काठमाडौं– एक समय बलिउडका चर्चित फिल्ममा खलनायक बनेर दर्शकमाझ छाएका अभिनेता शरद कपुर यतिबेला आफ्नै जीवनका कठिन परिस्थितिसँग जुधिरहेका छन् । स्वास्थ्य समस्याका कारण घरमै थलिएका उनी कामको खोजीमा छन् ।
आफ्ना चारवटा कुकुरलाई समेत उचित हेरचाह गर्न नसक्ने अवस्था आएपछि उनले सार्वजनिक रूपमै बलिउडसँग सहयोग मागेका थिए। उनको अपिलपछि अहिले अभिनेता सलमान खान र सोनु सूद सहयोगका लागि अघि सरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सोनु सूदले शरदको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि उनको उपचारमा सहयोग गर्ने निर्णय गरेका हुन्। खुट्टामा चोट लागेका कारण हिँडडुल गर्नसमेत कठिनाइ भइरहेको शरदको उपचारका लागि सोनुले चिकित्सकको टोली नै उनको घर पठाएका छन्। उक्त टोलीले आवश्यक परीक्षण र उपचारको व्यवस्था गर्नेछ।
सोनु आफैँ पनि शरदलाई भेट्न उनको निवास पुगेका थिए। भेटका क्रममा दुवै कलाकारले सँगै समय बिताउँदै कुराकानी गरेका थिए। उनीहरूको भेटको भिडियोसमेत सार्वजनिक भएको छ।
अर्कोतर्फ, सलमान खानले पनि आफ्ना पूर्वसहकर्मीको अवस्थाबारे चासो देखाएका छन्। फिल्म ‘जय हो’मा सँगै काम गरेका सलमानले शरदसँग सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले आवश्यक सहयोग गर्ने आश्वासन दिनुका साथै आर्थिक रूपमा पनि साथ दिइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
चार कुकुरलाई आफ्नै सन्तान मान्थे, तर छुट्याउनुपर्यो
शरदको पछिल्लो अवस्था सार्वजनिक हुनुको एउटा भावुक कारण उनका चारवटा कुकुर पनि हुन् । केही दिनअघि उनले पशु कल्याणसम्बन्धी संस्थामार्फत भिडियो सार्वजनिक गर्दै आफ्ना कुकुरलाई संस्थाको संरक्षणमा पठाउनुपरेको जानकारी दिएका थिए ।
उनले ती कुकुरलाई आफ्ना सन्तानजस्तै माया गर्ने गरेको बताएका थिए । तर, खुट्टाको चोट, स्वास्थ्य समस्या र घरको परिस्थितिका कारण उनीहरूको उचित हेरचाह गर्न नसक्ने अवस्था आएको उनको भनाइ थियो। परिवारमा नवजात शिशु पनि रहेकाले चारवटा कुकुरको हेरचाह थप कठिन बनेको थियो।
यही परिस्थितिबीच उनले बलिउडका वरिष्ठ कलाकार, निर्माता तथा फिल्म क्षेत्रका व्यक्तिहरूसँग कामको अवसर दिन सार्वजनिक अपिल गरेका थिए।
‘कृपया मलाई सहयोग गर्नुहोस्, मलाई कामको आवश्यकता छ,’ भन्दै उनले आफूले सबै कलाकारलाई सम्मान गर्ने र उनीहरूलाई सधैँ नायकका रूपमा हेर्ने गरेको बताएका थिए। यद्यपि, उनले आफू आर्थिक समस्यामा परेको भन्ने कुरालाई भने अस्वीकार गरेका थिए।
शरदका अनुसार स्पेनको बार्सिलोनामा फुटबल खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो। त्यसपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनको नियमित कामसमेत प्रभावित भएको थियो।
बलिउडमा काम खोजिरहेका शरद हलिउडमा पनि देखिँदै
व्यक्तिगत र स्वास्थ्य समस्याबीच पनि शरदले अभिनय यात्रा रोक्ने सोच बनाएका छैनन्। हालैको एक अन्तर्वार्तामा उनले हलिउड फिल्ममा काम गर्ने अवसर पाएको खुलासा गरेका छन्।
करिब सात वर्ष न्यूयोर्कमा बिताएका शरदले आगामी जनवरीदेखि हलिउड फिल्मको काम सुरु गर्ने तयारी रहेको बताएका छन्। पूर्ण रूपमा स्वास्थ्यलाभ गर्न करिब दुई महिना लाग्ने र त्यसपछि बलिउडका परियोजनामा पनि निरन्तर काम गर्ने उनको योजना छ।
सन् १९९६ मा महेश भट्ट निर्देशित फिल्म ‘दस्तक’बाट अभिनय यात्रा सुरु गरेका शरदले ‘हथियार’, ‘ये है जलवा’, ‘एलओसी कारगिल’, ‘लक्ष्य’ र ‘जय हो’जस्ता फिल्ममा काम गरेका छन् । शाहरुख खान, ऐश्वर्या राय बच्चन र चन्द्रचूड सिंह अभिनित फिल्म ‘जोश’मा खलनायकको भूमिकामा देखिएपछि उनी थप चर्चित बनेका थिए ।
कुनै समय पर्दामा शक्तिशाली खलनायकका रूपमा देखिएका शरद अहिले वास्तविक जीवनका चुनौतीसँग संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा सलमान र सोनु सूदले देखाएको सहयोगले उनलाई फेरि अभिनय क्षेत्रमा फर्किने आशा जगाएको छ। अब स्वास्थ्यलाभपछि उनी बलिउड र हलिउड दुवैतर्फ आफ्नो करिअरलाई कसरी अघि बढाउँछन् ।














प्रतिक्रिया