इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी « Khabarhub

मध्यपूर्व युद्धले विश्वव्यापी ऊर्जा संकट

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन आग्रह गरेका छन् । यो आग्रहपछि इरानले आइतवार थप देशहरूलाई अमेरिका र इजरायलसँगको युद्धमा संलग्न नहुन चेतावनी दिएको छ।

इरानले अमेरिका–इजरायल अभियानको प्रतिक्रिया दिँदै खाडीको प्रमुख तेल र ग्यास निर्यातकर्तालाई विश्व बजारसँग जोड्ने जलमार्ग हुँदै इन्धन ढुवानी गर्ने जहाजलाई आवतजावतमा रोक लगाएपछि विश्वभरि ऊर्जाको मूल्य बढेको छ।

राष्ट्रपति ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशलाई ‘इस्कर्र्ट ट्याङ्कर’ मा जहाज पठाउन आग्रह गर्नुभएको थियो भने अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’को उत्तरी तटमा रहेको इरानी इलाकामा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा , आक्रमण जारी राखेको थियो ।

उनले सूचीबद्ध गरेका देशहरूले अहिलेसम्म यस विचारलाई सावधानीपूर्वक स्वागत गरेका छन् । यसैबीच, इरानका विदेशमन्त्री अराघचीले फ्रान्सेली समकक्षी जाँ–नोएल ब्यारोँसँग फोनमा उनीहरूलाई ‘द्वन्द्व बढाउन र विस्तार गर्न सक्ने कुनै पनि कार्यबाट टाढा रहन’ चेतावनी दिएका छन्।

बेलायतको रक्षा मन्त्रालयले कुनै प्रतिबद्धता जनाएको छैन । “हामीले पहिले नै भनेका छौँ, हामी हाल हाम्रा सहयोगी र साझेदारहरूसँग यस क्षेत्रमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौँ,” उसले भनेको छ ।

बेलायतका ऊर्जा सुरक्षा मन्त्री एड मिलिब्यान्डले बीबीसीसँग भनेका छन्, “अब द्वन्द्व कम गर्ने योजना हुनुपर्छ । हामी हाम्रा सहयोगीहरूसँग कुरा गरिरहेका छौँ। त्यहाँ समुद्री ढुवानी सम्भव बनाउने विभिन्न उपायहरू छन् ।”

दक्षिण कोरियाले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको टिप्पणीलाई नजिकबाट नियालिरहेको बताएको छ भने जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारुढ पार्टीका नीति प्रमुख ताकायुकी कोबायाशीले विद्यमान कानुनअनुसार उक्त क्षेत्रमा जापानी जलसेनाका जहाज पठाउने प्रतिबन्ध ‘अत्यन्त उच्च’ भएको बताएका छन्।

इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेपछि र खाडी छिमेकीमा ऊर्जा र ढुवानी उद्योगको लक्ष्यमा आक्रमण गरेपछि इन्धनको मूल्य विश्वव्यापीरूपमा ४० प्रतिशतले बढेको छ। इरानी सर्वोच्च नेताको हत्या गरेको अमेरिका र इजरायलको हवाई अभियानको बदलामा यो आक्रमण गरिएको थियो र क्षेत्रीय मध्यपूर्व युद्ध सुरु भएको थियो।

विश्व बजारमा उतारचढावको क्रममा ट्रम्पले एनबीसी न्यूजलाई सप्ताहन्तमा दिएको अन्तर्वार्तामा तेहरान टेबलमा आउन इच्छुक रहेको तर अमेरिकाले अझ राम्रो सर्तहरू लागू गर्न लड्ने बताएका थिए ।

उनले इरानको तेल केन्द्र खार्ग टापुमा फेरि पनि ‘रमाइलोका लागि’ बम प्रहार गर्न सक्ने बताए ।

ट्रम्पले एनबीसी न्यूजसँग भनेका छन्, “इरान सम्झौता गर्न चाहन्छ, र म यो गर्न चाहन्न किनकि सर्तहरू अझै पर्याप्त छैनन्।”

इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित वक्तव्यमा हर्मुजलाई बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी आक्रमणमा नयाँ सर्वोच्च नेता पनि मारिएको हल्ला आएपछि इरानले उक्त खबरको खण्डन गरेको थियो ।

राष्ट्रपति ट्रम्पले यसलाई अस्वीकार गरेका छन्। उनले भनेका छन, “उहाँ जीवित हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन । अहिलेसम्म कसैले पनि उहाँलाई देखाउन सकेका छैनन् ।”

इरानले शनिबार भनेको छ, “नयाँ सर्वोच्च नेतालाई कुनै समस्या भएको छैन ।” यद्यपि उहाँ अझै सार्वजनिक रूपमा देखा परेका छैनन्।

यसैबीच, इजरायली सेनाले पश्चिमी इरानका विभिन्न स्थानमा लक्षित आक्रमणको श्रङ्खला घोषणा गरेपछि इरानको रिभोलुसनरी गाड्र्सले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अपराधी घोषणा गर्दै उनीहरूले नेतन्याहूलाई पछ्याउने र हत्या गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : १७ बजे

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल