काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको जनाएको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउन मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिएको जनाएको हो ।
मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ ।
राष्ट्रिय भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि समेत कूल ३ हजार ४ सय १४ जनाको सहभागिता रहने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।
भेलामा उपाध्यक्ष रामबहादुर थापाद्वारा संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण कामहरु तथा उपलब्धिहरुको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने उनले बताए ।
त्यस्तै भेलामा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्ने आचार्यले बताए ।
त्यसैगरि पार्टीका वरिष्ठ नेता, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी विशेष सम्बोधन गर्ने तय भएको उनले जानकारी दिइन् ।
भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन तथा आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको र १०० जना स्वयंसेवकहरूले भेला स्थल र सहभागीहरूको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ ।














प्रतिक्रिया