अमरेश र मनिष बिच्किँदा मधेशमा रास्वपाले कस्तो धक्का व्यर्होला ? « Khabarhub

अमरेश र मनिष बिच्किँदा मधेशमा रास्वपाले कस्तो धक्का व्यर्होला ?

नेताहरू भन्छन्– ‘सरकार सफल बनाउन आलोचनात्मक चेत राखेका हौँ’



काठमाडौं– कुनै सांगठनिक आधार नभएको मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि चुनावी जित अप्रत्याशित थियो । कांग्रेस, एमाले, माओवादी र मधेशवादीको भोट बैंकका रुपमा उपयोग हुँदै आएको मधेशले नयाँ पार्टीलाई यसरी मत खन्याउँछ भन्ने परिकल्पना नै थिएन । 

कतिसम्म भने मधेशका मतदातालाई आफ्नो क्षेत्रबाट को उम्मेद्वार उठेको छ भन्ने पनि हेक्का थिएन । शक्ति सत्ता, विरासत, आर्थिक सम्पन्नता भएका नेताहरूको तावेदारीमा चल्दै आएको त्यो भोट बैंकको ताजमहल ढलेपछि मधेशको स्वामित कसले लिने भन्ने प्रश्न उभियो । 

पहिलाका प्रचलित सबै मानक ढलेपछि  रास्वपाले मधेशमा पाएको अपूर्व सफलताको जश पाउने प्राधिकार कांग्रेसबाट असन्तुष्ट भई रास्वपा प्रवेश गरेका दुई नेता अमरेश कुमार सिंह र मनिष झाले पाए । पार्टी सभापति गगन थापा र विरासतको राजनीति पुराना नेता विमलेन्द्र निधिलाई पराजित गरेपछि यी रास्वपाभित्र यी दुई नेताको उचाइ अझ बढ्यो । 

यिनीहरूलाई रास्वपाभित्र लामो यात्राको घोडा मानिँदै गर्दा उनीहरूको आकांक्षामा विभिन्न कारणले पार्टीभित्र ब्रेक लागेपछि मधेशको शक्ति सन्तुलनको प्रश्न प्रबल रुपमा उठेको छ । प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको कोटरीमा नअटाएका यी दुई वाकपट्टु नेताको निष्क्रियता मधेश राजनीतिमा कति प्रभावकारी ठहरिन्छ ? धेरैका लागि यक्ष प्रश्न बनेको छ । 

महामन्त्रीमा अप्रत्याशित हारे व्यहोरेपछि झा पार्टीप्रति आलोचनात्मक बनेका छन् भने सिंह महाधिवेशनमै सहभागी भएनन् । यद्यपि खेलाडी फेरिए पनि मैदान नछोडेको जिकिर त्यो पार्टीका नेताहरूको छ । 

मधेसका आठ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३० वटा निर्वाचन क्षेत्र जितेको छ। सप्तरी, धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला रहेको मधेसलाई कृषि उर्वरको प्रमुख आधार मानिन्छ । तर किसानले समयमै मल बिउबिजन पानी लगायतको सेवा सुविधा नपाउँदा यहाँका नागरिकको जीवनस्तरमाथि उठ्न नसकेको टिप्पणी हुँदै आएको छ। 

यही मुद्दालाई प्रमुख केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी २०८२ फागुन २१ को निर्वाचनमा होमिएको थियो। शिक्षा, स्वास्थ्य रोजगारी ,कृषि ,सिँचाइ र भूमिहीनलाई लालपुर्जा वितरण गर्ने एजेन्डा लिएरै आफू सरकारमा पुगेकाले त्यसलाई सम्बोधन गर्न सरकारमाथि निरन्तर खबरदारी गरिरहने सांसद प्रमोद कुमार महत्व बताउँछन्। 

सांसद पुरुषोत्तम यादव र अरु थुप्रै सांसदहरूको पनि यही भनाइ छ । यही कुराहरू सम्बोधन हुनुपर्छ भन्ने विषयमा विगतबाट नै घच्घच्याइरहेका मधेसका नेता अमरेशकुमार सिंह र मनिष झाको कार्यशैलीमा थुप्रै नेताहरूले सहमत जनाएको देखिन्छ।

 २०७९ को निर्वाचनमा मधेसबाट शून्य नतिजा निकालेको पार्टीले ८२ को निर्वाचनमा ३० वटा सिट जित्दा तत्कालीन मधेसका नेताहरू मनिष र सिंहको चर्चा हुने गरेको थियो। अमरेश निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपनि उनको सक्रियताका कारण मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले पकड बनाएको केही हदसम्म सत्य हो। 

झालाई त २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद बनाएपछि उनी निरन्तर पार्टीका क्रियाकलापमा मधेस सरिक हुने गरेका थिए। यति मात्र होइन २०८२ को निर्वाचनमा मधेशकै छोरो बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार भएपछि पनि उत्साहजनक ढंगबाट मतदाताले मत हालेका थिए। टिकट वितरणदेखि उम्मेदवार छनोटमा पनि त्यसबेला मधेसमा मनिष र सिंहको ठूलो हात थियो । 

अमरेशले राम्रो पकड बनाएका थिए। त्योसँगै जेनजी नेता पुष्पतम यादवको पनि भूमिका देखिन्थ्यो । मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टीको पिल्लर राम्रो बनाउने र जरैदेखि पार्टीलाई मजबुत बनाएका दुई नेता अहिले सरकारका गतिविधिसँग खासै सन्तुष्ट देखिएका छैनन्। पार्टी नेता  सिंहले त सुरुवातदेखि नै सरकारको गतिविधिमा आलोचनात्मक चेत राखेका थिए। 

उनले तल्लो तहका वर्गलाई सरकार अभिभावक हुनुपर्ने र संघीयता र प्रदेशसम्बन्धी स्पष्ट नीति पार्टीका आउनुपर्ने निरन्तर आवाज उठाए । पार्टीकै सांसद भएपनि सुरुवातदेखि नै काङ्ग्रेसको आलोचनात्मक चेतका कारण प्रधानमन्त्री बालेन्द्र शाह र सिंहको दूरी बढेको देखिन्छ । यति मात्रै होइन पार्टी सभापति रवि लामिछाने र सिंह बीच पनि केही सम्बन्ध बिग्रिएको आंकलन गर्न सकिन्छ ।

प्रधानमन्त्री  शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त हुँदा अमरेशलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएको थियो । तर उनी परराष्ट्र मन्त्रालयको आकांक्षी भएकाले उद्योग मन्त्रालय लिएनन् त्यसपछाडि त अमरेशले पार्टीमाथि निरन्तर प्रहार गरिरहेको देखिन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा भएको पहिलो महाधिवेशनमा संस्थापन पक्ष र अरु नेताहरू छुट्याएर रविले आफू निकटलाई काखा च्यापेको विषयमा मधेसका अर्का खम्बा मनिष झाले निरन्तर असन्तुष्टि प्रकट गरे। पार्टी संस्थापन पक्ष एक हुने भन्दै मनिषमाथि उनकै मित्रहरू गणेश पराजुली, प्रमोद न्यौपाने, रन्जु दर्शना लगायतका नेताले महामन्त्रीको उम्मेदवारीबाट फिर्ता लिएर रविका विश्वास पात्र विपिनकुमार आचार्यलाई सहयोग गरेपछि मनिष बिच्किएका हुन् । 

हुन त मनिषले सरकार गठन भएपछि नै कार्यशैली जबाफदेही पारदर्शी र विधिपूर्वक हुनुपर्ने विषयमा निरन्तर सरकारको ध्यानाकर्षण गराइरहेको देखिन्थ्यो। अहिले यी दुई नेताहरूका कारण मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टी विभाजित भएको धेरैले आंकलन गरेका छन्। 

दुई नेताका कारण पार्टी विभाजित छ ?

मधेसमा अमरेश र मनिषको पकड राम्रो छ। उनीहरूलाई पुराना दलका पुराना नेताले पनि नेतृत्वमा पत्याएको देखिन्छ। मधेसबाट जितेका ती सांसदमध्ये करिब १८, १९ जना सांसद सरकारको कार्यशैली निम्न वर्गलाई प्रोत्साहन र सुकुम्वासीको व्यवस्थापनमा चुकेको टिप्पणी गर्छन् ।  

मधेसका नेताहरू बाहिर प्रकट भएर बोल्न नसके पनि बालेन्द्र र रविका कारण जनताले दुःख नपाउनुपर्ने मतमा छन्। सांसद रहबर अन्सारी, पूर्वमन्त्री समेत रहेका दीपक कुमार शाह, अरविन्द्र शाह, नरेन्द्र शाह कलवार पनि देखिन्छन्। उनीहरू नेताको पछि लाग्ने भन्दा पनि जनताका मुद्दा सम्बोधन गर्नुपर्ने पक्षमा सरकारलाई दबाब दिनुपर्ने दाबी गर्छन् ।

अहिले पार्टीका नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा जनताको जनगुनासो सुन्न पुगिरहेको देखिन्छ। पार्टी नेता अमरेशकुमार सिंह त निर्वाचन जितेलगत्तै आफ्नो निर्वाचन क्षेत्र सर्लाई ४ मा निरन्तर जनतासँग जोडिरहेको बताउँछन् । अमरेश र मनिषले सरकारको कार्यशैलीमाथि आलोचनात्मक चेत राखिरहँदा अरू नेताहरूले पनि साथ दिएको देखिन्छ तर धेरै जना नेता बोल्ने पक्षमा छैनन्।

‘कसले कसलाई साथ दिन्छ भन्दा पनि सरकारले जनताको विषयमा काम गर्नुपर्छ जनताको मुद्दा सुन्नुपर्छ भनेर हामीले सुझाव दिएका हौ। सरकारको थोरै विरोध गरेको हो ?’ अमरेश भन्छन्– ‘सरकार जनताको हितभन्दा दायाँबायाँ हुनुहुँदैन । 

निम्न वर्गका व्यक्तिलाई प्रोत्साहन र सुकुम्वासीको व्यवस्थापन गर्न लाग्नुपर्छ ।  विभिन्न व्यक्तिलाई थर्काउने र आफ्नालाई समेट्ने अरुलाई चाहिँ कारबाही गरिहाल्ने पक्षमा जानु हुँदैन भनेर हामीले पार्टीमा र बाहिर पनि सुझाव दिइरहेको हो । सरकारको विरोध गरेको होइन।’

अमरेश आफूले भन्नुपर्ने कुरा सदनमै प्रधानमन्त्री र पार्टी सभापति र लामिछानेलाई भनिसकेको दाबी गर्छन् । उनी यो सरकारलाई असफल हुन कुनै पनि हालतमा छुट नभएको भन्दै मधेसी जनताको तर्फबाट आफूहरूले निरन्तर घचघच्याइरहेको बताउँछन् । 

‘को सांसद मेरो पक्षमा छ, को छैन भन्ने दिशातिर म छैन। हामी जनताको सेवक हो । जनताका कुरा राख्न आएको हो नेताका कुरा होइन।’ उनी भन्छन्– ‘हामी दूषित राजनीति गर्न आएको होइन । जनताले जिताएर पठाएको प्रतिनिधि भएकाले जनताको कुरा स्पष्ट रुपमा सदनमा राखेका हौँ।’

पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमा नपुगेका उनी महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने दस्तावेज पारित भएपछि सिंहले लोकतन्त्र, सङ्घीयता र समावेशितामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । अहिले पनि उनी यो अडानमा छन्।

त्यसबेला उनले भनेका थिए– ‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु ।  नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्।’ जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथ हुनेछौं,’ 

सिंह खबरहबसँगको कुराकानीमा अहिले पनि आफूले त्यही वचनलाई निरन्तरता दिएको बताउँछन्। यसमाथि पार्टीले प्रहार गर्न खोजे त्यसलाई स्वीकार नगर्ने उनको प्रष्टीकरण छ।

प्रतिनिधिसभामा बोल्ने क्रममा पनि सिंहले राज्य संकटमा रहेकाले सबै दलहरू राष्ट्रिय मुद्दामा एक भएर अगाडि बढ्ने वातावरण सरकारले तयार पार्नुपर्ने बताएका थिए। ‘राज्य संकटमा छ, सबै दल एकजुट बनेर राष्ट्रिय मुद्दा तय गरौँ। भारी र दुःखी मनले उपस्थित छु।’ उनले भने । 

उनीसँगै जेन-जी युवा पुरुषोत्तम यादवले पनि सरकारको गतिविधिमा आलोचनात्मक चेत राखेको देखिन्छ । यादव भदौ २३ र २४ को आन्दोलनपछि उदाएको नेता भएकाले उनीहरू र निम्न वर्गलाई सरकारले न्याय दिनुपर्ने लाइनमा छन् । संघीयता धर्मनिरपेक्षता र प्रदेश संरचनाको विषयमा पार्टीको स्पष्ट अडान रहनुपर्ने पक्षमा छन्।

मनिषले पनि सरकारको कार्यशैलीमा सुरुवातदेखि नै प्रश्न राख्दै आएका थिए। प्रवक्ताको जिम्मेवारीमा रहेका मनिषले महाधिवेशन अगाडि पार्टी सभापति रविसँग सरकारको कार्यशैलीमाथि सञ्चार जगतमा निरन्तर प्रश्न उठिरहेकाले जवाफ दिने ठाउँ नै नरहेको गुनासो राख्थे । महाधिवेशनमा उनै रविले मनिषलाई आफू पक्षको नेता नबनाएर विपिनलाई महामन्त्रीमा सहयोग गरेपछि मनिषको मन अझै दुखेको छ । 

उनी पार्टीको संस्थापन र वैचारिक नेता भएकाले प्रधानमन्त्री बालेनको विवादित कार्यशैलीको सधैँ आलोचक हुने संकेतमा देखिन्छन् । विभिन्न मिडिया हाउस र पार्टी नेताको घर अगाडि शङ्कास्पद गाडी भेटिएको विषयमा पनि उनले सरकारको स्पष्ट धारणा आउनुपर्ने र खोजी गर्नुपर्ने मत राखे । उनले सरकार र राज्यप्रति सांकेतिक रूपमा स्टाटस लेख्दै बचपन देखाएर राजकाज नचल्ने समेत टिप्पणी गरेका छन्। 

‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ । राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने हैन । यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ उनले अगाडि भने– ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन-जी  सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ।’

विभिन्न परिस्थिति मूल्याङ्कन गर्दा निर्वाचनमा पार्टीलाई प्रथम स्थान हासिल गराउने र मधेसी जनताको मुद्दामा खरो रुपमा उत्रिने दुई नेताका कारण सरकारमाथि प्रश्न उठेको देखिन्छ । मधेसी भूगोलकै प्रधानमन्त्री भएको बखत पनि मधेसी जनताले न्याय नपाउँदा अन्यायको बाटो अझ बढेर जाने टिप्पणी विश्लेषक गर्छन् । 

पार्टीका अरु नेताहरू पनि पार्टीभन्दा पनि आफूहरू जनताको प्रतिनिधि भएकाले त्यसलाई मूल प्राथमिकता राखेको उल्लेख गर्छन् । 

‘सरकारप्रति आशावादी छौँ, असफल हुन छुट छैन’

मधेसी जनता सरकारप्रति असन्तुष्टि भन्दा पनि आशावादी देखिएको पूर्व खेलकुदमन्त्री तथा सांसद बब्लु गुप्ता बताउँछन्। 

‘सरकारले काम गर्ने प्रयासहरू गरिराखेको छ। हामीले आफ्नो तर्फबाट सुझावहरू पनि दिइरहेका छौँ । हामी सांसदहरूले पनि गर्नुपर्ने काम कर्तव्य थुप्रै छ। काम सबै सयमा सय प्रतिशत नै सफल हुन्छ भन्ने छैन। जति एफर्ट लगाएर हुन्छ काम गरिराखेका छौँ ।’ उनी भन्छन्– ‘जनताले यो सरकारले अवश्य हाम्रा मागहरू पूरा गर्छ भन्ने आश राख्नुभएको छ। प्रदेश खारेज संरचना घटाउने विषयमा पनि राष्ट्रिय सहमति हुनुपर्छ भन्ने धेरैको मान्यता देखिन्छ । कानुनहरू जनताका लागि ल्याउन कसरी सजिलो बाटो हुन्छ भनेर काम भइरहेकाले हामी आशावादी छौँ ।’

जनतालाई आफूहरू नै सरकारमा भएकाले काम गर्ने विश्वास दिलाएकाले सरकारले त्यही बाटो अपनाएर काम गर्नुपर्ने उनी सुझाव दिन्छन् । ‘सतप्रतिशत काम गर्नेछौँ भनेर जनतालाई आश्वासन दिएका छौँ। त्यही अनुसार सरकारले पनि गतिविधि गरिरहेको र सुशासनको पक्षमा काम गरिरहेको नै देखिन्छ । पार्टी मधेशमा एकरुपता भएकाले आलोचनात्मक चेत राख्न सबै नेतालाई स्वतन्त्र छ । मधेसमा पार्टी को विषयमा कुनै संकट छैन नेताहरूले आफ्नो ढंगले आलोचनात्मक चेत राख्न पाउने वातावरण बन्नु नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो।’ उनी भन्छन्– ‘हामी पार्टीभन्दा पनि जनताको काम गर्न आएका हौँ । त्यसकारण टिकाटिप्पणी भन्दा पनि पार्टी एक सरकार एक मुख भएर एकचित्त भएर काम गर्नुपर्छ। सबैका कुरा सुन्नुपर्छ र न्याय दिने हिसाबले निम्न वर्गका व्यक्तिहरूलाई प्रोत्साहन हुनेगरी काम हुनुपर्छ ।’

सांसद प्रमोद कुमार महतो जनता सरकारप्रति आशावादी रहेकाले निराशा हुन दिनु नहुने टिप्पणी गर्छन् । सरकारमाथि आफूहरूले जहिले पनि आलोचनात्मक चेत राख्ने भएकाले यो या त्यो भनेर विभाजन गर्न नहुने उनको मत छ। 

‘सरकारलाई पाँच वर्षका लागि जनताले मत दिएकाले पुरै उहाँहरु यो सरकारले काम गर्छ भन्ने आशावादी हुनुहुन्छ । सुशासनको पक्षमा काम सुरु भएकाले तीन महिनामै सबै हुनुपर्छ भन्ने पक्षमा जनता हुनुहुन्न तर तपाईँहरूले घच्घच्याइ रहनुहोस् है सरकारलाई भनेर हामीलाई पनि सुझाव दिनुहुन्छ । जनताका मुद्दा सदनमा राख्दा सरकारले राम्रो ढंगले रेस्पोन्स गरिराख्नुपर्छ र गर्छ भन्नेमा विश्वस्त छौँ। हामी ढुक्क हौँ नराम्रो केही हुँदैन भन्ने जनताको प्रतिक्रिया छ।’ आफ्नो निर्वाचन क्षेत्रमा रहेका महतोले भने– ‘नेताहरूले व्यक्तिगत कुराहरू पक्कै बोल्नुभएको छैन उहाँले गरेका जनपक्ष कुरामा त सबै एक हुने नै भए । हाम्रो कुरा के हो भने सरकारलाई असफल हुने कुनै पनि हालतमा छुट छैन। प्रदेश खारेज गर्ने कुरै छैन । बसको विषय बनाउन सकिएला । सरकारले प्रदेश खारेज गर्छौँ भनेर लेखेको पनि कहाँ छ र मुख्य कुरा सुकुम्वासी र निम्न वर्गका व्यक्तिहरूलाई उचित व्यवस्थापन र राज्य अभिभावक बनिदियोस् भन्ने हो। यस विषयमा त हामी पनि बोलिरहेकै छौँ ।’

