काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल, अविश्वसनीय पुनरागमन, नयाँ कीर्तिमान र अविस्मरणीय क्षण दियो। तर यो विश्वकप केवल उत्कृष्ट फुटबलका कारण मात्र इतिहासमा दर्ज भएन। प्रतियोगिताभर भएका केही निर्णय, नियम परिवर्तन, भीएआरको प्रयोग, राजनीतिक प्रभावका आरोप र अनुशासनसम्बन्धी विवादले पनि विश्व फुटबललाई तातो बहसको केन्द्रमा राख्यो।
कतिपय विवाद हार्ने टोलीको निराशाबाट जन्मिएका थिए भने केहीले फिफाको निर्णय प्रक्रिया र निष्पक्षतामाथि नै प्रश्न उठाए। धेरै आरोप प्रमाणित हुन सकेनन्, तर ती घटनाले विश्वभरका समर्थक, पूर्वखेलाडी, प्रशिक्षक र विश्लेषकबीच ठूलो बहस भने सिर्जना गरे। विश्वकपका सबैभन्दा चर्चित ११ विवाद निम्न छन् ।
क्रिस्टियानो रोनाल्डो प्रतिबन्ध
सबैभन्दा पहिलो विवाद पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग जोडियो। आयरल्यान्डविरुद्धको विश्वकप छनोट खेलमा कुहिनो प्रहार गरेको आरोपमा उनी तीन खेलको प्रतिबन्धमा परेका थिए। त्यसअनुसार उनले विश्वकपका सुरुआती दुई खेल गुमाउनुपर्ने अवस्था थियो। तर फिफाले आफ्नो अनुशासन संहिताको धारा २७ प्रयोग गर्दै उक्त प्रतिबन्ध एक वर्षका लागि निलम्बन गरिदियो। यस निर्णयले विश्वभर बहस सुरु भयो।

आलोचकले विश्व फुटबलका सबैभन्दा लोकप्रिय खेलाडीलाई विश्वकपमा खेलाउन फिफाले नियममै लचकता अपनाएको आरोप लगाए। विश्वकपअघि रोनाल्डोले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र साउदी युवराज मोहम्मद बिन सलमानसँग गरेको डिनर भेटलाई समेत यस विवादसँग जोडेर हेरियो।
ट्रम्पलाई ‘फिफा पिस प्राइज’
अर्को ठूलो विवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिफाले पहिलो पटक स्थापना गरेको ‘फिफा पिस प्राइज’ प्रदान गरेपछि सुरु भयो। यो पुरस्कार किन दिइयो, छनोटका आधार के थिए र निर्णय कसरी भयो भन्ने विषय सार्वजनिक गरिएन। अझ फिफा परिषद्का केही सदस्यलाई समेत यसबारे पूर्वजानकारी नभएको विवरण बाहिर आएपछि आलोचना झन् बढ्यो। नोबेल शान्ति पुरस्कारको दाबी गर्दै आएका ट्रम्पलाई फिफाले वैकल्पिक सम्मान दिएको जस्तो देखिएको भन्दै धेरैले यसलाई खेलभन्दा बढी राजनीतिक निर्णयको संज्ञा दिए।
टेनिस शैलीको सिडिङ प्रणाली
प्रतियोगिताको संरचनामै गरिएको परिवर्तन पनि विवादरहित रहेन। यस विश्वकपमा पहिलो पटक टेनिस शैलीको सिडिङ प्रणाली लागू गरियो, जसअनुसार शीर्ष वरीयताका टोली सेमिफाइनलअघि एकअर्कासँग नजुध्ने व्यवस्था गरियो। परिणामस्वरूप स्पेन, अर्जेन्टिना, फ्रान्स र इङ्गल्यान्ड अन्तिम चारमा पुगे।

आलोचकले यसले बलिया टोलीलाई सहज बाटो दिएको र मध्यमस्तरका टोलीलाई सुरुदेखि नै कठिन प्रतिस्पर्धामा धकेलेको दाबी गरे। उदाहरणका रूपमा नर्वेले समूह चरणदेखि नै बलिया टोलीसँग खेल्नुपरेको थियो भने अर्जेन्टिनाले तुलनात्मक रूपमा सहज यात्रा गरेको चर्चा भयो।
‘हाइड्रेसन ब्रेक’
खेल सञ्चालनसँग सम्बन्धित अर्को बहस अनिवार्य ‘हाइड्रेसन ब्रेक’ लाई लिएर भयो। खेलाडीको स्वास्थ्य र उच्च तापक्रमलाई कारण देखाउँदै फिफाले पहिलो पटक प्रत्येक हाफमा तीन मिनेटको ब्रेक अनिवार्य गर्यो। तर तापक्रम नियन्त्रण भएका अत्याधुनिक रङ्गशालामा समेत यही नियम लागू भएपछि धेरैले यसको उद्देश्य खेलाडीको स्वास्थ्यभन्दा टेलिभिजन प्रसारणका लागि अतिरिक्त विज्ञापन समय उपलब्ध गराउनु रहेको आरोप लगाए। प्रशिक्षक र खेल विश्लेषकले यसले खेलको स्वाभाविक लय र तीव्रता प्रभावित भएको टिप्पणी गरे।
रेफ्री र भीएआरका निर्णय
विश्वकपकै सबैभन्दा धेरै चर्चा भने अर्जेन्टिनासँग सम्बन्धित रेफ्री र भीएआरका निर्णयले पाए। समूह चरणमा लियोनेल मेसीको खतरनाक ट्याकलमा कुनै कारबाही नभएको भन्दै विरोध भयो। त्यसपछि अन्तिम १६ मा इजिप्टविरुद्धको खेलमा इजिप्टले गरेको दोस्रो गोल भीएआरको सिफारिसमा रद्द गरियो भने अर्जेन्टिनाविरुद्ध स्पष्ट पेनाल्टी नदिइएको आरोप पनि लाग्यो।

इजिप्टका प्रशिक्षक होसाम हसन र खेलाडी मोस्तफा जिकोले अर्जेन्टिनालाई अघि बढाउने उद्देश्यले निर्णय गरिएको दाबी गरे। यद्यपि फिफाले सबै निर्णय नियमअनुसार भएको स्पष्ट पार्दै षड्यन्त्रको आरोप अस्वीकार गर्यो। तर पूर्वप्रिमियर लिग रेफ्री ग्राहम स्कटले भने इजिप्टको गोल रद्द गर्नु गलत निर्णय भएको सार्वजनिक टिप्पणी गरेका थिए।
अर्जेन्टिना-स्विट्जरल्यान्डको खेल र रातो कार्ड
क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच भएको खेल पनि विवादबाट अछुतो रहेन। ब्रिल एम्बोलोलाई भीएआरको समीक्षापछि दोस्रो पहेँलो कार्डसहित रातो कार्ड देखाइयो। फिफाले निर्णय नियमअनुसार भएको बताए पनि स्विस टोलीले त्यसले खेलको परिणाम नै प्रभावित गरेको प्रतिक्रिया दियो।

अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपले रातो कार्ड फिर्ता
त्यसैगरी अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछि लागेको प्रतिबन्ध निलम्बन गरिएको विषयले पनि ठूलो बहस जन्मायो। अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपपछि फिफाले सजाय स्थगित गरेको आरोप लाग्यो। बेल्जियमले यसको विरोध गरे पनि अपिल अस्वीकार भएपछि खेल प्रशासनमा राजनीतिक प्रभाव परेको चर्चा झन् चर्कियो।
इङ्गल्यान्ड–नर्वेको अनौठो विवाद
इङ्गल्यान्ड–नर्वे क्वार्टरफाइनलमा अर्को अनौठो विवाद देखियो। नर्वेली गोलकिपरको लामो किक माथि रहेको ‘स्काइक्याम’ मा ठोक्किएर दिशा परिवर्तन भएको दाबी गरियो, जसको केही समयपछि इङ्गल्यान्डले बराबरी गोल गर्यो। फिफाले प्रविधिले कुनै टक्कर पुष्टि नगरेको बताए पनि नर्वेली टोली त्यसमा विश्वस्त हुन सकेन।

मेक्सिको–इङ्गल्यान्ड बीचको खेल समय
यसैबीच अन्तिम १६ अन्तर्गत मेक्सिको–इङ्गल्यान्ड खेलको समय खेल सुरु हुनुभन्दा ४८ घण्टाअघि नै परिवर्तन गर्ने प्रयास पनि विवादित बन्यो। आधिकारिक रूपमा मौसमलाई कारण भनिए पनि पछि सुरक्षा चिन्ता वास्तविक कारण रहेको खुलासा भयो। दुवै देशका फुटबल सङ्घले विरोध गरेपछि खेल अन्ततः पूर्वनिर्धारित समयमै सञ्चालन भयो।
अल्जेरिया र अस्ट्रियाले ३–३ को बराबरीमा इरानको आपत्ति
समूह चरणको अन्तिम खेलमा अल्जेरिया र अस्ट्रियाले ३–३ को बराबरी खेलेपछि इरान प्रतियोगिताबाट बाहिरिएको घटनाले पनि व्यापक बहस निम्त्यायो। खेलको अन्तिम समयमा दुवै टोलीले जोखिम नलिई खेल खेलेको भन्दै धेरैले सन् १९८२ को चर्चित ‘डिस्ग्रेस अफ गिहोन’ को पुनरावृत्ति भएको टिप्पणी गरे। यद्यपि दुवै टोलीका प्रशिक्षकले कुनै पूर्वसम्झौता नभएको स्पष्ट पारे।
फाल्कल्यान्डको ब्यानर प्रदर्शनपछि अर्जेन्टिना विवादमा
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि फाल्कल्यान्ड टापुको दाबीसहितको ब्यानर प्रदर्शन गरेको भन्दै साविक विजेता अर्जेन्टिना विवादमा तानिएको छ । ब्यानरकै कारण फिफाको कारबाहीमा पर्ने सम्भावना बढेको छ।
अमेरिकाको एटलान्टामा बुधबार भएको रोमाञ्चक खेलमा थोमस टुचेलको इङ्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना फाइनल पुगेको हो। तर, खेल सकिएलत्तै अर्जेन्टिनी खेलाडीले मैदानमा फाल्कल्यान्ड अर्जेन्टिनाको हो लेखिएको ब्यानर बोकेर जितको खुसीयाली मनाएका थिए।

दक्षिण–पश्चिम एट्लान्टिक महासागरमा रहेको बेलायती विदेशी क्षेत्र फाल्कल्यान्ड टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि सार्वभौमसत्ताको विवाद छ। सन् १९८२ मा यही टापुलाई लिएर दुई देशबीच ७४ दिन लामो युद्ध भएको थियो, जसमा ६ सय ५५ अर्जेन्टिनी र २ सय ५५ बेलायती सैनिकले ज्यान गुमाएका थिए।
फिफाले खेलकुदमा राजनीतिक सन्देश र उच्छृङ्खल गतिविधिलाई पूर्ण प्रतिबन्ध लगाएको छ। यसअघि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो।

विश्वकप २०२६ ले मैदानमा उच्चस्तरीय फुटबल प्रस्तुत गर्यो। तर मैदानबाहिरका यी ११ विवादले प्रतियोगिताको अर्को पाटो पनि उजागर गरिदिए। सुपरस्टार खेलाडीसँग सम्बन्धित निर्णय, राजनीतिक प्रभावका आरोप, नयाँ नियम, भीएआरको प्रयोग र रेफ्रीको भूमिकाले फिफाको विश्वसनीयतामाथि व्यापक बहस जन्मायो। अधिकांश आरोप पुष्टि नभए पनि एउटा सन्देश भने स्पष्ट देखियो-विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताप्रतिको विश्वास कायम राख्न फिफाले आफ्नो निर्णय प्रक्रिया अझ पारदर्शी, उत्तरदायी र सबैका लागि समान हुने गरी सुधार गर्नुपर्ने आवश्यकता पहिलेभन्दा अझ बलियो बनेको छ।












प्रतिक्रिया