काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार बिहान सडकको माथिल्लो भागबाट पहिरोसहित ढुङ्गा–माटो खसेर सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खुदीबाट प्रहरी सहायक हवल्दार रामकुमार श्रेष्ठको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको उनले जानकारी दिए ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । खरखरे भिर प्रहरी चौकी खुदीबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ ।
खरखरे भिरमा वर्षायाममा पटकपटक पहिरो खस्ने गरेको छ । यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको थियो । वर्षा जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको र सडक खुलाउने क्रममा समेत सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया