काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएसँगै फाइनल प्रवेशका लागि हुने ‘क्वालिफायर–१’ को समीकरण पूरा भएको छ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका साबिक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच मंगलबार क्वालिफायर–१ मा भिड्दै छन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणमा सर्वाधिक ११ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायर–१ मा पुगेको हो । सात खेल खेलेको लुम्बिनीले पाँचमा जित र एकमा हार बेहोर्दा वर्षाका कारण रद्द भएको एक खेलबाट अंक बाँडेको थियो ।
दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायर–१ का लागि छनोट भएको हो । सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित निकाल्दा दुई खेलमा पराजय बेहोरेको थियो ।
मंगलबार हुने पहिलो क्वालिफायर को विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को एक मौका पाउनेछ । उक्त टोलीले बुधबार तेस्रो स्थानको काठमान्डु गोर्खाज र चौथो स्थानको चितवन राइनोज बीच हुने इलिमिनेटर खेलको विजेतासँग बिहीबार ‘क्वालिफायर–२’ खेल्नेछ ।
ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै उपाधि रक्षाको अभियानमा रहेको लुम्बिनी लगातार दोस्रोपटक फाइनल पुग्ने दाउमा छ । अर्कोतर्फ, अघिल्ला दुवै संस्करणको फाइनल खेलेर पनि उपाधि उचाल्न नसकेको सुदूरपश्चिम लगातार तेस्रोपटक प्ले–अफ खेल्दै यसपटक ट्रफी उचाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।














प्रतिक्रिया