सरकारलाई अनेक किसिमले आलोचना गर्ने परिपाटी विद्यामान रहेको तर सरकारले सकारात्मक सुझावहरू भने आफ्ना र अरुबाट पनि सुन्नुपर्ने उनी विश्लेषण गर्छन् । ‘मिस्टेक हुनसक्छ भनेर हाम्रा माननीयज्यूले सुझावहरू पनि दिइरहनु भएको छ । सरकारले यसलाई सकारात्मक ढंगले हेर्नुपर्छ किनभने हामी त जनतासँग वाचा गरेर आएका व्यक्ति हौँ। पार्टी नै विभाजन हुने त्यस्तो त कहाँ अवस्था हुनु र सरकारको सकारात्मक ढंगले आलोचना गर्नु त हरेक जनप्रतिनिधिको दायित्व हो ।’ उनी अगाडि भन्छन्– ‘पाँच वटा औँला पनि एकनास हुँदैन। त्यसकारण सरकारको गति पनि कहिलेकाहीँ एकनास नभएर भड्किन सक्छ कि भनेर आफ्नै सांसदहरूले घचघच्याइरहनु त लोकतन्त्रको सुन्दर अभ्यास हो। देश चलाउँदै गर्दा काहीँ कतै मिस्टेक हुन सक्छ भनेर माननीयज्यूहरूले सुझाव दिइरहनुभएको त्यसलाई सकारात्मक मानौँ। हामी पनि सकारात्मक आलोचना गरी नै राखेका छौँ।’

बालेन पक्ष र रविपक्षमा मतभेद ?

अमरेश र मनिष मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टीको मधेसमा बालेनपक्ष र रविपक्षका नेताहरूबिच केही मतभेद भने देखिएको छ । हामीसँग अनौपचारिक कुराकानीमा जोडिएका केही नेताहरूले बालेनको कार्यशैलीका कारण प्रश्न उठिरहेको उल्लेख गरे । रवि पक्षका ती नेताहरूले प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुपर्ने र नीति नियम विधि सबैले मान्नुपर्ने तर्क गर्छन्।  

‘हामीले पार्टी सभापतिलाई पनि भनेका छौँ नीति विधि त सबैका लागि एकनास हुनुपर्छ किनभने जनताले हामीलाई यिनीहरूले के गर्लान् र भनेर हेरिरहेका छन् । प्रधानमन्त्रीमाथि आलोचना गरेको होइन तर कार्यशैली चाहिँ केही सुधार गर्नुपर्‍यो भनेर हामीले सभापतिसँग आफ्नो कुरा राखेका छौँ । सभापतिले पनि प्रधानमन्त्रीलाई सुझाव दिइरहनु भएको छ ।’ ती नेता भन्छन्- ‘हामी प्रधानमन्त्री फेरिनुपर्छ भन्ने लाइनमा पटक्कै छैन । तर प्रधानमन्त्रीले देशको कुरा सम्बोधन गर्न सकेन भने त विकल्पमा पनि जानुपर्छ नि, त्यसकारण पनि घचघच्याइ राखेका हौँ। प्रधानमन्त्री होस् या सामान्य नागरिक उसले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ ।  राज्य उसका लागि महत्त्वपूर्ण अभिभावक हुनुपर्छ आतंक बन्द गरिनुपर्छ ।’ 

बालेन पक्षका मधेसका अर्का सांसद भने केही समय काम गर्न दिनुपर्ने मत राख्छन्। ‘विधि मान्दै केही समय काम गर्न दिनुपर्छ आतंक गर्नुपर्छ भन्ने कुरा मेरो पटक्कै होइन। तर केही समय काम गर्न दिऊँ।’ उनी थप्छन्– ‘काम गर्दै जाँदा कहिलेकाहीँ तलमाथि हुन सक्छ। गरिबको आँसु प्रधानमन्त्रीले पनि देख्नुभएको छ। यसो भन्दैमा गरिबको आँसु झर्‍यो भन्दैमा प्रधानमन्त्री र उहाँहरूसँग तुलना गर्न त मिलेन नि । राज्य अभिभावक बन्नुपर्छ भन्ने पक्षमा हाम्रो एकमत छ । तर ३५– ३० वर्षदेखिको यो राज्यको अभिभावक विहीन भूमिकालाई सुधार गर्न एक वर्ष ६ महिना समय त लाग्छ नि ।’

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ४ : १८ बजे

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज