ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’ « Khabarhub

अन्तर्वार्ता

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

एमालेविरुद्धको घेराबन्दी चिर्न कडा मिहिनेत गर्नुपर्छ



काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर झापा क्षेत्र नम्बर ५ बाट जिताउने प्रयास गरिरहेको छ । एक घर-एक कार्यकर्ता परिचालनदेखि विभिन्न तहका एमाले नेताहरू झापा ५ को वस्तुस्थिति बुझ्न खटिएका छन् । एकजना नेतृ रामकुमारी झाँक्री पनि यसै सिलसिलामा एक सातासम्म झापा-५ का चारवटा स्थानीय तह डुलेर राजधानी फर्किएकी छन् ।

आठ जनाको टोलीले झापा ५ मा स्थलगत निरीक्षण गर्नुका साथै ग्राउन्ड जिरोको वस्तुस्थिति विश्लेषण गरेको थियो । चार स्थानीय तह दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका २३ वडाको तल्लो तहसम्म पुगेर आएकी झाँक्रीको विश्लेषणमा त्यहाँ अध्यक्ष ओली विजयी हुनेमा शंकै छैन ।

तर यस पटक काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहको चुनौतीले झापा ५ मा विगतभन्दा मसिनो गरी खट्नुपर्ने बाध्यता छ । ‘विगतको जस्तो सहज अवस्था पटक्कै छैन । विभिन्न लाञ्छना लगाइएको छ । त्यसलाई चिर्न विभिन्न उपाय अपनाएर ग्रासरूटमा खट्नुपर्ने अवस्था छ । यी सबै कुराबारे हामीले अध्यक्षलाई बताइसकेका छौँ’, झाँक्रीले भनिन् ।

झापा-५ मा एमालेको अवस्था भयङ्कर बिग्रिएर ओली पराजित हुने गरी बाहिर बनाइएको भाष्य गलत भएको दाबी उनले गरेकी छन् । ‘एक किसिमले पुराना दलहरूप्रति गलत भाष्य पैदा गराइएको छ । बाहिरका मान्छे गएर भयङ्कर बिग्रिएको छ भन्नु गलत हो । जनता र मतदाताको पङ्क्तिमा कुनै समस्या छैन’, उनले सुनाइन् ।

उनी झापाका मतदाता चलायमान रहेकाले केही चुनौती रहेको बताउँछिन् । ‘जहाँ साइलेन्ट मतदाता हुन्छन्, त्यहाँ लोकतन्त्र जोगिँदैन । झापाका मतदाता साइलेन्ट होइन, प्रश्न गर्ने, चलायमान र गतिशील छन्। त्यसकारण अहिलेको चुनौती चानचुने ठान्नु गलत हो । चलायमान मतदाता भएको ठाउँमा जुनसुकै पार्टी मसिनो गरी खट्नुपर्छ’, उनी भन्छिन, ‘उहाँहरूका गुनासा सुन्ने, आवश्यकता टिपोट गर्ने, भावना बुझ्ने काम मात्रै हामीले गर्‍यौँ । उत्तर दिने काम गरेनौँ । झापामा बाहिरको हल्ला जस्तो ठूलो चुनौती छैन । सामान्य चुनौती छ।’

अध्यक्ष ओलीको जित सुनिश्चित छ त ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘अध्यक्षज्यूले उम्मेदवारी दर्ता गराएपछि गुण्डुमा आएर सुत्नुभए पनि निर्वाचन जित्नुहुन्थ्यो ।’ मत कति आउँछ भन्ने प्रश्नमा भने रामकुमारीले पक्का जवाफ दिन सकिनन् ।

हामीले नेतृ झाँक्रीसँग झापा ५ सहित जिल्लाको अवस्था, अध्यक्ष ओलीका चुनौती र सम्भावना, ओलीाबरे मतदाताको विश्लेषण लगायत विषयमा कुराकानी गरेका छौँ ।

एक सातासम्म झापा डुल्नुभयो । खासमा त्यहाँ के के देख्नु भयो, के पाउनुभयो ?

अध्यक्ष कमरेडलाई निर्वाचन जिताउन पुगेको हो । पार्टीको आन्तरिक कमिटीहरू परिचालन मोबिलाइजेसन गर्न पनि पुग्यौँ ।

कस्तो रहेछ त माहोल ? अध्यक्ष ओलीले चुनाव जित्नु होला ?

जित्नलाई कुनै समस्या छैन । एमालेका नेता-कार्यकर्तादेखि मतदातासमेत हाम्रै पक्षमा छन् । शतप्रतिशत भोट आउने सम्भावना कम छ । तर जित्नलाई समस्या छैन । सुविधाजनक अन्तरले अध्यक्षले जित्ने स्थिति छ । सबै युवा महिला, बुद्धिजीवी लगायत स्थानीयबासी अध्यक्षको पक्षमा हुनुहुन्छ । घरदैलो कार्यक्रममा अझ धेरै यो दृश्य देख्न सकिन्छ । झापाका समग्र निर्वाचन क्षेत्रमा एमालेले विजय हासिल गर्छ ।

झापा ५ मा चुनौती दिन पुगेका बालेन्द्र साह चानचुने प्रतिस्पर्धी होइनन्, मसिनो गरी खट्नुपर्छ भन्ने हो ?

एक किसिमले पुराना दलहरूप्रति गलत भाष्य पैदा गराइएको छ । मसिनो गरी खट्नुपर्ने त अवस्था त छ नै । बाहिरका मान्छे गएर भयङ्कर बिग्रियो भन्नु गलत हुन्छ । जनता र भोटरको पंक्तिमा कुनै समस्या छैन ।

यहाँले कति दिन, कस्ता व्यक्तिहरुलाई भेट्नुभयो ?

झापामा एक हप्ता बसेँ । तर मैले पार्टी पङ्क्तिभन्दा पनि तल्लो तलका, ग्रासरुटका मतदातासँग भेटेँ । हामी गएको कुरा अध्यक्षलाई पनि चार दिनपछाडि मात्रै जानकारी दिएका थियौँ।

हामी हाम्रो ढङ्गले तल्लो तहका समुदायमा गएर आफ्नो ढङ्गले छलफल गर्ने काममा खट्यौँ । युवा, विद्यार्थी, पूर्वविद्यार्थी र अध्यक्षज्यूको सचिवालयसँग सम्पर्क भएका केही साथीहरूसहित आठजना थियौँ ।

यहाँहरूलाई ग्रास रूटमा खटाइएको हो कि आफैँ जानुभएको हो ?

हामीले विभिन्न हिसाबले र्‍यापिड राउन्ड चलाइरहेका छौँ । अध्यक्षकहाँ त सबै साथीहरू पुगेर आफ्नो हिसाबले काम गर्नुभएकै छ । यो योजनाभित्रकै काम हो । तर अध्यक्षज्यूलाई त्यही दिन आउँछन् भन्ने जानकारी थिएन ।

प्रारम्भिक अध्ययन लिएर मात्रै जाने भनेर चार दिनपछाडि अध्यक्षलाई भेट्यौँ, उहाँ छक्क पर्नुभयो । त्यसबेला हामीले प्रारम्भिक अध्ययन प्रतिवेदन उहाँलाई बुझायौँ । पार्टीको नेताहरू पनि बाटोमा देख्दा को हो रामकुमारी जस्तो हिँड्ने भनेर सरप्राइज हुनुभएको थियो । म पनि एकदम अनौपचारिक पोशाकमा थिएँ ।

यहाँहरू चारवटै गाउँपालिका डुल्नुभयो ?

हो, चारवटै गाउँपालिकाका २३ वटा वडा पुग्यौँ। तल्लो तहका कार्यकर्ता र मतदाता भेट्न पुग्यौँ । पाँचवटा वडाजतिमा सम्पर्क भइसकेपछि हाम्रो पार्टीका नेताहरू खटिरहनु भएको रहेछ । त्यसपछि हामी गएनौँ । पाँचवटा वडाको रिपोर्ट कार्ड आएपछि हामी फर्कियौँ ।

२३ वटामा पुग्दा एमालेप्रति एकदमै ठूलो निराशा देख्नुभयो होला है ?

बिल्कुल त्यस्तो थिएन । चुनाव भनेको लोकतन्त्रको सुन्दर पक्ष हो । नेताहरू ग्रासरुटमा त्यहाँको वस्तुस्थिति नियाल्ने बेला यही त हो । त्यही भएर केही असन्तुष्टि र कमेन्ट भइ नै हाल्छ । जहाँ साइलेन्ट मतदाता हुन्छन्, त्यहाँ लोकतन्त्र जोगिँदैन । झापाका मतदाता साइलेन्ट होइन, प्रश्न गर्ने, चलायमान र गतिशील हुनुहुँदो रहेछ ।

