मस्को पुगेर प्रचण्डले भने : नेपालको भूगोल प्रतिस्पर्धाको मैदान होइन, समृद्धिको पुल बन्नुपर्छ « Khabarhub

मस्को पुगेर प्रचण्डले भने : नेपालको भूगोल प्रतिस्पर्धाको मैदान होइन, समृद्धिको पुल बन्नुपर्छ


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताएका छन् ।

रसियाको राजधानी मस्कोमा सोमबार आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

भारत र चीनको बीचमा रहेको सार्वभौम तथा भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय हित र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई प्राथमिकता दिने उनको भनाइ थियो ।

विश्व इतिहास संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक स्वाधीनता कुनै पनि राष्ट्रको वास्तविक स्वतन्त्रताका लागि अपरिहार्य रहेको बताए ।

उनले कुनै पनि राष्ट्रले आफ्नो आर्थिक नीति र विकासका प्राथमिकता आफैँ निर्धारण गर्न नसकेसम्म राजनीतिक स्वतन्त्रता पूर्ण हुन नसक्ने धारणा राखे । बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार सबै राष्ट्रलाई रहेको उल्लेख गर्दै उनले सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित विश्व व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए ।

रसियाको सत्तारुढ दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधि सहभागी थिए । कार्यक्रममा आयोजक दलका संयोजक भी। याकुशेभले अवधारणापत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए ।

सम्बोधनका क्रममा प्रचण्डले बहुध्रुवीय विश्व व्यवस्थाको आवश्यकतामाथि चर्चा गर्दै दक्षिण–दक्षिण सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । विकासशील मुलुकहरूले आपसी व्यापार, लगानी र पूर्वाधार विकासमा साझेदारी गरेर आफ्नो अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, विश्वव्यापी वित्तीय संस्थाहरूलाई थप लोकतान्त्रिक र उत्तरदायी बनाउनुपर्नेमा उनले जोड दिए । आर्थिक जोखिम न्यूनीकरणका लागि स्थानीय मुद्रामा व्यापार तथा वैकल्पिक वित्तीय प्रणालीको विकास गर्नुपर्ने धारणा पनि उनले राखे ।

ग्लोबल साउथका मुलुकहरू कच्चा पदार्थ आपूर्तिमा मात्रै सीमित हुन नहुने बताउँदै प्रचण्डले औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता वृद्धि गर्नुपर्ने बताए ।

उनले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे पनि चर्चा गरेका थिए । ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको उनले स्मरण गराए ।

रसियासँग नेपालको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रचण्डले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए ।

उनले कुनै पनि राष्ट्र अरूको सम्मान गर्न नसक्ने गरी शक्तिशाली बन्न नहुने र विकासको अधिकारबाट कुनै पनि देश वञ्चित हुन नहुने धारणा राखे । साथै, स्वतन्त्रता, शान्ति र सामाजिक न्यायका लागि संघर्षरत विश्वभरका जनसमुदायप्रति ऐक्यबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : ३९ बजे

मस्को पुगेर प्रचण्डले भने : नेपालको भूगोल प्रतिस्पर्धाको मैदान होइन, समृद्धिको पुल बन्नुपर्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बेल्जियमका स्टार स्ट्राइकर लुकाकुले लिए संन्यास

काठमाडौं – बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

पोखरा – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार,

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौं – शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय