महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज « Khabarhub

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज



काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली बनेका छन् । नौ महिनामै विशेष र नियमित गरी दुई वटै महाधिवेशन सम्पन्न गरी थापा सभापतिमा निर्वाचित भएका थिए । १५ औँ महाधिवेशनमा थापाले ६ हजार ५८४ मत पाउँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले केबल ३ सय ७५ मत पाए । विद्यार्थी जीवनबाट राजनीति थालेका गगनले ५० वर्षको उमेरमा पार्टीको शक्तिशाली पद पाएका हुन् । थापाले ०३६ सालमै बाल कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए ।

२०६७ मा भएको कांग्रेसको १२ औँ महाधिवेशनमा लोकप्रिय मत पाएर केन्द्रीय सदस्य जितेका उनी १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भए । १४ औँ महाधिवेशनबाट भने उनी शेखर कोइराला प्यानलबाट शक्तिशाली महामन्त्री बने । त्यसपछि उनले पार्टी रुपान्तरण र पुनर्गठनको मुद्दा बलियो रुपमा उठाउँदै आएका छ्न । गत पुष अन्तिम साता विशेष महाधिवेशनबाट निर्वाचित भएका थापा १५ औँ नियमित महाधिवेशनबाट पनि लोकप्रिय मतका साथ विजयी हुँदा उनले आफूलाई काम गर्ने सहज हुनेगरी टिम पनि पाएका छन् ।

उसो त पूर्वसभापति शेरबहादुर देउवा पक्षले थापाले एकलौटी महाधिवेशन गरेर मनलाग्दी रुपमा पार्टी चलाएको आरोप लगाइरहेका छ । तर, निर्वाचनको प्रक्रियामार्फत चुनिएका सभापति भएकाले अब उनी झन् बलिया देखिएका छन् । कांग्रेसमा थापा मात्रै नभई उनको दाहिने हातका रुपमा हेरिएका झापाका नेता विश्वप्रकाश शर्मा पनि थप शक्तिशाली देखिएका छन् । यस महाधिवेशनबाट वरिष्ठ उपसभापति पदमा निर्विरोध निर्वाचित उनी आगामी महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा उभिएका छन् ।

विश्वले गगनलाई साथ नदिएको भए विशेष महाधिवेशन पनि सम्पन्न नहुने जानकारहरु बताउँछन् । विश्व र गगनबीच केमेस्ट्री मिलेका कारण कांग्रेस रुपान्तरण, पुस्तान्तरण र परिवर्तनको एजेन्डामा अरु पार्टीभन्दा सशक्त देखिएको हो । थापा दुबै महाधिवेशनबाट सभापति बनेपनि कांग्रेसको आधिकारिताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । बिगत १० महिनादेखि कांग्रेसको आधिकारिता सम्बन्धी विवाद कायम छ ।

नेकपा एमालेमा केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीमा पुष्पकमल दाहाल तथा माधव नेपालको वर्चस्व रहँदा नेपाली कांग्रेसमा भने गगन र विश्वले रूपान्तरण र पुस्तान्तरणको एजेण्डालाई अङ्गिकार गरेको राजनीतिक विश्लेषक सञ्जीव हुमागाईं बताउँछन् । खबरहबसँगको कुराकानीमा हुमागाईंले भने, ‘प्रक्रिया अनुसार महाधिवेशन सम्पन्न गरेर गगन थापा अझै कम्फर्ट जोनमा पुगेको देखिन्छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसले एउटा फैसला गर्ला । तर, कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र पार्टी पुनर्गठनको एजेण्डामा गगन विश्व सफल भए ।’ हुमागाईंले भने, ‘कांग्रेसले नै पुनर्जीवन पाउने अवस्था देखिन्छ । अब स्थानीय तहको निर्वाचन यसका लागि परीक्षणकाल हुन सक्छ । गगन थापा र पार्टीसामु थुप्रै चुनौती पनि उत्तिकै छन् । तिनलाई मिलेर समाधान गर्नु चाहिँ नेतृत्वको अब्बल खुबी हुन्छ ।’

टिम पनि सहज

गत असार १ गते पूर्वसभापति शेरबहादुर देउवाका ५२ जना विश्वासपात्रहरु संस्थापनतर्फ आएका थिए । पूर्वसभापति शेरबहादुर देउवाका साझेदारहरू गगनसँग आउँदा देउवालाई चुनौती देखिन्थ्यो । हाल देउवा पक्षले मङ्सिरमा नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको छ । तर असार १ गते देउवा पक्षको सम्पर्क कार्यालय चुनदेवीबाट संस्थापनको मुख्यालय सानेपा आएका सबैजसो नेताहरु यस महाधिवेशनबाट पछि परेको देखियो ।

यति मात्र होइन कांग्रेसलाई वैचारिक र पुस्तान्तरणको एजेण्डामा चलाउनुपर्छ भन्ने मुद्दा उठाइरहेका डा. शेखर कोइराला पक्ष पनि झन् अन्यौलमा देखिएका छन् । उनीसँग रहेका केही नेता गगन र केही देउवा पक्षमा लाग्दा उनी भने चुपचाप छन् । कोइराला पक्षबाट उपसभापतिमा उठेका थुप्रै नेताहरू पराजित भए । यस्तै, महामन्त्री र सहममन्त्रीमा उठेका नेताहरु पनि पराजित भए ।

कांग्रेसका पाँच जना सहमहामन्त्री रहनेगरी विधान संशोधन हुँदा पनि देउवा पक्षबाट संस्थापनमा आएका नेतामध्ये एक जनाले पनि जित हासिल गर्न सकेनन् । महाधिवेशनको मुखैमा वरिष्ठ उपसभापति पद सिर्जना गरेर विश्वप्रकाशलाई सर्वसम्मत बनाइदिए । महिला उपसभापतिमा पनि विशेष महाधिवेशनबाट उपसभापति बनेकी पुष्पा भुसाल भित्रिन् । खुल्ला दुई उपसभापतिमा पनि थापा पक्षकै नेताहरू आए । लोकप्रिय नेता चन्द्र भण्डारी र अर्का पुराना नेता मधु आचार्य खुला उपसभापतिमा भित्रिए । रोचक कुरा के छ भने समावेशी उपसभापतिमा विनोद चौधरी र जीवन परियार लगायतका नेताहरूको प्रतिस्पर्धा भएको थियो । त्यसमा देउवा पक्षकी नेतृ भनिएकी सीता गुरुङ एक्लि महिला थिइन् ।

तर उनी तेस्रो हुँदा विनोद चौधरी प्रथम र जीवन परियार दोस्रो भए । अहिले विनोद चौधरीले समावेशी कोटामा निर्वाचन लड्नुपर्ने थियो कि जीवन परियारलाई ल्याउनुपर्ने थियो भन्ने उठिरहेको छ । तर, यो विषयमा गगनले कुनै प्रतिक्रिया दिएका छैनन् । यसबारे चौधरीसँग पराजित भएका परियारलाई खबरहरुले यसबारे प्रश्न सोधेको थियो । जवाफमा उनले बिपी कोइराला र सुवर्ण शमशेरलाई सम्झिए।

उनले भने, ‘प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसको स्थापना हुँदा दलित कोटा छुट्याइएको थिएन । त्यसबेला पनि सभापतिपछिको बलियो महामन्त्री पदमा बीपीले दलितको छोरालाई निर्वाचित गराउनुभएको थियो । सुवर्णले पनि १२ जनाको केन्द्रीय कार्यसमितिमा दलितलाई छुट्टै अवसर दिनुभएको थियो । तर हामी अहिलेको कांग्रेसमा नेतृत्व कसरी अघि बढ्दैछ भन्ने हिसाब आफै राखौँ ।’ भावुक हुँदै परियारले भनेका थिए, ‘हामीले आदर्शको कुरा मुखबाट मात्रै गरेर हुँदैन रहेछ । कांग्रेस साँच्चिकै रूपान्तरण हुने हो भने यस्ता साना साना कुरालाई हेर्नुपर्छ । विधानको विषयमा मलाई कमेन्ट गर्नु छैन । म आफैँ बसेर बनाएको विधान हो । तर नैतिकताको कुरा महत्वपूर्ण हुन्छ । विनोद चौधरी र जीवन परियार समावेशी कोटामा भिड्न मिल्छ तर कसको कति नैतिकता हुन्छ भन्ने कुरा चाहिँ मुख्य हो ।’

संगठनात्मक र संरचनात्मक हिसाबले पार्टी सभापतिपछि बलियो पद महामन्त्रीमा पनि गगनले आफ्नै विश्वास पात्रहरू पाएको देखिन्छ । महामन्त्रीमा देउवा पक्षका नेता नैनसिंह महर, शेखर पक्षका सुनिल शर्मा लगायतहरू पराजित हुँदा प्रदीप, डिला र उदय निर्वाचित भए । महामन्त्रीमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल आउँदा अर्का उदयशमशेर राणा आए । उदयशमशेरको उदयलाई सम्भ्रान्त राणा परिवारको छोरा भएको विषयसँग तुलना गर्ने गरिन्छ । तर गगन र उदयको केमेस्ट्री भने सुरुवातदेखि नै मिल्दै आएको छ । उदयसँगै अर्की महामन्त्री डिला संग्रौला पनि गगनका लागि सहज नेतृ हुन् । उनी पनि विशेष महाधिवेशनदेखि नै गगन थापालाई बलियो साथ दिँदै आएकी थिइन् ।

गगन पक्षका युवा नेता शंकर तिवारी र गुरु घिमिरे महामन्त्रीमा पराजित भए । तर उनीहरू पराजित भएपनि गगनले सहज टिम भने पाएको विश्लेषण गरिएको छ । सहमहामन्त्रीमा पनि गगनका लागि सहज टिम छ । उनले बहुमत पदाधिकारी नै आफ्नो पक्षको पाएको देखिन्छ ।

केन्द्रीय सदस्यमा पनि शेखर-देउवा पक्षका पुराना नेताहरू पराजित भए । गगन पक्षका र विशेष महाधिवेशनमा खुलेका नेताहरु केन्द्रीय सदस्यमा विजयी भए । सहमहामन्त्रीमा निर्वाचित अजयबाबु शिवाकोटी, महिला सहमहामन्त्रीमा विजयी भएकी प्रतिमा गौतम पनि गगन टिमकै मान्छे हुन् । पिछडिएको क्षेत्रबाट विजय भएका जीवनबहादुर शाही र मधेसी क्लस्टरबाट विजय भएका फिरदोस आलम पनि गगन टिमकै नेता हुन् । यता देउवा पक्षका सहमहामन्त्रीमा दलिततर्फ गगन टिमकै प्रकाश स्नेही विजय भएका छन् ।

गगन सामु थुप्रै छन् चुनौती

महाधिवेशनबाट पार्टी शक्तिशाली बनाए पनि गगनका सामु थुप्रै चुनौती छन् । उनको परीक्षा आगामी स्थानीय तहको निर्वाचनमा हुने विश्लेषक हुमागाईं बताउँछन् । अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि आगामी स्थानीय तहको निर्वाचन र पार्टी एकताका लागि गरिएको प्रयासले गगनको भविष्य निर्धारण गर्ने बताउँछन् । १५औँ महाधिवेशनसम्म आइपुग्दा कांग्रेस विभाजनको मोडमा छ ।

देउवा पक्षले छुट्टै गुट चलाइरहेको छ भने नेता शेखर र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का चुपचाप छन् । उनीहरु पार्टी नै विभाजनको डिलमा पुगेपछि चुपचाप देखिएका हुन् । सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी दश महिनादेखि मुद्दा चलिरहेको छ । त्यसैले गगनले अरु नेताहरुलाई कुन ढंगले मिलाएर जान्छन् भन्ने कुरा मुख्य चुनौतीका रुपमा देखिन्छ ।

पार्टीमा बलियो पकड रहेपनि गगनलाई स्थानीय तहका प्रतिनिधिले कतिको विश्वास गर्छन् भन्ने कुरा पनि निर्वाचनको परिणामबाट थाहा हुनेछ । कांग्रेस विभाजनकै अवस्थामा स्थानीय तहको निर्वाचन फेस गरेको अवस्थामा राम्रो नतिजा आउन नसक्ने आँकलन पनि गरिन्छ ।

उसो त कांग्रेस विभाजन भएकै कारण लोकतन्त्र र संविधान नै खतरामा परेको विश्लेषण हुने गरेको छ । यसकारण पनि गगनले सबैलाई मिलाएर जान निकै लचिलो र समन्वयकारी भूमिका खेल्नुपर्ने विश्लेषक श्रेष्ठ र हुमागाई सुझाव दिन्छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ७ : ४३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले