रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे, त्यहाँ हिउँको सेतो थुप्रोले उनलाई स्वागत गर्यो । २९ फागुनमा रुकुम पूर्व प्रवेश गरेका प्रचण्डले हिउँमा खेल्दै गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जाल तात्यो । यो हिउँ खेल्नका लागि गरिएको भ्रमण थिएन, यो आफू पहिलो पटक प्रधानमन्त्री हुँदा अगाडि सारेको मध्यपहाडी लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा एउटा नयाँ सपना बोकेर फर्किएको भावुक पल थियो ।
सात दिने मतदाता भेटघाट कार्यक्रमका लागि आएका प्रचण्डका चार दिन (करिब ८४ घण्टा) औपचारिकभन्दा अनौपचारिक तर भावनात्मक रुपमा गहिरो देखिन्छ । जनयुद्धका ऐतिहासिक स्थलहरूमा पुराना पदचाप स्मरण, शहीद परिवारसँगको भेट, घाइते योद्धाहरूको सम्मान र स्थानीयका गुनासा सुन्दै विकासका प्रतिबद्धता व्यक्त गर्नु उनको दैनिकी रह्यो। रुकुम पूर्वका मतदाता र कार्यकर्तामा प्रचण्डको उम्मेदवारीले नयाँ उत्साह जगाएको छ। गाउँका चुल्हो, हिउँका थुप्रा, तातोपानीका कुण्डमा गरिएका संवाद र शहीद गेटमै उभिएर क्रान्तिका दिनको स्मरण गर्दै गाएका गीतले चुनावी अभियानलाई जीवन्त बनाएको छ।
पहिलो दिन हिउँदेखि भूमेमा न्यानो स्वागत
बागलुङ–रुकुम सिमाना पातीहाल्नामा नेता–कार्यकर्ताले प्रचण्डको उत्साहपूर्ण स्वागत गरे । स्थानीयको स्वागतपछि प्रचण्ड हिउँले सेताम्य डाँडामा केहीबेर रमाए । सामाजिक सञ्जालमा हिउँ खेल्दै गरेको तस्बिर र भिडियो छिट्टै चर्चामा आउँछन् । त्यहाँबाट संयोजक प्रचण्ड भुमे १ लुगुम पुगे । मध्यपहाडी राजमार्गसँग जोडिएको यो बाक्लो बस्तीमा प्रचण्डको स्थानीयले खाम मगर संस्कृति अनुसार फेटा गुथाएर भव्य स्वागत भयो। उनले एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई पार्टीमा भित्र्याए र लुगुमलाई नमूना गाउँ बनाउने घोषणा गरे । टेलिफोन समस्याको तत्काल समाधानका लागि पहल गर्न स्वकीय सचिवलाई निर्देशन दिँदै उनी भूमे गाउँपालिकाको खाबाङबगर पुगे । उनी कार्यकर्ता र स्थानीयको माया र आगो ताप्दै त्यहीँ बास बसे ।

जनयुद्ध दिवसको स्मृति : लाबाङ–महत गाउँ
फागुन १ गते प्रचण्ड लाबाङ पुगे । त्यो गाउँ जहाँ २०६१ सालमा पोलिटब्युरो बैठक बसेर डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो । स्थानीयले भुटेको मकैसँगै विभिन्न स्थानीय परिकार खाजा र दूध खुवाए । पुराना घर र बैठक स्थल हेर्दै प्रचण्डले पहिले र अहिलेको परिवर्तनमा खुसी व्यक्त गरे । धेरै गर्न बाँकी रहेको त्यो काम अब गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसपछि महतमा उनले जनयुद्धको पहिलो युद्धबन्दी साटफेरको स्मृति झल्काउने संरचना अवलोकन गरे । महत गाउँलाई पृष्ठभूमि पारेर बनाइएको युद्ध स्मृति पार्कमा पुगेर प्रचण्डले छापामार आक्रमण र पहिलो युद्धबन्दी साटफेरको स्मृतिसँग जोडिएको संरचना अवलोकन गरे । डीएसपी ठूले राई पक्राउ र देव गुरुङसँगको साटफेर जनयुद्धको महत्त्वपूर्ण अध्यायको जीवन्त स्मरण एउटा कथा जस्तै गरी यथार्थमा झल्किएको थियो ।
महत गाउँमा महतबासीले बाजागाजासहित स्वागत गरे, समस्या सुनाए। खाबाङ बगरमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले शहीद, बेपत्ता परिवार र घाइते योद्धाहरूलाई सम्मान गरे । सोही साँझ चुनबाङको गैरिगाउँमा पैसेरु नाच र झाँकीसहित रातो अबिर लगाएर सहभागी भए ।
चुनबाङको शान्ति ढोका र तकसेराको सौन्दर्य
फागुन २ गते बिहान पौने ८ बजे चुनबाङको भेरीडाँडामा प्रचण्डले युद्ध सङ्ग्रहालय र ऐतिहासिक बैठकस्थल अवलोकन गरे । त्यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरी शान्तिको ढोका खोलेको थियो । सो निर्णय १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो बन्यो ।
बैठकस्थल, तयारी कक्ष, आफू र पत्नी सिता बसेको कोठा, छोरा प्रकाश र अन्य नेताहरू बसेका घर–कोठा अवलोकन गर्दै उनले इतिहाससँग साक्षात्कार गर्दै निर्माणाधीन युद्धसंग्रहालयको संरचना पनि अवलोकन गरे ।
चुल्होको आगोदेखि मैकोटको समाजवाद सपना
फागुन ३ गते बिहान तकसेरामा मर्निङ वाक गर्दै प्रचण्डले बाछीगाउँ, बिर्गुङ, पदमी, ओम्खा, डिम्बुरगैरा तातोपानी, मयाङ र हुकामका हरेक बस्तिमा लालीगुराँसको माला, मकै–चिया, सामूहिक फोटो, हरेक बस्तीमा आफ्नै शैलीका स्वागतमा रमाउँदै स्थानीयको समस्या सुन्ने काम गरे ।
उनले सिस्ने हिमालको दृश्यावलोकनसँगै तामाखानी–फलामखानीको सम्भावनाबारे स्थानीयसँग छलफल गरे । सानीभेरी किनारको डिम्बुरगैरा तातोपानीमा पलेटी कसेर स्थानीयसँगै ढिँडो र हिमाली चामलको भात खाँदै उनले भने, ‘यहाँको संस्कृति र जीवन साचिकै भिन्न छ । यहाँ सबै नेपाली आउनुहोस् ।’
प्रधानमन्त्री छँदा हेलिकप्टरबाट आएका प्रचण्ड यसपटक कठिन बाटो हिँडेर साँझ मैकोट पुग्दा भव्य स्वागत भयो। मैकोटबासीलाई सम्बोधन गर्दै उनले भने, ‘क्रान्तिको किल्ला रुकुम पूर्व अब विकासको नयाँ मोडेल बन्नेछ । समुदायमा आधारित समाजवादको सुरुवात यहीँबाट हुन्छ।’
करिब ८४ घण्टामा प्रचण्डले हिउँमा खेल्दै सुरु गरेको मतदाता भेटघाटको यात्रामा शहीद परिवारलाई सम्मान गरे । उनले ऐतिहासिक र पर्यटकीय स्थलको अवलोकन गर्दै तिनको विस्तार र विकास गर्ने प्रतिबद्धता जनाए ।
प्रचण्डसँगको यात्रामा समानुपातिक उम्मेदवारहरू उपेन्द्रलाल कामी, सुनिता बूढा र नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुनलगायत नेताहरू थिए ।
प्रचण्डका लागि यो चार दिनको यात्रा चुनावी अभियान मात्र बनेन, यो क्रान्तिको स्मृति बोकेको जिल्लामा फर्किएको भावनात्मक मिलन बन्न पुग्यो ।
रुकुमपूर्वमा प्रचण्डका बाँकी तीन दिनको कार्यक्रम अझै छ। तर चार दिनको ८४ घण्टाले उनलाई केवल मत माग्ने अभियान मात्र नभई, इतिहासको पुनःस्मरणको अवसर पनि जुटाइ दिएको छ ।













प्रतिक्रिया