गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका वाचा पूरा नगरेको भन्दै गृहमन्त्री एवम् गोरखा क्षेत्र नम्बर १ का सांसद सुधन गुरुङसँग मतदाताले खरो प्रश्न गरेका छन्।
गृहमन्त्री गुरुङ आइतबार साँझ शहीद लखन गाउँपालिका–९ का मतदातासँग अन्तर्क्रिया गर्न पुगेका थिए। त्यस क्रममा मतदाताले चुनावका बेला स्वास्थ्य ल्याब निर्माणका लागि बजेट उपलब्ध गराउने भनेर गरेको प्रतिबद्धता पूरा नभएको भन्दै प्रश्न उठाएका हुन्।
रास्वपाका वडासचिव खोपेन्द्र लामिछानेले चुनावका क्रममा गाउँ आउँदा स्वास्थ्य ल्याब निर्माणका लागि स्वास्थ्य मन्त्रालयका सचिवसँग कुरा गरेर बजेट मिलाउने वाचा गरेको स्मरण गराए। उनले असारमा समेत स्वास्थ्य मन्त्रालयका सचिवलाई फोन गरेको भए पनि बजेटमा उक्त योजना नदेखिएको बताए।
एक मतदाताले पनि गृहमन्त्री गुरुङले असारमा स्वास्थ्य मन्त्रालयका सचिवलाई फोन गरेर बजेट मिलाउने बताएको तर बजेट किताबमा समेत योजना नदेखिएको भन्दै प्रश्न गरे।
जवाफमा गृहमन्त्री गुरुङले धेरै साना–साना योजना बजेट किताबमा समावेश गर्दा बजेटको आकार ठूलो हुने भन्दै आवश्यक योजनाको सूची मागिएको बताए।
‘यति साना–साना बजेट किताबमा राख्ने हो भने महाभारत र रामायण बन्छ। यसका लागि हामीले लिस्ट मागेका छौँ। के राख्ने भन्ने कुरा लिस्ट त चाहिएला नि,’ उनले भने।
त्यसपछि एक मतदाताले मन्त्रालयसँग समन्वय भइरहेको र बजेट आउने विश्वास रहेको बताए। तर अर्का मतदाताले गाउँलेहरूले आफूहरूलाई जवाफ मागिरहेको भन्दै गुनासो गरे।
त्यसपछि गृहमन्त्री गुरुङले सरकार गठन भएको चार महिना मात्रै भएको र पहिलो बजेटसमेत भर्खर आएको बताए।
‘चार महिना त भएको छ हामीले सरकार चलाएको। पहिलो बजेट हाम्रो भर्खर आएको छ। साउन १ गतेदेखि बजेट लागू हुँदैछ,’ उनले भने।
गुरुङले वडाका सबै योजना बजेटमा समावेश गर्न सम्भव नहुने भन्दै सरकारलाई काम गर्न समय दिन आग्रह गरे।
‘वडाको कुरा लिस्टमा राख्ने हो भने बजेट कत्रो ठूलो हुन्छ ? उहाँको लिस्ट कत्रो हुन्छ, राज्यको लिस्ट त झन् कत्रो होला ? काम भए भयो होइन,’ उनले भने।
चार महिनामै आफूले क्षेत्रको कायापलट गर्न नसक्ने भन्दै उनले मतदातालाई अर्को निर्वाचनमा आफूलाई नजिताउनसमेत आग्रह गरे।
‘चार महिनामा चाहिँ म कायापलट गर्न सक्दिनँ। बरू भोट फिर्ता लिएर लैजानुस्। मलाई अर्को पटक नजिताउनुस्। तर यस पटक पाँच वर्ष हेर्नुस्, पाँच वर्षमा केही काम हुनेछ,’ गुरुङले भने।
गृहमन्त्री गुरुङ डा. बाबुराम भट्टराईको शैली पछ्याउँदै हरेक महिना गृहजिल्ला जाने गरेका छन्। त्यही क्रममा उनले शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग छलफल गरेका थिए।
आइतबारको कार्यक्रममा स्थानीय वडाध्यक्ष रामकुमार श्रेष्ठ र रास्वपा वडासचिव खोपेन्द्र लामिछानेसहित सहभागी थिए ।












प्रतिक्रिया