काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय भेलाबाट पाँचवटा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। गत शुक्रबारदेखि काठमाडौंमा जारी राष्ट्रिय भेलामा शनिबार पाँचवटा प्रतिवेदन प्रस्तुत भएका थिए।
पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको सांगठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले पेस गरेको कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन्।
शनिबार प्रस्तुत गरिएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागीहरूलाई विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहमा सहभागी नेताहरूले प्रस्तावमा समेटिनुपर्ने विषय तथा आवश्यक परिमार्जनबारे सुझाव दिएका थिए।
भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव राखिएको बताए। १५औँ महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले संयोजन गर्दै जाने प्रस्तावसमेत गरिएको उनले जानकारी दिए।
‘१५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। महाधिवेशनसम्म पार्टीका नियमित कामकारबाही सभापतिको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले संयोजन गर्दै जानुहुनेछ,’ निधिले बताए।
त्यस्तै, नेता डा. प्रकाशशरण महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै प्रजातान्त्रिक समाजवादको जगमा उभिएर मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताए।
किसानले समयमा मल नपाउने, उत्पादनको उचित मूल्य नपाउने र प्रविधिको अभाव खेप्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै महतले किसानका समस्या कांग्रेसको मुख्य एजेन्डा बन्नुपर्ने बताए। संविधानमा रहेका कतिपय विरोधाभासका बाबजुद कांग्रेसले आफ्नो मौलिक सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई नछाड्ने उनको भनाइ थियो।
यस्तै, कार्यक्रममा बोल्दै नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले गरेको निर्णय सर्वोच्च अदालतले बदर गर्नेमा आफूहरू विश्वस्त रहेको बताए। उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुनर्बहाली हुने दाबी गरे।
संकटबाट गुज्रिरहेको देशलाई निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै सिटौलाले उक्त जिम्मेवारी पूरा गर्न पार्टीभित्र बृहत् एकताको आवश्यकता रहेको बताए।
यसैबीच, नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५औँ महाधिवेशनको तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ। देउवा पक्षले महाधिवेशनको तयारीसँगै पार्टीभित्रको विवाद समाधान र संगठनलाई एकताबद्ध बनाउने विषयलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।












प्रतिक्रिया