काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका खेल समाप्त हुँदा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा चार खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
लिग चरणको समाप्तिसम्म चितवन राइनोजका कमलसिंह ऐरी र रिजन ढकाल, जनकपुर बोल्ट्सका राहुल यादव तथा काठमान्डु गोर्खाजका विदेशी खेलाडी जहन्दार खानले समान १२–१२ विकेट लिँदै शीर्ष चार स्थान ओगटेका हुन् ।
बलिङ औसत र इकोनोमीका आधारमा चितवनका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलो स्थानमा छन् । ६ खेलमा १८ ओभर बलिङ गरेका उनले ५.७२ को किफायती इकोनोमीमा १०३ रन खर्चेर १२ विकेट लिएका हुन् । सोही टोलीका अर्का बलर रिजन ढकाल ६ खेलमा १९ ओभर बलिङ गर्दै १२६ रन खर्चेर १२ विकेटसहित दोस्रो स्थानमा छन् । चितवनलाई प्लेअफसम्म पुर्याउन यी दुई बलरको जोडीको प्रदर्शन निर्णायक रह्यो ।
त्यस्तै, जनकपुरका राहुल यादव र काठमान्डुका जहन्दार खानले समान ७ खेल खेल्दै १२–१२ विकेट हात पारे । उत्कृष्ट बलिङ प्रदर्शनका क्रममा खानले २३ रन खर्चेर ४ विकेट लिएका थिए भने ढकालले २४, ऐरीले २६ र यादवले ३१ रन खर्चेर समान ४–४ विकेट लिएका छन् ।
सर्वाधिक विकेट लिने सूचीको पाँचौँ र छैटौँ स्थानमा समान ११–११ विकेट लिएका जनकपुरका हरमीत सिंह र कर्णाली याक्सका मार्क वाट रहेका छन् । सुदूरपश्चिम रोयल्सका अविनाश खरेल तथा कर्णालीका हुसेन तलात र कप्तान सोमपाल कामीले समान १०–१० विकेट लिएका छन् ।
यस सिजनको लिग चरणमा एकै इनिङ्समा ६ विकेट लिने कीर्तिमान भने विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नाममा मात्र रह्यो । उनले एक खेलमा २७ रन खर्चेर ६ विकेट लिएका थिए । समग्रमा ७ खेल खेलेका लामिछानेको नाममा कुल ७ विकेट छ ।














प्रतिक्रिया