चलायमान र गतिशील मतदाता भएको ठाउँमा पार्टी अहोरात्र खट्नुपर्ने अवस्था हुन्छ । जुनसुकै बेला जसले पनि बिगार्न सक्छ । झापा-५ का मतदाता साइलेन्ट भने होइनन् । उहाँहरूका गुनासा सुन्ने, आवश्यक टिपोट गर्ने, भावना बुझ्ने काम मात्रै हामीले गर्‍यौँ, त्यसको उत्तर दिने काम हामीले गरेनौँ ।

उहाँहरूका प्रश्नको जवाफ दिनेगरी हामी गएनौँ । उहाँहरुका के के प्रश्न छन्, के के सवाल छन् भन्ने कुरा थाहा पाउन गएको हो । भदौ २३ र २४ गतेको आन्दोलनले निजी सम्पत्ति होस् या सरकारी सम्पत्तिमा आक्रमण गर्नुपर्ने अवस्थाबारे त्यहाँका जनताको धारणा के रहेछ ? यो अवस्थामा हामी निर्वाचनमा गइरहेका बेला जनताले के सोच्नुभएको छ ? उहाँहरूलाई के लागेको छ ? सामाजिक सञ्जालमा अध्यक्षप्रति एकदमै लाञ्छना लगाइएको छ । घृणाको राजनीतिको बढोत्तरी भएको छ । आफ्नै क्षेत्रमा उहाँलाई साँच्चिकै यस्तै ठान्छन् त जनताले ? भन्ने हिसाबले हामी गएको हो ।

सरसर्ती बुझ्दा त्यस्तो ठूलो भयङ्कर असन्तुष्टि छैन । एक राउण्ड अध्यक्षज्यू गएर सरसर्ती एक किसिमले भेटिसकेको अवस्था भएर पनि होला । सोसल मिडियामा जे जसरी घृणाको राजनीति गरेर आरोप लगाउने काम गरिएको छ, त्यो कुरा जनताले कुनै हिसाबले गर्नुभएन। अध्यक्षज्यूलाई हराउने अथवा उहाँलाई त्यहाँबाट विजय नगराउने उहाँहरूको मनसाय छैन । उहाँहरू धेरै कुरामा आफैँ क्लियर हुनुहुन्छ । एकदमै ग्रामीण र तल्लो तहमा हामीले बालाई नै दिएको हो, यो पटक पनि उहाँलाई दिन्छौँ भन्छन् । झापा-५ मा एमालेलाई ठूलो चुनौती छैन, सामान्य चुनौती छ ।

फाइल तस्बिर

सामान्य चुनौती भन्नाले के बुझ्ने ?

मतदाताको मनोभावना भाँड्ने काम भएको छ । त्यसका लागि एमालेले मसिनो गरी नखटी हुँदैन । हामीले भेटेकामध्ये केहीका जिज्ञासा र अलमलबारे बुझाउन सकिए समस्या छैन । अध्यक्षका विषयमा विभिन्न नकारात्मक टिकाटिप्पणी भएका छन् । त्यसलाई चिर्न फेरि हामी खट्नुपर्छ।

तपाईंहरू खास ग्राउन्डका जनताको भावना बुझ्न जानुभएको हो ?

हो, हामी एकदमै मसिनो गरी र्‍यापिड राउन्ड गरेर तल्लो तहका जनताको भावना बुझ्न गएको हो । मतको सर्वेक्षण र जनमतको कलेक्सन गरेका हौँ । तर सर्वेक्षण भनेर एकदम हामीले वैज्ञानिक मेथडमा सर्वेक्षण भने गरेका होइनौँ । त्यस्तो सर्वेक्षण गर्ने पनि हाम्रो दुई तीन टोली छन् । हामीले पोलिटिकल रिसर्च गरेर आएका हौँ । पार्टीभित्र रिपोर्टिङ सिस्टम हुन्छ, त्यसलाई नै फलो गरेका हौँ ।

के रहेछ त सुधार गर्नुपर्ने कुरा ?

हामीले अध्यक्ष कमरेडलाई त्यस विषयमा सुझाव दिइसकेका छौँ । उहाँलाई मात्रै होइन, उहाँसँग सम्बन्धित सबैलाई पनि त्यो सूचना दिइएको छ । तल्लो तहसम्म काम गर्नुपर्नेछ ।

अगाडिका निर्वाचनभन्दा यो पटक एमालेलाई अलिक समस्या छ, होइन ?

खट्नुपर्ने चाहिँ छ । बाहिर हामीमाथि विभिन्न प्रहार र लाञ्छना लगाइएका छन् । त्यहाँ हामीले पार्टीका विभिन्न जनसंगठनका मान्छे परिचालन गरेका छौँ । बाहिर एकदमै हल्ला चलेको भएर के हो भन्न अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ता खट्नुपर्ने अवस्था छ ।

समस्या छ भन्ने सुनेरै हामी गएको हो । तर बाहिर आएको जस्तो समस्या छैन । हामीले अध्यक्षलाई पनि वरपर यताउता गर्नुभन्दा त्यहीँ बसेर आरामसँग वस्तुस्थितिको अवलोकन गर्नुहोस् भनेका हौँ ।

यस पटक अन्य क्षेत्र र जिल्लामा अध्यक्षज्यू दौडिन नसक्ने हो र ?

होइन, खर्च गर्नु पर्छ । हेलिकप्टर प्रयोगसहितका कुराले विवादित बनाउन सक्छ । अध्यक्षज्यूको स्वास्थ्य स्थितिले पनि धेरै देश दौडाहामा निस्किने अवस्था छैन । जरुरी ठाउँमा त हेलिकप्टर लिएरै पुग्नुपर्ने हुन्छ । तर त्यसलाई पनि विवादित बनाइन्छ भनेर हामीले संयमता अपनाउन लगाएका छौँ ।

धेरै कार्यक्रममा नजान हामीले नै सल्लाह दिएका छौँ । उहाँप्रति आकर्षण छ भन्ने कुरा त स्कुल बसमा केटाकेटीहरूले गरेको व्यवहारबाटै पुष्टि हुन्छ । भेटिएका मान्छेहरूले गरेको व्यवहारले नै देखाउँछ । सुरक्षा थ्रेट आदि कारणले सबैकहाँ जान उहाँलाई सम्भव छैन । आफ्नो क्षेत्रमा त उहाँको भयङ्कर सम्भावना छ । स्वास्थ्यअवस्थाका कारण अरू निर्वाचन क्षेत्रभन्दा आफ्नैमा बढी खट्नुहुन्छ ।

विगतका निर्वाचनमा जस्तो अध्यक्षज्यू जिल्ला दौडिने अवस्था रहेन ?

विगतको जतिकै दौडन नसके पनि उहाँ आवश्यक ठाउँमा पुग्नुहुन्छ । कति सम्भव हुन्छ, त्यो अलग कुरा हो । विगतको जस्तै औपचारिक-अनौपचारिक कार्यक्रम त उहाँले भ्याइ नै रहनुभएको छ ।

अन्तिममा फेरि सोध्दैछु, झापा-५ बाट अध्यक्ष ओली विजयी हुनेमा यहाँहरू ढुक्क हुनुहुन्छ ?

केपी ओलीको विकल्प छैन । हामी उहाँलाई नै भोट हाल्छौँ भन्ने पङ्क्तिहरू धेरै हुनुहुन्छ । हामीले आइडेन्टिटी हाइड गरेर त्यहाँका जनता भेट्दा पनि उहाँहरूले ओली नै जिताउने भन्नुभयो । झापा-५ मा अध्यक्षज्यूले उम्मेदवारी दर्ता गरेर गुण्डुमा सुते पनि जित्नुहुन्छ, जित्नुहुने थियो । तर त्यहाँका मतदाता चलायमान र गतिशील हुनाले उहाँले मिहिनेत गरेर गुनासो सुन्ने काम गर्नुभएको हो ।

पार्टीको यत्रो पङ्क्ति परिचालन भएको छ, नजित्ने कुरै छैन । झापा-५ का मतदाताले लोकतान्त्रिक अभ्यास अपनाएकै कारण एमालेले बढी खट्नुपरेको हो नि ।

मत कस्तो आउला ?

हामीमले मत सर्वेक्षण नगरेको भएर यसबारे ठ्याक्कै भन्न सकिनँ । तर, उहाँ विजयी हुने पक्का हो । पहिलाको जस्तो लोकप्रिय मत नआउन सक्छ, किनभने विभिन्न आरोप र लाञ्छना हामीमाथि लगाइएको छ । त्यसलाई चिर्दै अगाडि बढेका छौँ ।

मत सर्वेक्षण गर्ने टिम पनि छ । हामीले अरुलाई जिताउने भूल गर्दैनौँ, उहाँलाई नै जिताउँछौँ भन्नुहुन्छ। अरू फरक पार्टीका नेताहरूले पनि अध्यक्ष ओलीबाहेक अरुको विकल्प देख्नुभएको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ५ : २१ बजे

देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने

कोराभित्र उम्मेदवार पिता, शोकबीचको चुनावी घरदैलो गर्दैछन् छोरी

विराटनगर- मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन