जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू) 


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै काठमाडौँमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक सङ्घसंस्थाले प्रदर्शन गरेका छन् ।

विश्वव्यापी कार्यदिवसअन्तर्गत गत शनिबार आयोजित प्रदर्शनमा सहभागीहरूले जलवायु सङ्कट सिर्जना गर्न सबैभन्दा कम योगदान गरेका नेपालजस्ता विकासशील देशले यसको असमानुपातिक असर भोग्नुपरेको भन्दै विकसित राष्ट्रहरूलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ, एलडीसी वाच, ग्रामीण पुनर्निर्माण नेपाल र दक्षिण एसियाली गरिबी उन्मूलन गठबन्धनको नेतृत्वमा भएको प्रदर्शनमा जलवायु वित्त ऋणका रूपमा नभई सार्वजनिक अनुदानका रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको थियो । प्रदर्शनकारीहरूले जलवायुजन्य हानि तथा क्षतिको क्षतिपूर्ति दिनुपर्ने र जलवायु जोखिममा रहेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने मागसमेत उठाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले जलवायु सङ्कटको प्रत्यक्ष असर श्रमिक, किसान, आदिवासी जनजाति तथा अनौपचारिक क्षेत्रमा कार्यरत समुदायले भोगिरहेको उल्लेख गर्दै जलवायु नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

जलवायु परिवर्तनका कारण बढिरहेका बाढी, पहिरो, अत्यधिक गर्मी र अनियमित मौसमले स्वास्थ्य, रोजगारी, कृषि तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको भन्दै उनीहरूले प्रभावित समुदायको जीविकोपार्जन र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

सहभागीहरूले जलवायु वित्त विकसित देशहरूको दया नभई ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गर्दै नेपालजस्ता जलवायु जोखिममा रहेका देशलाई थप ऋणको भार नथोपरी पर्याप्त, पूर्वानुमानयोग्य र सहज पहुँचयोग्य अनुदान उपलब्ध गराउनुपर्ने बताएका थिए ।

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) को सन्दर्भमा आयोजित प्रदर्शनले अन्तर्राष्ट्रिय जलवायु वार्तामा ऐतिहासिक जिम्मेवारी, समानता र न्यायपूर्ण रूपान्तरणका मुद्दालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको आयोजकहरूले बताएका छन् ।

एसियाका विभिन्न देशमा एकैसाथ आयोजित विश्वव्यापी कार्यदिवसले जलवायु न्यायका लागि क्षेत्रीय ऐक्यबद्धता र सामूहिक आवाजलाई समेत बलियो बनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : १६ बजे

नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौँ – जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त

लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी

पूर्वसूचनालाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक

माग बढेपछि ‘थारू आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया– स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो