महोत्तरी– सभामुख डोलप्रसाद अर्यालले नेपालीले विकासविना समृद्धि नहुने बताउँदै यसका लागि सबैको साझा प्रयत्न र संवाद परुरी रहेको बताएका छन् ।
छठ पर्वका लागि मधेस आएका उनले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाटलाई सम्बोधन गर्दै मधेसमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाममुखी कामको आवश्यकता रहेकामा जोड दिए ।
‘हामीले मधेसको शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिएर काम गर्नुपर्ने छ’, सभामुख अर्यालले भने, ‘विकासका यी मुद्दामा सबै पक्षबीच आपसी संवाद बढाएर परिणाम देखिने काम हुनुपर्छ ।’ कृषिसँग सम्बन्धित उद्योगधन्दा विकास गर्नसके रोजगारीका अवसर बढ्न सक्ने र यसले विदेश पलायनको क्रम रोक्न मद्दत पुग्ने उनले बताए ।
मधेसमा यसपालि छठ पर्व मनाउन आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी हेलमेल र सहिष्णुताले मन प्रफुल्ल बनाएको सभामुख अर्यालको भनाइ छ । चाडवाडमा देखिएको यो सद्भाव विकासमा मुखरित गर्नसके हामीले चाहेको समृद्धि हात पर्ने उनले स्पष्ट गरे ।
‘राजनीतिमा स्वस्थ्य प्रतिस्पर्धा हुनपर्छ, राजनीति सुशासन र विकासप्रति समर्पित हुन आवश्यक छ’, सभामुख अर्यालले भने, ‘यस विषयमा आमजनताले आफ्ना प्रतिनिधिलाई घचघच्याइ रहनुपर्छ ।’ संसद्ले एक युगसम्म जनताले अपनत्व लिनसक्ने गरी कानुनको तर्जुमा र संविधान संशोधनका विषय पहिल्याउने र टुङ्ग्याउने काम गर्नपर्ने उनको धारणा छ ।
‘कमसेकम अहिलेको हाम्रो पुस्ताको कामलाई हाम्रा नाति पुस्ताले बाजेहरुले ठीकै गर्न खोजेका रहेछन् भन्ने अनुभूति लिन सकुन्’, सभामुख अर्यालले भने, ‘राम्रो परिणामका लागि फेरि पनि हामीबीच समुन्नत सहमति, सहकार्य र सहअस्तित्व हुनपर्छ ।’
वीरगञ्जमा छठ पर्व सकेर हुलाकी सडक हुँदै बर्दिवास आइपुगेका अर्याल यहाँको भेटघाट कार्यक्रमपछि काठमाडाैँ प्रस्थान गरे ।














प्रतिक्रिया