कोप–३१ सफल बनाउन सबै पक्ष लचिलो बन्नुपर्छ : साइमन स्टिल « Khabarhub

कोप–३१ सफल बनाउन सबै पक्ष लचिलो बन्नुपर्छ : साइमन स्टिल


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्किए- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचिलो बन्न र सहमतिका लागि रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् ।

कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै देशबीच सहमति र सम्झौता हुन नसके जलवायु सम्मेलनको सामूहिक सफलता सम्भव नहुने बताए।

‘प्रत्येक पक्षबाट सम्झौता र सहमति नभएसम्म सामूहिक सफलता सम्भव छैन’, उनले भने, ‘प्रत्येक देशको आफ्नै धारणा र आवाज छ । प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउन कठिन भए पनि त्यो अत्यन्तै महत्वपूर्ण काम हो ।’

सम्मेलनमा करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै उहाँले वार्ताको दोस्रो सातामा प्रवेश गर्दा कठिन विषयमा शीघ्र छलफल अघि बढाउनुपर्नेमा जोड दिए । उनले वार्ता लम्ब्याउने रणनीतिक प्रवृत्ति अन्त्य गरी सहमतिका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए।

विश्वव्यापी तापक्रम वृद्धिका कारण बढिरहेको आर्थिक भार र ऊर्जा बजारको अस्थिरताले देशहरूलाई जलवायु परिवर्तनका विषयमा थप केन्द्रित बनाएको उनको भनाइ थियो । नवीकरणीय ऊर्जा आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा सुरक्षित र किफायती ऊर्जाको महत्वपूर्ण आधार बन्दै गएको उनले उल्लेख गरे।

विद्युतीकरण र जलवायु वित्तमा पहुँचलाई वार्ताको प्राथमिकताका विषयका रूपमा प्रस्तुत गर्दै उनले स्वच्छ ऊर्जा, सुदृढ पूर्वाधार, स्वच्छ उद्योग र विपद्बाट नागरिकको सुरक्षा जलवायु कार्यका महत्वपूर्ण क्षेत्र भएको बताए।

जलवायु सङ्कटको तत्काल समाधान सम्भव नभएको र एउटा सम्मेलनले मात्रै यसको अन्त्य गर्न नसक्ने उल्लेख गर्दै उनले प्रत्येक सम्मेलनबाट ठोस प्रगति हासिल हुनुपर्नेमा जोड दिए । जलवायु कार्यलाई प्रभावकारी बनाउन विश्वभरका अर्बौं मानिसलाई यस अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।

यसका लागि जलवायु परिवर्तनका प्रभाव र समाधानलाई नागरिकको दैनिक जीवन, स्वास्थ्य, रोजगारी तथा सुलभ र भरपर्दो ऊर्जाको आवश्यकतासँग जोड्नुपर्ने उनले बताए। खेलकुद, चलचित्र, सङ्गीत, टेलिभिजन तथा कलालाई जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाहका प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न सकिने उनको धारणा थियो ।

खेलकुद मानिसको परिवार, समुदाय र पहिचानसँग जोडिएको विषय भएकाले यसमार्फत जलवायु परिवर्तनका असर आमनागरिकसम्म पुर्‍याउन सकिने उनले उल्लेख गरे। विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मीले खेलाडीको स्वास्थ्य र प्रदर्शन प्रभावित भएको तथा दर्शकसमेत अस्पताल भर्ना हुनुपरेको उदाहरण दिँदै उनले खेलकुद क्षेत्रलाई जलवायु परिवर्तनअनुकूल बनाउन आवश्यक रहेको बताए।

पत्रकार सम्मेलनमा टेलिमुन्डोकी पत्रकार भेनेस्सा हाउकले विश्वकप फुटबलका क्रममा जलवायु परिवर्तनका प्रभावबारे दर्शकलाई जानकारी गराउन सञ्चारमाध्यमले गरेका प्रयासबारे अनुभव सुनाए ।

उनका अनुसार विश्वकपका खेलमा राखिएका पानी पिउने विश्रामका समयमा अत्यधिक गर्मी र उच्च आर्द्रताले खेलाडीको स्वास्थ्यमा पार्ने असरबारे चिकित्सक, खेलाडी तथा रेफ्रीसँग अन्तर्वार्ता गरी दर्शकलाई जानकारी गराइएको थियो ।

विश्वकपका करिब एक चौथाइ खेल मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मौसममा हुनसक्ने अध्ययनले देखाएको उल्लेख गर्दै उनले खेलका क्रममा हुने पानी पिउने विश्रामलाई जलवायु विज्ञानसम्बन्धी जानकारी प्रवाह गर्ने अवसरका रूपमा उपयोग गरिएको बताए।

टेलिमुन्डोले त्यस्ता विश्रामका समयमा विज्ञापन प्रसारण नगरी खेलाडीले पानी पिइरहेको र शरीरमा बरफ राखेर तापक्रम नियन्त्रण गर्ने प्रयास गरिरहेको दृश्य दर्शकलाई देखाएको उनले जानकारी दिए । जलवायु परिवर्तनको प्रभावसँगै त्यसका कारण र जिम्मेवारीका विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी, भारतीय संस्था पीएलयुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु कार्यसँग जोड्नुपर्ने बताए ।

भारतमा हरेक वर्ष २० भाषामा एक हजार ८०० भन्दा बढी चलचित्र निर्माण हुने उल्लेख गर्दै उनले चलचित्र उद्योग जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे।

पीएलयुसीले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा भारतको पहिलो जलवायु विषयक पटकथा लेखन प्रयोगशाला सञ्चालन गरेको जानकारी दिँदै उनले कार्यक्रममा छ हजारभन्दा बढी पटकथा लेखकले आवेदन दिएकामा ६५ जना छनोट भएको बताए ।

लेखकलाई जलवायु परिवर्तनकै विषयमा मात्र कथा लेख्न नभनी प्रेमकथा, त्रासदी र विज्ञानमा आधारित काल्पनिक कथालगायत लोकप्रिय विधामार्फत जलवायुका विषय समेट्न प्रोत्साहित गरिएको उनले जानकारी दिए।

भारतका नौ प्रमुख चलचित्र निर्माण संस्थाबाट सुरु भएको उक्त पहलमा हाल १७० चलचित्र स्टुडियो सहभागी भएको र तिनको सहकार्यमा भारतको पहिलो हरित चलचित्र उत्पादन निर्देशिका तयार गरिएको उनले बताए। उक्त निर्देशिकाले चलचित्र निर्माणका क्रममा उत्सर्जन घटाउन र वातावरणमैत्री उत्पादन अभ्यास अपनाउन सहयोग गर्ने उनको भनाइ थियो ।

चलचित्रका कथावस्तुमा जलवायु परिवर्तनका विषय समेट्नुका साथै चलचित्र निर्माण प्रक्रियालाई समेत स्वच्छ र कम उत्सर्जनयुक्त बनाउन आवश्यक रहेको उनले उल्लेख गरे। स्वच्छ ऊर्जा रूपान्तरण र सिर्जनात्मक अर्थतन्त्रलाई सँगसँगै अघि बढाउन सके चलचित्र तथा मनोरञ्जन क्षेत्रले जलवायु कार्यमा नागरिकलाई प्रेरित गर्न सक्ने उनको विश्वास थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ६ : ०८ बजे

काठमाडौँको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो

काठमाडौँ– काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति

हात्तीको जोखिमबाट धानबाली जोगाउन सुरक्षाकर्मीसहित स्थानीय धान काट्दै

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा

कोप–३१ सफल बनाउन सबै पक्ष लचिलो बन्नुपर्छ : साइमन स्टिल

टर्किए- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको