसँग २–० को थियो, जसका कारण बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो ।

कसले जित्ला ?

एकातिर पछिल्ला १३ खेलदेखि अपराजित बेल्जियम छ । यो टिममा केभिन डे ब्रुएना, जेरेमी डोकु, रोमेलु लुकाकु र थिबाउट कोर्टुवाजस्ता विश्वस्तरीय खेलाडी छन् । अर्कोतर्फ इजिप्टमा मोहम्मद सलाह, ओमार मारमुश र ट्रेजेगुएटजस्ता खेलाडी छन्, जसले बेल्जियमलाई कडा चुनौती दिने क्षमता राख्छन् ।

विश्वकपको पहिलो खेल भएकाले दुवै टोली दबाबमा हुनेछन् । तर बेल्जियम आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ भने इजिप्ट सलाहको प्रेरणामा इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । त्यसैले सियाटलमा हुने यो खेल समूह ‘जी’ कै मात्र होइन, प्रतियोगिताकै सबैभन्दा रोचक प्रारम्भिक खेलमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ५ : ५४ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि