काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिणी राज्य आन्ध्र प्रदेशको तटीय सहर भिजागमा देशको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो विमानस्थल वृद्धिको मार्ग र राज्यका युवाहरूको उज्ज्वल भविष्यको प्रस्थानविन्दु भएको बताएका छन् । सो अवसरमा उनले आफू सत्तामा आएको वर्ष सन् २०१४ मा भारतमा ७४ वटा मात्र सञ्चालनमा रहेका विमानस्थलहरू रहेकोमा हाल त्यसको सङ्ख्या बढेर १६६ पुगेको जानकारी दिए ।
अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय नाम दिइएको यो विमानस्थल ५६ अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा २ हजार २०० एकड जग्गामा निर्माण गरिएको हो । जिएमआर समूहको कम्पनीद्वारा सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत डिजाइन, निर्माण, लगानी, सञ्चालन र हस्तान्तरण मोडलमा यो विमानस्थल बनाइएको हो । यस विमानस्थलबाट अगस्ट १७ देखि व्यावसायिक उडानहरू सुरु हुनेछन् । सुरुमा वार्षिक ६ मिलियन यात्रुलाई सेवा दिन सक्ने क्षमता रहेको यस विमानस्थलको क्षमतालाई पछि बढाएर ४० मिलियनसम्म पुर्याउन सकिनेछ ।
खराब तटीय मौसमलाई समेत धान्न सक्ने गरी निर्माण गरिएको यस विमानस्थलको सञ्चालन केन्द्रमा वास्तविक समयको विमानस्थल व्यवस्थापनका लागि कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । मोदी सरकारले यस नयाँ विमानस्थललाई पूर्वी एसिया र भारतका आन्ध्र प्रदेश तथा छिमेकी राज्य उडिसाबीचको कनेक्टिभिटीलाई अझ सुदृढ बनाउने पूर्वी गेटवेका रूपमा परिकल्पना गरेको छ । माइक्रोसफ्ट, गुगल र रिलायन्सजस्ता ठूला कर्पोरेट संस्थाहरूले यस क्षेत्रमा डाटा सेन्टर स्थापना गर्ने योजना घोषणा गरिसकेका कारण यो विमानस्थल यस क्षेत्रको आर्थिक राजधानी बन्ने जिएमआर समूहले जनाएको छ ।












प्रतिक्रिया