प्राग- सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले सार्वजनिक सञ्चारमाध्यमलाई राज्यको बजेटबाट रकम उपलब्ध गराउने योजना ल्याएपछि त्यसले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर बनाउने भन्दै प्रदर्शन भएको हो ।
सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रागस्थित लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारको प्रस्ताव फिर्ता लिन माग गरेका थिए । प्रदर्शनका आयोजक मिकुलास मिनारले यो आन्दोलनको सुरुआत मात्र भएको बताताएका छन् ।
सरकारको प्रस्तावअनुसार सार्वजनिक रेडियो र टेलिभिजनका लागि नागरिक तथा व्यवसायबाट उठाइँदै आएको नियमित शुल्कको व्यवस्था हटाएर राज्यको बजेटबाट रकम उपलब्ध गराइनेछ । तर, यसबाट सार्वजनिक सञ्चारमाध्यमको बजेट करिब १५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसले कर्मचारी कटौती हुनुका साथै विभिन्न कार्यक्रम बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
सरकारको आलोचना गर्नेहरूले नयाँ वित्तीय व्यवस्थाले सार्वजनिक सञ्चारमाध्यममाथि सरकारी नियन्त्रण बढाउने र सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुन सक्ने चेतावनी दिएका छन् ।
विधेयक संसद्बाट अघि बढाउने क्रममा विपक्षी सांसदहरूको बोल्ने समय सीमित गरिएको र बिहान ४ः३६ बजे मतदान गराइएको घटनाले पनि विरोध चर्काएको हो ।
सरकारी योजनाविरुद्ध सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीले हडतालसमेत गरेका छन् । श्रमिक सङ्गठन, विश्वविद्यालय, विद्यार्थी, कलाकार तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्बन्धी संस्थाहरूले पनि आन्दोलनलाई समर्थन गरेका छन् । यस विषयमा युरोपेली संसद्मा समेत छलफल भएको थियो ।
प्रधानमन्त्री बाबिसले भने प्रस्तावित वित्तीय व्यवस्थाले सञ्चारमाध्यमको स्वतन्त्रतामा कुनै असर नपार्ने दाबी गर्दै योजना कार्यान्वयन गर्ने अडान लिनुभएको छ ।
प्रदर्शनकारीले सरकारको रक्षा नीतिको समेत विरोध गरेका छन् । उनीहरूले रुससमर्थक दलका नेता तथा सभामुख टोमियो ओकामुरा र रक्षामन्त्री जारोमिर जुनाको राजीनामा माग गरेका छन् ।
आन्दोलनका आयोजक मिनारले रुससमर्थक दलको भूमिकाका कारण चेक गणतन्त्रको रक्षा क्षमता कमजोर हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।














प्रतिक्रिया