भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन् ।
डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
मुख्यमन्त्री थापा मगरले भने, ‘योग साधना गर्ने पतञ्जली र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ, त्यो गर्न प्रदेश सरकार तयार छ । यो प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्ने तयारीमा छौँ, त्यसका लागि तपाईँहरू लाग्नुस् ।’
उनले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरूमा बिहानको समयमा योग साधना सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याए ।
मुख्यमन्त्री थापाले भने, ‘प्रदेश सरकारले यस वर्ष जनस्वास्थ्य कार्यालय मार्फत योगका लागि केही बजेट राखेका छौँ, तर त्यो बजेटबाट पातञ्जल योग, पतञ्जली योग, जीवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरूमार्फत योगको विकासका लागि खर्च गरिने छ ।’ उनले डोलेश्वरमा धर्मशाला बनेपछि स्थायी रुपमा योग गर्न निकै सहज हुने बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ वडाध्यक्ष पुष्पराज बस्नेत, पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल, केन्द्रीय महासचिव नवराज काफ्लेलगायतले योग साधनाको महत्त्व र यसले मानव जीवनलाई स्वास्थ्य तुल्याउन पुर्याउने योगदानबारे चर्चा गरे ।














प्रतिक्रिया