रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी « Khabarhub

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

आफ्नो गुट बलियो बनाउन जिल्ला दौडाहा


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ। पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह पक्षलाई नेता व्यवस्थापनमा सकस हुने आँकलन अहिलेबाटै सुरू भएको छ।

तर नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का भएकाले नेता व्यवस्थापनमा समस्या नभएको बताउँछन्।

‘पार्टी एक ढिक्का भइसकेपछि यो या त्यो पक्ष भन्ने अवस्था छैन। नेता व्यवस्थापनमा सकस पनि हुँदैन। पुराना दलले जुन अभ्यास गरेका थिए गुट-गुट भन्ने अवस्था हाम्रो पार्टीमा छैन’, सह-महामन्त्री विपिन आचार्य भन्छन्, ‘पार्टीको पहिलो महाधिवेशनले एकता दृढता र सर्वस्वीकार्यताको स्पष्ट सन्देश दिन्छ। योग्यता पुगेकाहरूले लोकतान्त्रिक प्रक्रिया अपनाएर निर्वाचनमा सहभागी भएर आफ्नो पद सुरक्षित गर्न सक्नुहुन्छ।’

आचार्यले यसो भने पनि वरिष्ठ नेता वालेन्द्रले आफ्ना नेता व्यवस्थापन गर्ने जिम्मेवारी महामन्त्री भूपदेव शाहलाई दिएका छन्। बालेननिकटहरूका अनुसार भूपदेवले आफ्नो पक्षका नेताहरूलाई उपयुक्त जिम्मेवारी दिलाउन आन्तरिक तयारी गरिरहेका छन्। यसबारे भूपदेवले त्यस्तो केही नभएको बताए। अहिले आफू जिल्ला जिल्ला पुगेर पार्टी एक ढिक्का बनाउने अभियानमा रहेको बताए । अहिले पार्टीमा यो-त्यो गुट भनेर शंका गर्नुपर्ने अवस्था नभएको उनी दाबी गर्छन्।

पद सुरक्षित रहेको दाबी

भूपदेवले जिल्लासमेत पुगेर बालेन पक्षका नेताहरूको व्यवस्थापनबारे अहिलेबाटै काम गरिरहेका छन्। प्रदेश र जिल्लामा उनले आफूनिकट र आफ्नो पक्षमा खुल्न सक्नेहरूको सूची बनाएको दाबी स्रोतको छ।

पहिलो महाधिवेशनपछि पनि महामन्त्री पद सुरक्षित बनाउन भूपदेव मिहिनेत गरिरहेका छन्। बालेननिकट नेताहरूका अनुसार आगामी महाधिवेशनपछि पनि भूपदेवलाई महामन्त्री दोहोर्‍याउने तयारी छ। बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका अरू सिनियर नेता रोकेर भए पनि भूपदेवलाई कायमै राख्ने तयारी गरेका छन् ।

‘आगामी महाधिवेशनबाट महामन्त्रीमा भूपदेव नै यथावत हुनेछन् । हाल सांसद पनि नभएकाले सरकारको कुनै जिम्मेवारी पनि छैन। बालेनले पार्टी हेर्ने जिम्मेवारी उहाँलाई दिएकाले महामन्त्रीमा अरुले दाबी गरे पनि भूपदेव नै कायम हुनेछन्’, ती नेताले भने, ‘पार्टी विधानमा स्पष्ट दुई महामन्त्री हुने प्रावधान आउनेछ। एकजना महामन्त्री भूपदेवजी हो, अर्को महामन्त्री रवि पक्षबाट हुनेछन्।’

बालेनको निर्देशन

भूपदेव वरिष्ठ नेता वालेन्द्रका पुराना सहयात्री हुन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि भूपदेवले बालेनलाई अटुट साथ दिएका थिए। बालेनको मन जितेका भूपदेवले आछाम क्षेत्र नम्बर २ मा चुनाव भने हारे । त्यसपछि उनलाई बालेनकै जोडबलमा पार्टी महामन्त्री बनाइयो।

त्यसअगाडि रास्पवपा महामन्त्रीमा वर्तमान भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको थियो। भूपदेवले चुनाव हारेपछि बालेनले उनलाई महामन्त्री बनाए । अहिले पार्टी हेर्ने जिम्मेवारी पनि बालेनले भूपदेवलाई नै दिएका छन् ।

रास्वपामा बालेनलले भूपदेवलाई सरकारतिरको कुनै भूमिका नदिई पूरापूर पार्टीको काममा मात्रै खटाएका छन् । उनै भूपदेवको काँधमा आफूनिकट नेता व्यवस्थापनको जिम्मेवारी पनि छ।

भूपदेवले आफ्ना निकटहरूसँग सम्पर्क गरेर महाधिवेशनबाट उपयुक्त जिम्मेवारी मिल्ने विश्वास दिलाइरहेका छन्। ‘महामन्त्रीज्यूले केन्द्रीय सदस्यमा स्वतन्त्र रूपमा नेताहरूलाई लड्नदिने र सचिवालयसहितमा चुनिने अवस्थामा आफूसँग सम्पर्क गर्न भन्नु भएको छ’, ती नेता भन्छन्, ‘प्रधानमन्त्रीले सिधै पार्टीमा हस्तक्षेप नगरे पनि महामन्त्रीज्यूलाई आफ्नो पक्षका नेता व्यवस्थापन गर्न खटाउनु भएको छ। महामन्त्रीज्यूले पनि उपयुक्त व्यक्ति खोज्दै नाम टिपिरहनु भएकव छ ।’

बालेन पक्षले रास्वपा सचिवालयमा पनि नेता व्यवस्थापन गर्न गृहकार्य अगाडि बढाएको छ । ‘सभापतिले पार्टी चलाउने, प्रधानमन्त्रीले सरकार चलाउने समझदारी छँदैछ । तर आफ्ना पक्षका नेता व्यवस्थापनमा पनि दुवै तर्फबाट अभ्यास भइरहेको छ’, ती नेता भन्छन्, ‘देखिने गरी केही नभएको होला तर अनौपचारिक रूपमा नेताहरूले आफ्नो पक्ष बलियो बनाउन लागिरहनु भएकै छ।’

रवि पक्ष बलियो

रास्पपाको जिल्ला अधिवेशन हेर्दा रवि पक्ष बलियो देखिन्छ। रविकै पक्षका धेरै नेता जिल्ला सभापति बनेको तथ्यांकले देखाएको छ। बालेन पक्षका नेताहरूले १० जिल्ला सभापति जितेको रिपोर्ट नेताहरूसँग छ। विवेकशील साझाका नेताहरूले चार-पाँच ठाउँमा मात्रै जिल्ला सभापति जितेका छन् । प्रदेशगत हेर्दा कोशी, सुदूरपश्चिम र बागमती लगायतबाहेक अरूमा रविपक्ष बलियो छ । अझै केही समय रहेकाले रविनिकटहरू बालेनतिर खुल्ने सम्भावना पनि उच्च छ।

जिल्ला अधिवेशनबाट रविपक्ष बलियो भएर आएको छ। तर अहिले सभापतिमा रवि र वरिष्ठ नेतामा वालेन्द्र निर्विकल्प हुने निश्चित छ। सूचनाअनुसार करिब ५६ जिल्लामा रवि पक्षले सभापति जितेको छ।

यसअघि नेताहरूले विभिन्न समूह मिलाएर महाधिवेशन गर्नुपर्ने भएकाले धेरै पदहरूमा सर्वसम्मति प्रयास गरिने बताएका थिए। अहिले पनि पहिलो महाधिवेशनबाट सर्वसम्मतिको सन्देश दिने कोसिस भइरहेको छ।

नेता गणेश पराजुली बजारमा हल्लाहरूको अर्थ नभएको बताउँछन्। उनी पार्टीमा कुनै गुट र पक्ष नरहेको दाबी गर्छन् । उनको भनाइमा राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का छ । ‘कहाँ पार्टीमा गुट हुनु ? तपाईंहरूको प्रश्न सुन्दा पनि हामीलाई हाँसो लाग्यो। पार्टीमा गुट छैन। महाधिवेशनमा योग्यता पुगेकाले केन्द्रीय सदस्य लड्नुहुन्छ, केन्द्रीय सदस्य जितेकाले सचिवालयमा दाबी गर्नुहुन्छ। धेरै पदहरूमा सहमति होला। अर्को प्रतिस्पर्धीले उम्मेदवारी नदिए स्वतः सहमति हुने भयो’, उनले भने।

उनले विगतमा सुरुदेखि नै आबद्ध भएकालाई व्यवस्थापन गर्न नसकिएको हुन सक्ने स्वीकारे । तर यस पटक योग्यता पुगेको व्यक्ति कुनै पदमा उठ्न तयारी गर्दै गर्दा नउठ्नु भन्ने अवस्था पार्टीले नबनाउने उनले बताए । उनी समावेशिता र समानुपातिक सहभागितालाई पार्टीले अङ्गीकार गर्दै अगाडि बढ्ने बताउँछन्।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : ०९ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय