म्याग्दीको रणवाङ–दरवाङ सडकखण्ड ६ वर्षदेखि अलपत्र « Khabarhub

म्याग्दीको रणवाङ–दरवाङ सडकखण्ड ६ वर्षदेखि अलपत्र


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको छ ।

रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ६ वर्षअघि आयोजना सुरु भएको थियो ।

२०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

रणवाङ–तोलावाङ खण्डमा गत वर्ष तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र भएको थियो । ढाडखर्क, दरबाङ बजारमा पर्खाल, नाली तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । गत असार महिनायता सडक निर्माणको काम भएको छैन ।

यही चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित र मौखिक रूपमा पटक–पटक ताकेता गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँले बताए ।

म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ । दुर्घटनाको जोखिम बढ्नाका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको यातायात व्यवसायी जीवन केसीले बताए ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गतको यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।

निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौता लगत्तै कोरोना महामारी, विपद्लगायत कारणले ढिलाइ भएको बताए ।

एकदुई दिनमै मजदुर र उपकरण ल्याएर आउन लागेको थकालीले बताए । अबको एक महिनाभित्र बाँकी काम सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए । बाङ्गेपहिरो प्रभावित सडकलाई ठेक्काबाट हटाइएको छ ।

पहिरो बाहेकका ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएको छ । गत आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो ।

चालु आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन भएको छ । म्याग्दीमा यो आयोजनामा सबैभन्दा धेरै बजेट विनियोजन भए पनि आर्थिक वर्षको आठ महिनासम्म वित्तीय प्रगति शून्य छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्त्वका रूपमा मानिएको हो ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ ।

गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरे पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए ।

यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माण व्यवसायीले अधुरा कामलाई चाँडो पूर्णता दिनुपर्ने बताए । (रासस)

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १२ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया