सामाजिक सञ्जालले फेरिएको व्यापार शैली « Khabarhub

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे ।

म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ । ‘सामाजिक सञ्जाल ‘टिकटक’ र ‘फेसबुक’मा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन, कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ,’ उनले भने, ‘यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे ।’

थापा जस्तै रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमहलगायत म्याग्दीका स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ ।

‘फेसबुक र टिकटकमार्फत सामानको प्रचार गर्न थालेपछि बजार निकै फराकिलो भयो’, सञ्चालक थापाले भने, ‘पहिला यहाँका स्थानीय उपभोक्तामै सीमित थियौँ । अहिले सामान भए ग्राहकको कमी छैन ।’

दश वर्ष म्याग्दीको गैरसरकारी संस्था र पाँच वर्ष सहकारीको प्रबन्धक भएर काम गरेकी थापाले २०७७ सालमा आफ्नै घरमा सुरु गरेको व्यवसाय सञ्चालनका लागि ज्ञान, सीपको कमीले घाटा ब्यहोर्नु परेको स्मरण गरिन् ।

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि नयाँ अनुभव प्राप्त भयो । अध्ययन भ्रमण र तालिमका कारण व्यवसायको शैली परिवर्तन गरेपछि सफलता मिलेको थापाले सुनाइन् ।

कृषक र उद्यमीबाट ल्याएको सामान उनले ‘फेसबुक पेज’ र ‘टिकटक’मार्फत सार्वजनिक गर्ने गरेकी छिन् । सामाजिक सञ्जालमा राखिएका उत्पादनका तस्बिर तथा भिडियो हेरेर सामान खरिद गर्न आउँछन् । उनका अनुसार बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीले समेत सामाजिक सञ्जालमार्फत सामानको माग गर्न थालेका छन् ।

स्थानीय ग्राहक आफैँ पसलमा आएर सामान लैजाने गरेका छन् । देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाउने गरिएको छ । विदेशमा रहेका ग्राहकका आफन्त पसलमा आएर सामान खरिद गर्ने गरेका छन् ।

सामाजिक सञ्जालकै कारण पसलसम्म आउने ग्राहकको सङ्ख्यासमेत बढेको थापाको अनुभव छ । ‘सामाजिक सञ्जालमा पसल र सामान देखेर गाडी लिएर पसल हेर्न आउने ग्राहक पनि हुनुहुन्छ’, उनले भनिन् ।

हाल थापा लोकल मार्टबाट वार्षिक ३५ देखि ४० लाखसम्मको कारोबार हुने गरेको छ । सबै खर्च कटाएर वार्षिक सात लाखसम्म बचत हुने गरेको थापा बताउँछिन् ।

व्यवसायमा उनका श्रीमान् खुमबहादुर थापा र दुई छोराछोरीले सहयोग गर्दै आएका छन् । कामको चाप बढेका बेला स्थानीय मजदुरलाई समेत आंशिक रोजगारी दिने गरिएको छ ।

स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँमा उत्पादन भएका वस्तुले बजार पाउने र उत्पादकले आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसर बढेको छ ।

स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकसम्म पु¥याउन सके साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने थापाको अनुभव छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ७ : ५३ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर