काठमाडौं– नेपाली फिल्म ‘बाटुलो जुन’ले प्रदर्शनको सुरुआती दिनमै बक्स अफिसमा बलियो पकड बनाएको छ ।
प्रदर्शनमा आएको पाँच दिनमै फिल्मले नेपालबाट ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माण टिमले जनाएको छ । छोटो समयमै यति ठूलो व्यापार गरेपछि फिल्म अहिले नेपाली फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ ।
निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै फिल्मको पाँच दिनको कमाइ विवरण बाहिर ल्याएको हो । निर्माण टिमले यो कमाइलाई सिक्वेल नभएका नेपाली फिल्ममध्ये नयाँ रेकर्डसमेत दाबी गरेको छ ।
फिल्मले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ । विशेषगरी अनमोल केसीको अभिनय र फिल्मप्रति दर्शकको बढ्दो आकर्षणले यसको व्यापारलाई गति दिएको देखिन्छ । फिल्म हेर्न टिकट नपाएको गुनासोसमेत दर्शकबाट सुनिन थालेको निर्माण टिमको भनाइ छ ।
पाँच दिनमै उत्साहजनक व्यापार गरेपछि निर्माण टिमले दर्शकप्रति आभार व्यक्त गरेको छ । सामाजिक सञ्जालमा फिल्मलाई माया गर्ने र सफलताको उत्सवमा सहभागी हुने सबै दर्शकलाई धन्यवाद दिँदै यो यात्रा अझै लामो रहेको उल्लेख गरिएको छ ।
भुवन केसीको निर्देशनमा बनेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सहनिर्माता छन् । फिल्मको पटकथा सामीप्यराज तिमल्सेना र सरीन पोखरेलले तयार पारेका हुन् ।
सुरुआती पाँच दिनको कमाइले ‘बाटुलो जुन’लाई बलियो व्यावसायिक सुरुवात दिलाएको छ । अब फिल्मले यही गति कायम राख्दै आगामी दिनमा कति कमाइ गर्छ भन्ने चासो बढेको छ ।














प्रतिक्रिया