तमोरको बगरमा ड्रागन फ्रुट खेती गरेका किशोर भन्छन्- वार्षिक १५ लाख बढी आम्दानी हुन्छ « Khabarhub

तमोरको बगरमा ड्रागन फ्रुट खेती गरेका किशोर भन्छन्- वार्षिक १५ लाख बढी आम्दानी हुन्छ


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्नसके कम उत्पादन दिने जमिनबाटसमेत राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीको प्रयासले दिएको छ । 

देशका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो रहने र परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी लिन नसकिरहेको अवस्थामा जस्तोसुकै मिल्किएको जमिनमा पनि मेहेनत गरी उनले राम्रो आम्दानी लिन सकेका छन् । 

चारैतिर बालुवा नै बालुवा । न मलिलो माटो, न पर्याप्त पानीको सुविधा । सामान्यतया खेती गर्न कठिन मानिने तमोर नदीको बगर तर त्यही बगरमा अहिले हरियाली छाएको छ । लहरै फैलिएका ड्रागन फ्रुटका बोट, कतै फ्रुटले भरिन थालेका बिरुवा त कतै नयाँ बालीका लागि तयार पारिएका संरचना । कुनै बेला खेतीका लागि अनुपयुक्त मानिने यही जमिन अहिले आम्दानीको स्रोत बनेको छ । 

परम्परागत सोचभन्दा फरक ढङ्गले खेती गर्ने सोचाइ बनाएका भण्डारीले बालुवा र ढुङ्गाले भरिएको जमिनलाई व्यावसायिक कृषि उद्यमको आधार बनाएका छन् । 

उनको प्रयासले खेती गर्न उर्वर जमिन नै चाहिन्छ भन्ने मान्यतालाई पनि चुनौती दिएको छ । तीन वर्षअघि भण्डारीले तमोर नदीको बगरमा ड्रागन फ्रुट खेती सुरु गरेका थिए । 

सुरुमा करिब पाँच रोपनी क्षेत्रफ्रुटमा ड्रागन फ्रुटका बिरुवा लगाएका उनले करिब ३०० बिरुवाबाट खेतीको सुरुआत गरेको बताएका छन् । सुक्खा तथा बलौटे जमिनमा पनि उत्पादन लिन सकिने सम्भावना देखेपछि उनले यो खेती रोजेको बताए ।

सुरुआतमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवैको चुनौती थियो तर उत्पादन हुन थालेपछि बजारमा राम्रो माग देखियो । ड्रागन फ्रुटको मूल्यसमेत राम्रो पाइएपछि उनको आत्मविश्वास बढ्दै गयो । 

त्यसपछि खेती विस्तार गर्ने योजना बनाएर अहिले ड्रागन फ्रुट खेतीलाई करिब नौ रोपनी क्षेत्रफ्रुटमा विस्तार गरेको भण्डारी बताउछन् । ड्रागन फ्रुट खेतीबाट सुरु भएको उनको कृषि यात्रा अहिले बहुबाली खेतीसम्म पुगेको छ । 

एउटै बालीमा निर्भर हुँदा जोखिम बढी हुने र वर्षभरि नियमित आम्दानी गर्न कठिन हुने भएकाले उनले जमिनको प्रकृति तथा हावापानीअनुसार विभिन्न फ्रुटफूल र तरकारी खेती विस्तार गरेको बताए । 

हाल उनले करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर खेती गरेको बताएका छन् । त्यस्तै, करिब १५ रोपनी क्षेत्रमा स्थानीय मालभोग जातको केरा खेती विस्तार गरेका भण्डारीले यसवर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रुपमा लगाए । 

त्यसैगरी म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत गरेका छन् । बगरको जमिनदेखि माथिल्लो भागसम्म उपलब्ध क्षेत्रलाई उपयोग गर्दै उनी विभिन्न बालीको सम्भावना परीक्षण गरिरहेको बताउछन् ।

ड्रागन फ्रुटले दिलायो कृषिमा लाग्ने प्रेरणा 

भण्डारीका लागि ड्रागन फ्रुट खेती व्यावसायिक कृषिको पहिले खुड्किलो बनेको छ । सुरुमा नयाँ बालीका रुपमा लगाइएको ड्रागन फ्रुट अहिले आम्दानीको महत्त्वपूर्ण आधार बनेको उनको भनाइ छ ।

ड्रागन फ्रुटले सुरुका दिनमा बजारमा राम्रो मूल्य पाएको भण्डारी बताउँछन् । उत्पादन सुरु हुँदा प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको थियो । 

अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको उनको भनाइ छ । उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारीहरू खेतीस्थलमै आउने गरेका छन् । 

यसले बजार खोज्दै विभिन्न स्थानमा पुग्नुपर्ने झन्झटसमेत कम गरेको छ । उत्पादनको गुणस्तर र मागका कारण बगानमै आएर फ्रुट खरिद गर्ने ग्राहक बढेको उनी बताउछन् । ड्रागन फ्रुटको बजार सम्भावना देखेपछि नै आफूले अन्य फ्रुटफूल तथा तरकारी खेतीमा समेत लगानी बढाएको भण्डारीको भनाइ छ ।

धनकुटामा पछिल्लो समय सुख्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा पनि ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ । 

परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले वैकल्पिक खेतीका रुपमा ड्रागन फ्रुटलाई लिन थालेका छन् । जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउनसके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेती गर्न सकिने सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । 

केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । विगतमा अनुदानका कार्यक्रम सञ्चालन गरिएको र अहिले किसानलाई आवश्यकताअनुसार विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताए । उनले चालु आर्थिक वर्षबाट अनुदानका कार्यक्रम सञ्चालनको तयारीमा रहेको पनि जानकारी दिए  ।

बाली विविधीकरणबाट आम्दानी बढाउने योजना

कृषिमा एउटै बालीमा निर्भर हुँदा उत्पादनमा समस्या आए आम्दानी प्रभावित हुनसक्छ । त्यसैले भण्डारीले विभिन्न समयमा उत्पादन दिने फलफूल तथा तरकारीलाई प्राथमिकता दिएको बताएका छन् । ड्रागन फ्रुटपछि एप्पल बयर खेती सुरु गरेका उनले अहिले त्यसका करिब पाँच सय बोट हुर्काइरहेका छन् । 

एप्पल बयरका बोटको आकार र उमेर बढ्दै जाँदा उत्पादन पनि बढ्ने अपेक्षा उनको छ । नयाँ लगाइएका बालीले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने विश्वास रहेको उनले बताए ।

केरा खेतीमा पनि उनले नयाँ जातको परीक्षण गरिरहेको बताए। स्थानीय मालभोग जातसँगै जी–नाइन जातको केरा लगाएर उत्पादनको सम्भावना बुझ्ने प्रयास गरेको भण्डारीले बताए । 

त्यस्तै, म्याकाडेमिया र एभोकाडो खेतीलाई पनि भविष्यको आम्दानीको आधार बनाउने उनको योजना छ । तरकारी खेतीतर्फ टमाटरलाई प्राथमिकता दिएका भण्डारीले यसअघि करेला खेतीको अनुभव पनि लिएका थिए तर करेला उत्पादनमा बढी मिहेनत गर्नुपर्ने र बजारको समस्या हुने भएकाले त्यसबाट अपेक्षित आम्दानी लिन नसकेको उनको अनुभव छ ।

सिँचाइ व्यवस्थापनमा सहयोग

तमोर नदीको बगरमा खेती विस्तार गर्दा सबैभन्दा ठूलो चुनौती सिँचाइ व्यवस्थापन हो । बलौटे जमिनमा पानी टिकाउन कठिन हुने भएकाले नियमित सिँचाइको व्यवस्था नगरी व्यावसायिक खेती सम्भावना नहुने भएको छ । यसलाई ध्यानमा राखेर भण्डारीले सिँचाइको व्यवस्थापन गरेको बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइका लागि पोखरी निर्माण गरिएको छ ।

यसबाट खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको छ । सोही सहयोग तथा सहजीकरणमा केरा खेतीसमेत विस्तार गरिएको हो । 

भण्डारीको कृषि उद्यमबाट केही स्थानीय व्यक्तिले रोजगारीसमेत पाएका छन् । खेती विस्तारसँगै कामदारको आवश्यकता बढेको छ । सामान्यतया रोजगारीको खोजीमा अन्यत्र जाने युवाका लागि आफ्नै ठाउँमा कृषि व्यवसायमार्फत अवसर सिर्जना गर्न सकिने उनले बताए ।

अहिले कृषि व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको भण्डारीले बताए । विभिन्न बालीको उत्पादन बढ्दै जाँदा आम्दानीसमेत बढ्ने उनको भनाइ छ ।

अहिले लगाइएका एप्पल बयर, म्याकाडेमिया, एभोकाडो र अन्य फ्रुटफूलका बोटले पूर्ण उत्पादन दिन थालेपछि कृषि व्यवसायलाई थप ठूलो आकारमा विस्तार गर्न सकिने उनले बताए । 

आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार पुर्‍याउने लक्ष्य रहेको भण्डारीले बताए । त्यसका लागि अहिले नै विभिन्न जातका फ्रुटफूल तथा तरकारी खेती विस्तार गर्दै बजारको सम्भावना खोजिरहेको उनले बताए । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  १ : ४३ बजे

तमोरको बगरमा ड्रागन फ्रुट खेती गरेका किशोर भन्छन्- वार्षिक १५ लाख बढी आम्दानी हुन्छ

धनकुटा– उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि

सी, ट्रम्प र पुटिनबीच नोभेम्बर १९ मा त्रिपक्षीय शिखर बैठक हुने

बेइजिङ- चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी

दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खननको प्रतीक्षामा (तस्बिरहरू)

काठमाडौं– नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा

मुगु जिप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत लगियो

मुगु- मुगुमा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका