यसकारण मेस्सी फुटबलका ‘राजा’ « Khabarhub

यसकारण मेस्सी फुटबलका ‘राजा’

जब बीच मैदानबाट दायाँतर्फ सरेर चलाए जादु


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले हरायो। एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे, तर दुवै गोलका वास्तविक सूत्रधार कप्तान लियोनेल मेस्सी बने।

खेलको ८५औँ मिनेटसम्म १–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम क्षणमा खेलको चित्र नै बदलिदियो। पहिलो गोलका लागि मेस्सीले एन्जो फर्नान्डेजलाई उत्कृष्ट पास दिए ।

उता इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजलाई दिएको सटिक क्रस नै अर्जेन्टिनाका लागि विजयी गोलमा परिणत भयो। यही पासलाई विश्वकपको ३१औँ दिनको उत्कृष्ट क्षणका रूपमा हेरिएको छ।

जब बीच मैदानबाट दायाँतर्फ सरे मेस्सी

खेलभरि इंग्ल्यान्डका खेलाडीले मेस्सीलाई घेराबन्दीमा राखेका थिए। निरन्तरको घेराबन्दीका कारण मेस्सी बीच मैदानमा खेल्ने ठाउँ नपाएपछि स्थान फेर्न बाध्य भए ।

उनले आफ्नो पुरानो शैलीलाई पछ्याउँदै लेफ्ट विङतर्फ सर्न थाले। यसअघि इजिप्टविरुद्ध पनि उनले यही रणनीति अपनाएर टोलीलाई जिताएका थिए ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले त्यसबेला भनेका थिए, ‘मेस्सीलाई कुन स्थानमा खेल्ने भन्नुपर्दैन। मैदानमा के गर्नुपर्छ भन्ने उनी आफैँ जान्दछन्। उनी दायाँतर्फ सरे, हामीले पनि त्यसअनुसार आफूलाई अनुकूल बनायौँ।’

मेस्सी दायाँतर्फ सरेपछि स्कालोनीले निको गोन्जालेज, रोड्रिगो डे पाउल र गोन्जालो मोन्टियललाई मैदानमा उतार्दै टोलीको आक्रमणलाई थप धारिलो बनाए।

इंग्ल्यान्डको विशेष योजना असफल

इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले खेलअघि मेस्सीलाई रोक्न विशेष योजना बनाएको बताएका थिए। यद्यपि, उनले कुनै एक खेलाडीलाई व्यक्तिगत रूपमा मेस्सीको जिम्मा दिएनन्। बरु दुई वा बढी खेलाडीले घेरेर रोक्ने रणनीति अपनाइयो। मैदानमा पनि मेस्सीलाई कुनै बेला इंग्ल्यान्डका ५ देखि ६ जना खेलाडीले घेरेका थिए ।

यसअघि स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जोजे मोरिन्होले मेस्सीबारे रोचक टिप्पणी गरेका थिए । ‘मेस्सीलाई एक्लो खेलाडीले मार्क गर्नु हुँदैन। उनलाई पिंजडाभित्र राख्नुपर्छ। किनकि मेस्सीसँग एकविरुद्ध एक अवस्थामा पुग्नुभयो भने तपाईं समाप्त हुनुहुन्छ।’

तर मेस्सी दायाँ विङमा सरेपछि इंग्ल्यान्डको त्यो घेराबन्दी कमजोर बन्दै गयो, मेस्सीकै बलमा इंग्ल्यान्ड अन्तत: ध्वस्त हुन पुग्यो ।

बराबरी गोल पनि मेस्सीबाट

हुन त अर्जेन्टिनाले यसअघि पनि अन्तिम १० देखि १५ मिनेटमा पुनरागमन गर्दै आएको थियो । इंग्ल्यान्ड बलियो टोली भएकाले गोल खाइसकेको अवस्थामा त्यो सम्भव नहुने धेरैको लख थियो ।

तर खेलको ८५औँ मिनेटमा अर्जेन्टिनाले छोटो कर्नर खेल्यो। मेस्सीले बल फिर्ता पाएलगत्तै इंग्ल्यान्डका दुई खेलाडी उनलाई रोक्न दौडिए।

त्यही अवसरको फाइदा उठाउँदै उनले खाली रहेका एन्जो फर्नान्डेजलाई पास दिए। फर्नान्डेजले २५ गज टाढाबाट शानदार प्रहार गर्दै खेल १–१ को बराबरीमा ल्याए।

अन्तिम क्षणमा चम्किए मेस्सी

इन्जुरी समयमा एलेक्सिस म्याक एलिस्टरको प्रहार पोस्टमा लागेपछि इंग्ल्यान्डले खतरा टरेको ठानेको थियो। तर केही क्षणपछि फेरि मेस्सी बलसहित लेफ्ट विङबाट अघि बढे।

उनको अगाडि युवा डिफेन्डर निको ओ’राइली थिए भने पछाडि जेड स्पेन्सले कभर गरिरहेका थिए। उमेर, गति र शारीरिक क्षमताका हिसाबले दुवै खेलाडी मेस्सीभन्दा अगाडि देखिन्थे। तर एक-विरुद्ध-एकको अवस्थामा मेस्सी फेरि अपराजेय साबित भए।

काँधको हल्का चालले उनले ओ’राइलीलाई पछि पारे। त्यसपछि दायाँ खुट्टाबाट दिएको सटिक क्रस इंग्ल्यान्डका रक्षकहरूलाई छल्दै दोस्रो पोस्टमा पुगेको थियो, जहाँ लाउटारो मार्टिनेजले जोन स्टोन्स र एज्री कोन्साबीच उत्कृष्ट पोजिसन लिएर हेडमार्फत् गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए।

मेस्सी अझै फुटबलका ‘राजा’

खेलपछि इंग्ल्यान्डका पूर्वरक्षक तथा विश्लेषक माइक रिचर्ड्सले बीबीसीसँग मेस्सीबारे रोचक टिप्पणी गरे।

‘ठूला खेलहरू केही क्षणले जितिन्छन्। हामीले जुड बेलिङ्घम वा ह्यारी केनले केही गर्ने अपेक्षा गरेका थियौँ। तर मेस्सी किन फुटबलका राजा हुन् भन्ने कुरा उनले फेरि प्रमाणित गरे’, उनले प्रशंसासहित भने ।

यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । लगातार दोस्रो तथा समग्रमा चौथो विश्वकप उपाधि जित्ने लक्ष्यबाट अब एक अर्जेन्टिना कदम मात्रै टाढा रहेको छ।

अब अर्जेन्टिनाले जुलाई १९ मा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो अर्जेन्टिनाको विश्वकप इतिहासमा सातौँ फाइनल हो।

यसअघि टोलीले १९३०, १९७८, १९८६, १९९०, २०१४ र २०२२ मा फाइनल खेलेको थियो। अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा विश्वकप जितिसकेको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १ : २१ बजे

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको