काठमाडौं– संसदीय राजनीतिमा सधैँ असफल मानिएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पछिल्लो समय उनैले सुरुवात गरेको बहसमा समेत पछारिएका छन् ।
महासचिव पोखरेलले आफ्नो र आफ्नो पार्टीको अनुकूलताको भविष्यको पक्षमा अघि बढाएको दुई दलीय राजनीतिको विचार फागुन २१ को निर्वाचनसँगै झण्डै मृत्युशैय्यामा पुगेको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार एमाले–कांग्रेस सरकार निर्माणसँगै महासचिव पोखरेलले निकै जोड दिएर नेपालमा दुई दलीय प्रणालीको बहस थालेकाा थिए । उनले ती दुई दलमध्येमा पनि नयाँ नभएर कांग्रेस र एमाले नै हुनुपर्ने तर्क अघि सार्ने गरेका थिए ।
उनले धेरै दल हुँदा नेपालमा राजनीतिक अस्थिरता भएको जिकिर गर्दै दुईवटा भएमात्रै विकास र समृद्धि अघि बढ्ने बताउने गरेका थिए ।
‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ, जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ, त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ’, पोखरेलले ०८१ असार ८ गते दाङमा भएको कार्यक्रममा भनेका थिए, ‘नयाँ दलबाट केही हुँदैन, पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ ।’
जनताले फागुन २१ गते भएको निर्वाचनमार्फत पोखरेलको दुई दलको विचारलाई मात्र होइन, उनको पुरानालाई नै सुधार गर्ने र नयाँबाट सम्भव नहुने अगाडि सारेको विचारलाई पनि खारेज गरिदिएका छन् ।
उनले त्यतिमात्रै नभएर ‘थ्रेसहोल्ड’ बढाएर पनि साना राजनीतिक दललाई राष्ट्रिय दल बन्नबाट रोक्ने अभिव्यक्तिसमेत दिएका थिए । उनले कांग्रेससँग मिलेर संविधान संशोधन गर्दै थ्रेसहोल्ड बढाएर प्रतिनिधिसभामा ५ प्रतिशत र प्रदेश सभाका लागि ३ प्रतिशत कायम गर्ने बताएका थिए ।
‘आज प्रदेशहरूमा सरकार परिवर्तन भइरहने भए किन ? भन्ने प्रश्न उठ्ने गर्दछ, त्यो थ्रेसहोल्ड कम हुनुको परिणाम हो, त्यस अर्थमा कानुनमा सुधार गर्ने हो भने थ्रेस होल्डको व्यवस्थालाई न्यूनतम् ५ प्रतिशत बनाएर जाँदाखेरि अहिले जुन प्रकारको अस्थिरताको अवस्था छ, त्यसमा सुधार गर्न सकिन्छ’, कान्तिपुर कन्क्लेभको कार्यक्रममा पोखरेलले यसरी आफ्नो भनाइ राखेका थिए ।
यी मात्रै नभएर महासचिव पोखरेलले विभिन्न मञ्चहरूमार्फत् संविधान र ऐन कानुन समेत सच्याएर पनि कांग्रेस एमालेबाहेक अरुलाई ठिक पार्न सकिन्छ भन्ने अभिव्यक्ति श्रृंखलाबद्ध रूपमा राख्न थालेका थिए । पोखरेलको त्यही विचारको आधारमै तत्कालीन एमाले-कांग्रेस गठबन्धन बनेको धेरैको बुझाइ थियो ।
तर, फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ०७९ मंसिरमा भएको निर्वाचनको तुलनामा पोखरेलकै पार्टी एमालेको मत झण्डै ५० प्रतिशतले घटेको छ । यही दर अर्को निर्वाचनसम्म कायम रहे एमाले नै पोखरेलको भनाइको राष्ट्रिय पार्टी बन्ने वा नबन्ने अवस्था अहिले एकिनसाथ भन्न सकिँदैन ।

ओलीको निकटतामा पलाएको पोखरेलको विचार पराजयसँगै सेलाउँदै
लामो समयदेखि एमालेभित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आफ्नो पकड कायम गर्न सफल भएका पोखरेल पछिल्लो निर्वाचनसँगै मौन भएका छन् । उनले पछिल्लो समयमा दुई दल वा थ्रेसहोल्ड दुवै कुरा कोट्याएका छैनन् । एमालेमा आफूलाई नयाँ विचारक बताउने पोखरेल नै दुईवटा संसदीय निर्वाचनमा लगातार असफल रहे ।
एमालेमा अध्यक्ष र महासचिव दुवै कार्यकारी अधिकारसहितका पद हुन् । तर पोखरेलको भूमिका ओलीको सहयोगीको जस्तो मात्रै देखिएको टिप्पणी हुने गरेको छ । एघारौँ महाधिवेशनमा नेतृत्व परिवर्तनको चर्को बहस हुँदा पोखरेल अध्यक्षमा दाबेदारमध्ये एक थिए । तर उनी ओलीलाई फेरि बोक्दै महासचिवमा दोहोरिए ।
एमालेको महाधिवेशनमा एकपक्षीय ढंगले अनुमोदित ओली र पोखरेललाई फागुन २१ को निर्वाचनमा भने मतदाताले अस्वीकृत गरिदिएका छन् ।
यस निर्वाचनमा पोखरेलले वकालत गर्ने प्रजातन्त्रिक धारको नेतृत्व गरेको कांग्रेस र लेफ्टिस्टको नेतृत्व गर्ने भनिएको एमाले नराम्रोसँँग पराजित भए । दुई दलको यस पराजयले पोखरेलको दुई दलीय धुरी भत्किएको छ भने स्थापनपछिको दोस्रो निर्वाचनमै उनको परिभाषा विपरीत राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाइ ल्याउन सफल भएको छ ।
पोखरेलले वकालत गरेको दुई दलीय धारलाई भदौ २३ र २४ को जेन-जी आन्दोलनले घाइते बनाइदिएको थियो । तर फागुन २१ को निर्वाचनले उनको त्यो व्याख्यालाई पूर्णतया गलत सावित गरिदिएको छ ।
बलियो प्रतिपक्षबिनाको सरकार एक वर्षमै असफल हुन पुग्यो भने हजारौँको बलिदानीले ल्याएको गणतान्त्रिक व्यवस्था नै झन्डै भताभुंग भयो । तर फागुन २१ को निर्वाचनका कारण यो व्यवस्थामाथि देखिएको संकटको बादल टर्न सफल भएको छ।
०७८ मा पार्टी विभाजनपछि ओली नेतृत्वको समूहको दबदबाबीचमा महासचिव बनेका पोखरेल पछिल्लो महाधिवेशनमा पनि अधिकांश मनोनित सदस्यको समर्थनबीचबाट महासचिवमा दोहोरिएका हुन् । तर, यो निर्वाचनसँगै पार्टीभित्र ओली र उनको विशेष समूहले आत्मसात गरेको विचार र पार्टी सञ्चालन शैली असफल भएको भन्दै ध्रुवीकरण हुन सुरू भएको देखिएको छ ।
पार्टीका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे र वर्तमान उपमहासचिव योगेश भट्टराई लगायतका थुप्रै नेतृत्व पङ्तिले ओलीले अब पार्टी नेतृत्व छाड्नुपर्ने बताइसकेका छन् ।
तर, ओलीको नेतृत्वमा नै पार्टीमा बलियो पकड बनाउँदै आएका पोखरेलले भने पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउन मिडिया ट्रायल गरिएको भनेर पनि सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन् ।













प्रतिक्रिया