न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र ऊर्जा पूर्वाधारलाई समेत लक्षित गरी भएका हुथी आक्रमणको कडा निन्दा गर्दै यमनमा जारी सैन्य गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । परिषद्का सदस्यहरूले बिहीबार जारी वक्तव्यमा साउदी अरबमाथि भइरहेका निरन्तर र बढ्दो आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।
उनीहरूले लाल सागर र बाब अल मन्डेब जलघाँटीमा व्यापारिक जहाजमाथि भइरहेका आक्रमण तथा धम्कीप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेका छन् । उनीहरूले व्यावसायिक जहाज र तिनका चालक दलका सदस्यको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै समुद्री गतिविधिमा अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आग्रह गरेका छन् ।
विशेषगरी समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको सम्मान गर्न तथा समुद्री मार्गमा आवागमनको अधिकार र स्वतन्त्रता कायम राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । परिषद्का सदस्यहरूले हुथीहरूलाई यमनमा सैन्य गतिविधि तत्काल रोक्न माग गरेका छन् । हिंसा, जबरजस्ती वा बल प्रयोगबाट यमनमा दिगो शान्ति स्थापना हुन नसक्ने स्पष्ट पार्दै उनीहरूले राजनीतिक समाधानप्रतिको समर्थन पनि दोहोर्याएका छन् ।














प्रतिक्रिया